शल्यचिकित्सक समाजको सम्मेलन सुरु, १६० कार्यपत्र, ४०० प्रतिनिधि

हेल्थपोस्ट नेपाल

शल्यचिकित्सकहरुको साझा संस्था शल्यचिकित्सक समाज नेपालको तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन बिहीबारदेखि राजधानीमा सुरु भएको छ ।  २५ वर्षअघि स्थापना भएको समाजको सम्मेलनमा राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी ४ सय प्रतिनिधि सहभागी हुने आयोजक समितिका महासचिव डा. रुपेश मुखियाले बताए । सम्मेलनमा शल्यचिकित्सा विधामा चिकित्सकले आर्जन गरेको ज्ञान, अनुभव र अनुसन्धानमा आधारित १ सय ६० वटा कार्यपत्रमाथि छलफल हुने डा. मुखियाले जानकारी दिए ।

प्रस्तुत कार्यपत्रमध्येबाट १६ जना युवा शल्यचिकित्सकलाई बेस्ट पेपर अवार्डद्वारा सम्मानित गरिनेछ भने ३२ शल्यचिकित्सकले बेस्ट पोस्टर अवार्ड पाउनेछन् । सम्मेलनमा भाग लिनका लागि चीन, भारत जर्मनी, लिथुवानिया, नेदरल्यान्ड, स्विडेन, बेलायत, अमेरिकाबाट ख्यातिप्राप्त चिकित्सकसमेत नेपाल आएका छन् ।

सम्मेलनमा शल्यचिकित्सा क्षेत्रमा निहित मेडिकल ज्ञान र शल्यचिकित्सा क्षेत्रमा भएको प्रविधि र विकासबारे छलफल गरिने समाजले जनाएको छ । सो अवसरमा वरिष्ठ शल्यचिकित्सक प्रध्यापक डा. दिनेशनाथ गंगोललाई आसिक हुसेन अन्सारी लाइफटाइम अचिभमेन्ट अवार्डसमेत प्रदान गरिनेछ । त्यसैगरी दुई वरिष्ठ सर्जन डा. मनोहरलाल श्रेष्ठ र डा. भोलाराज जोशीलाई पनि सम्मान गरिने डा. मुखियाले जानकारी दिए ।



Leave a Reply

Your email address will not be published.