अर्घाखाँचीका तीन स्वास्थ्यसंस्थामा सुत्केरीलाई छैन भत्ता

हेल्थपोस्ट नेपाल

अर्घाखाँचीका तीन स्वास्थ्यसंस्थामा सुत्केरी महिलालाई दिने प्रोत्साहन भत्ता वितरण रोकिएको छ । केन्द्रबाट निकासा भएको प्रोत्साहनबापतको रकम सकिएपछि दिन छाडिएको स्वास्थ्यसंस्थाले जनाएका छन् । स्वास्थ्यसंस्थाले सुत्केरी हुन आउँदा यातायात खर्चबापतको २ हजार र चारपटकसम्म सुत्केरी जाँचबापतको प्रोत्साहनभत्ता ८ सय गरी २ हजार ८ सय रूपैयाँ १ मंसिरदेखि दिन नसकेका हुन् । सुत्केरी प्रोत्साहन भत्ता दिन नसक्ने स्वास्थ्यसंस्थामा सन्धिखर्क जिल्ला अस्पताल, नरपानी स्वास्थ्यचौकी र अर्घा स्वास्थ्यचौकी छन् ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जगन्नाथ तिवारीले नगरपालिकाले उपलब्ध गराएको बजेट सकिएपछि प्रोत्साहन भत्ता दिन नसकिएको बताए । सन्धिखर्क नगरपालिकाले उपलब्ध गराएको ७ लाख ५६ हजार असोज महिनामै सकिएपछि कात्तिक महिनामा अस्पतालको बजेटबाट ६२ जनालाई प्रोत्साहन भत्ता दिएको उनको भनाइ छ । मंसिर महिनामा २६ जनाले सुत्केरी सेवा लिइसकेको तर बजेट अभावका कारण उनीहरूलाई भत्ता दिन नसकेपछि सम्पर्क नम्बर राखेर पठाइएको उनले बताए । ‘बजेट आए बोलाएर दिन्छौँ भनेर पठाएका छौँ,’ ‘मेसु तिवारीले भने, ‘कात्तिक महिनाको अस्पतालको करिब २ लाखको पनि सोधभर्ना गर्नुपर्ने अवस्था छ ।’
संघीय बजेटबाट नगरपालिकामा बजेट कम आएका कारण सुत्केरी प्रोत्साहन भत्ता वितरणमा समस्या आएको सन्धिखर्क नगरपालिकाका स्वास्थ्य एकाइ संयोजक पूर्णप्रसाद पराजुली बताउँछन् । उनका अनुसार नगरपालिकामा चालू आर्थिक वर्षका लागि उक्त शीर्षकमा १० लाख रूपैयाँ आएको थियो । उनले जिल्ला अस्पतालसहित अर्घा स्वास्थ्यचौकी र नरपानी स्वास्थ्यचौकीको बर्थिङ सेन्टरमा कात्तिकपछि भत्ता वितरण रोकिएको बताए । उक्त शीर्षकमा गत वर्ष २५ लाख बजेट आएकोमा घटेर १० लाख आउँदा समस्या सिर्जना उनको भनाइ छ ।

सुत्केरीका लागि गत वर्ष यातायातबापत १ हजार र गर्भ जाँचबापत ४ सय गरी १ हजार ४ सय आएको र त्यसरी वितरण गर्दा करिब १२ लाख रूपैयाँ बचत भएको उनले जानकारी दिए । यसवर्ष प्रतिव्यक्ति भत्ताको रकम वृद्धि भई २ हजार ८ सय हुँदा अपुग भएको उनी बताउँछन् । बजेट सकिने संकेत पाएसँगै संघीय र प्रदेश मन्त्रालयमा पत्र लेखी जानकारी गराए पनि हालसम्म रकम उपलब्ध नभएको उनको भनाइ छ ।



Leave a Reply

Your email address will not be published.