फिजियोथेरापिस्टको चासो : अशक्त बिरामीको उपचारमा बहुविशेषज्ञ सहकार्य

हेल्थपोस्ट नेपाल

‘पुनःस्थापनाका लागि बहुविधा (मल्टी डिसिप्लिनरी टिम इन रिह्याबिलिटेसन)’ भन्ने मूल नाराका साथ नवौँ अन्तर्राष्ट्रिय फिजियोथेरापी सम्मेलन बिहीबारदेखि सुरु भएको छ ।शारीरिक रूपमा अशक्तको उपचारमा विभिन्न विधाका विशेषज्ञको सहकार्य बढाउने उपायमा केन्द्रित रही छलफल हुने सम्मेलन १३ देखि १५ गतेसम्म चल्ने नेपाल फिजियोथेरापी एसोसिएसनले जनाएको छ ।
फिजियोथेरापी विधा रोकथाम र उपचारात्मक दुवै क्षेत्रमा लोकप्रिय छ । यसको प्रयोग हाड खिइएको, नसा च्यापिएको, मर्किएकोदेखि बालमस्तिष्क पक्षाघात भएर हुने सुस्त विकास समस्यालगायतमा समेत हुने गरेको छ ।
संघका महासचिव समिद कतिला श्रेष्ठका अनुसार पहिलो दिन राष्ट्रिय ट्रमा सेन्टर र नेपाल मेडिसिटी अस्पताल, दोस्रो दिन धुलिखेल अस्पताल र तेस्रो दिन होटेल शंकरमा कार्यक्रम हुनेछ ।
फिजियोथेरापीमा नसा, हाडजोर्नीलगायत समस्याले अपांगता भएका वा अन्य समस्या भएकालाई एक्सरसाइजथेरापी, म्यानुअलथेरापी, इलेक्टोथेरापीसहित तातो, चिसो, घाम, पानीको प्रयोगबाट पनि उपचार गरिन्छ । सम्मेलनमा १६ विशेषज्ञ कार्यपत्रसमेत प्रस्तुत हुनेछन् ।
महाभूकम्प र अन्य प्राकृतिक विपत्ति वा ठूलो दुर्घटनामा परेर हिँडडुल गर्न नसक्ने भएकालाई बहुविधाले एकैपटक काम गरेर पुनःस्थापनाका लागि एकीकृत प्रयास बढाउन सम्मेलन केन्द्रित हुने महासचिव श्रेष्ठ बताउँछन् ।
सम्मेलनमा अमेरिका, अस्ट्रेलिया, न्युजिल्यान्ड, जापानलगायत ६ देशबाट १२ जना अन्तर्राष्ट्रिय प्रतिनिधिसमेत सहभागी हुँदै छन् । फिजियोथेरापी एसोसिएसन बंगलादेश र फिजियोथेरापी एसोसिएसन भारतका प्रतिनिधिसमेत सम्मेलनमा सहभागी हुँदै छन् ।

फिजियोथेरापीमा नसा, हाडजोर्नीलगायत समस्याले अपांगता भएका वा अन्य समस्या भएकालाई एक्सरसाइजथेरापी, म्यानुअलथेरापी, इलेक्टोथेरापीसहित तातो, चिसो, घाम, पानीको प्रयोगबाट पनि उपचार गरिन्छ ।

श्रेष्ठका अनुसार सम्मेलनमा हाडजोर्नी तथा ट्रमा, नसारोग विशेषज्ञ चिकित्सक, फिजियोथेरापिस्ट, साइक्र्याटिक, फिजियाट्रिस्ट र बिरामीको हेरचाह गर्ने पक्षसमेत एकैठाउँमा भेला हुनेछन् । ‘बिरामीको उपचार र पुनःस्थापनामा प्रभावकारी नतिजा दिने प्रयासस्वरूप यस्तो प्रयत्न गर्न लागिएको हो,’ श्रेष्ठले भने ।
यसपटकको सम्मेलन शारीरिक रूपमा अशक्तको पुनःस्थापनाका लागि आएका नयाँ विधि र प्रविधिमा बढी केन्द्रित हुने र बहुविशेषज्ञ समन्वयबाट प्रभावकारी उपचार गर्न सकिनेबारे छलफल केन्द्रित हुने श्रेष्ठको भनाइ छ ।

प्रत्येक २ वर्षमा एकपटक हुने सम्मेलनकै क्रममा अधिवेशनबाट नयाँ नेतृत्वसमेत चयन गर्ने कार्यक्रम छ । देशभर २ हजारभन्दा बढी फिजियोथेरापिस्ट दर्ता छन् ।  हाल सरकारी तहमा केन्द्रीय अस्पतालमा फिजियोथेरापीका युनिटहरू, क्षेत्रीय तहसम्मका अस्पतालमा फिजियोथेरापिस्टको दरबन्दी छ । नेपालमा हाल ब्याचलर फिजियोथेरापी धुलिखेल अस्पताल, आर्मी र चितवन मेडिकल कलेजमा पढाइ हुन्छ । साढे ४ वर्षको स्तातक कोर्समा ६ महिनाको इन्टर्नसिपसहित ४ वर्ष हाडजोर्नी, नसा, कार्डियो, बाललगायत विधामा पढाइ हुन्छ । विशेषज्ञताका लागि स्नातकपछि २ वर्षको कोर्स गर्नुपर्ने हुन्छ ।



Leave a Reply

Your email address will not be published.