मेडिसिटीमा कोरोना अवस्था लुकाएर २७ दिनसम्म उपचार, गम्भीर भएपछि बल्ल सरकारसँग समन्वय

हेल्थपोस्ट नेपाल

मेडिसिटी अस्पताल

कोरोना भाइरस रोग (कोभिड-१९) का कारण सोमबार मेडिसिटी अस्पतालमा मृत्यु भएका काठमाडाैं कलंकीका एक पुरुषको अस्पतालले ‘संक्रमण अवस्था’ लुकाएर उपचार जारी राखेको पाइएको छ।

बिरामीको अवस्था गम्भीर भएपछि भने अस्पतालले स्वास्थ्य सिस्टमसँग समन्वय गरेजस्तो गरेर विवरण बाहिर ल्याएको आशंका स्वास्थ्य मन्त्रालयकै अधिकारीहरूको छ।

मधुमेह, क्रोनिक भाइरल निमोनियालगायत समस्या भएका ६५ वर्षे पुरुषलाई अस्पतालले असार ३१ मा भर्ना गरेर उपचार गरेको थियो।

तर, यति लामो समयसम्म किन कोरोना परीक्षण गरिएन र गरिएको भए किन सार्वजनिक गरिएन भनी प्रश्न उठेको मन्त्रालयकै एक उच्च अधिकारीले बताए

ललितपुरका स्वास्थ्य प्रमुख डा. खगेश्वर गेलालले सोमबार मृत्यु भएका व्यक्ति लामो समयदेखि उपचाररत रहेको जानकारी दिए।

‘ती बिरामी १५ गते भर्ना गरेको भनिएको रहेछ, तर १५ तारिख (असार ३१) देखि नै अस्पतालमा उपचार भइरहेको थियो,’ उनले भने।

यति लामो समयसम्म निमोनियाका बिरामीको किन परीक्षण गरिएनछ र परीक्षण गरिएको भए किन अवस्था लुकाइयो भन्ने  हेल्थपाेस्टनेपालको प्रश्नमा डा. गेलालले ‘आइसोलेसनमा राखेर उपचार गर्न पाइने र त्यहीअनुसार नै उपचार भएको हुनसक्ने’ बताए।

जबकि उपत्यकाभित्र जटिल अवस्थाका संक्रमितको उपचार मन्त्रालयकै समन्वयमा त्रिवि शिक्षण अस्पतालमा हुनेगर्छ।

आइसियुमा भर्ना भएका र निमोनियासमेत देखिएका सबै बिरामीको उपचार गर्दा अहिले कोभिड परीक्षण अनिवार्य भए पनि अस्पतालले केही दिनअघि मात्रै नमुना पठाएको थियो।

यसअघि सरकारले समन्वय नगरी संक्रमित राखेको भन्दै ह्याम्स अस्पताललाई कारबाहीको चेतावनी नै दिएको थियो।

अस्पतालले सुरुदेखि नै अन्य बिरामी आउँदैनन् भनेर संक्रमित भर्ना भएको वा पत्ता लागेको विवरण लुकाउँदै आएको छ।

‘हामीले अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीको परीक्षण गर्न खोज्दा पनि अस्पतालले राजनीतिक दबाब दिएर परीक्षण गर्न दिएन,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका एक अधिकारीले भने, ‘परीक्षण गरेर पोजेटिभ देखियो भने अस्पतालको सेवामा असर पर्छ भन्ने त्रास उहाँहरूमा सुरुदेखि नै छ।’

आइसियुमा भर्ना भएका र निमोनियासमेत देखिएका सबै बिरामीको उपचार गर्दा अहिले कोभिड परीक्षण अनिवार्य भए पनि अस्पतालले केही दिनअघि मात्रै नमुना पठाएको थियो।

ती बिरामीको किन ढिला गरेर परीक्षण गरियो त भन्ने प्रश्न उब्जिएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताए।

अस्पतालले सुरुमा स्वस्थ मान्छेको नाम, ठेगाना र परिचय दिएर नमुना पठाएको र पोजेटिभ देखिएका बिरामी होम आइसोलेसनमै छन् भनी देखाएर संक्रमितको विवरण लुकाइराखेको हुनसक्ने आशंका गरेका छन्।

‘अब निको हुने अवस्था छैन भनेपछि बल्ल तिनै बिरामीको नाम ठेगनामा नमुना पठाइएको हुनसक्ने देखिन्छ,’ मन्त्रालय स्रोतले भन्य।

अस्पतालले अहिले पनि आर्थिकरूपमा सबल कोभिड संक्रमितलाई हेलिकप्टरबाट उद्धार गर्ने र निरन्तर उपचार दिँदै आएको छ। केही दिनअघि संक्रमण देखिएका वीरगन्जका मेयर विजय सरावगीसमेत मेडिसिटीमै भर्ना भएका थिए।

उपचारकै क्रममा अस्पतालका चिकित्सकमा समेत कोडिभ-१९ पोजेटिभ भए पनि अस्पतालले सबै विवरण लुकाउँदै आएको छ। विशेषगरी वीरगन्जबाट हेलिकप्टरमा ल्याएका बिरामी अहिले पनि अस्पतालमै उपचाररत छन्।



Leave a Reply

Your email address will not be published.