प्युठानका १६ वडामा कहिले पुग्लान् स्वास्थ्यसंस्था ?

हेल्थपोस्ट नेपाल

स्वास्थ्य बिमा लागू भएको प्युठानका १६ वटा वडामा अझैसम्म स्वास्थ्यसंस्था पुगेका छैनन् । गाउँमा सिंहदरबार आएको डेढ वर्ष पुग्दासमेत स्वास्थ्यसंस्था नआउँदा यहाँका सर्वसाधारण सेवाबाट वञ्चित भएका छन् । सिटामोल पाउनका लागि उनीहरू घण्टौँ पैदल हिँड्नुपर्ने बाध्यता छ ।
आठवटा वडा रहेको झिमरुक गाउँपालिकाका तीनवटा वडा स्वास्थ्यसंस्थाविहीन रहेको गाउँपालिका अध्यक्ष तिलक जिसीले बताए । त्यसमध्ये वडा नं. ४ बाङ्गेचुधारा, वडा नं. ८ लिवाङ टिमुरचौर र वडा नं. ३ आलखोलामा स्वास्थ्यसंस्था छैनन् । स्वास्थ्यसंस्था नभएका वडाका स्थानीय डेढदेखि दुई घण्टासम्म पैदल हिँडेपछि मात्र सरकारी स्वास्थ्यसंस्था पुग्ने जिसीले बताए । बाँकी पाँचवटा वडामा स्वास्थ्यचौकीले सेवा दिइरहेको अध्यक्ष जिसीको भनाइ छ ।

जनस्वास्थ्य अधिकृत विशाल सुवेदी

संघीय सरकारको ‘एक वडा, एक स्वास्थ्यचौकी’ नीति रहेकाले गाउँपालिकाले स्वास्थ्यसंस्था स्थापनाका लागि छुट्टै बजेट विनियोजन नगरेको उनले बताए । प्युठान जिल्लाभर १६ वटा वडा स्वास्थ्यसंस्थाविहीन रहेको जनस्वास्थ्य अधिकृत विशाल सुवेदीले बताए । जिल्लाका ९ स्थानीय तहमध्ये दुईवटामा मात्र सबै वडामा स्वास्थ्यसंस्थाको पहुँच पुगेको उनको भनाइ छ । स्थानीय तहहरूमा न्यूनतम एकदेखि अधिकतम चारवटासम्म वडामा स्वास्थ्यसंस्था नरहेको सुवेदीले बताए । उनका अनुसार प्युठान नगरपालिकाका ४, स्वर्गद्वारी नगरपालिकाका २, गौमुखी र मल्लरानीका १–१, झिमरुक र सरुमारानीका ३–३ र नौबहिनी गाउँपालिकाका २ वडा स्वास्थ्यसंस्थाविहीन छन् ।

जिल्लाका साबिकका ४९ गाविसलाई नयाँ संरचनाअनुसार विभाजन गरी ६४ वटा वडा बनाइएको थियो । स्थानीय तह पुनःसंरचना भएलगत्तै स्वास्थ्यसंस्था स्थापनाका लागि केन्द्र सरकारसँग माग गरिएको जनस्वास्थ्य अधिकृत सुवेदीले जानकारी गराए । गाउँमा स्वास्थ्यसंस्थाको पहुँच नहुँदा वेला–वेलामा हुने महामारी, स्वास्थ्यका राष्ट्रिय अभियानहरू गाउँ तहसम्म पुर्याउन असजिलो भएको उनले बताए ।
आधा घण्टाभित्र स्वास्थ्यसेवा दिने सरकारी नीति भए पनि जिल्लाका गाउँहरूमा घण्टौँ हिँडेर सेवा लिनुपर्ने बाध्यता छ । स्वर्गद्वारी नगरपालिकाको दुर्गम क्षेत्रमा पर्ने कोचिवाङका नागरिक एकतर्फी रूपमा करिब ४ घण्टाको पैदलयात्रा गरेर सरकारी स्वास्थ्यसेवा लिन धाउने गर्छन् ।
हाल स्वास्थ्यसंस्था रहेका पालिकाका केही वडाका गाउँहरू स्वास्थ्यसंस्थाबाट धेरै टाढा रहेको सुवेदीले बताए । ती गाउँमा स्वास्थ्यसेवा पुर्याउनका लागि गाउँपालिका क्षेत्रमा सामुदायिक स्वास्थ्य एकाइ र नगर क्षेत्रमा सहरी स्वास्थ्यकेन्द्र स्थापना गर्नुपर्ने अवस्था छ ।



Leave a Reply

Your email address will not be published.