गोरखामा १५ मंसिरदेखि निःशुल्क घुम्ती बन्ध्याकरण शिविर

हेल्थपोस्ट नेपाल

‘व्यवस्थित परिवार स्वास्थ्य र विकासको आधार, यसलाई पार्छ परिवारनियोजनले साकार’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै गोरखा जिल्लामा निःशुल्क बन्ध्याकरण घुम्ती शिविर सञ्चालनमा ल्याइने भएको छ । गोरखा नगरपालिका, पालुङटार नगरपालिका, आरुघाट गाउँपालिका, सिरानचोक गाउँपालिका, सहिद लखन गाउँपालिकाको आयोजना, गण्डकी प्रदेश स्वास्थ्य कार्यालय गोरखाको समन्वय तथा सुनौलो परिवार नेपाल (मेरी स्टोप्स)को सहयोगमा १५ देखि २३ मंसिरसम्म घुम्ती शिविर सञ्चालनमा ल्याउन लागिएको हो ।

शिविरमा अनुभवी चिकित्सकसहितको टोलीद्वारा स्थायी बन्ध्याकरण भ्यासेक्टोमी र अस्थायी साधनहरू मिनिल्याप, आइयुसिडी इम्प्लान्टको सुविधा उपलब्ध गराइनेछ । सुनौलो परिवार नेपालका अनुसार व्यवस्थित परिवार बनाउन चाहने पुरुष तथा महिलाका लागि शिविर सञ्चालनमा ल्याइन लागेको हो । सकभर जिल्लाका सबै भेगलाई समेट्ने गरी शिविर सञ्चालन गर्न लागिएको प्रदेश स्वास्थ्य कार्यालय गोरखाको भनाइ छ ।

कार्यालयका अनुसार जिल्लाका ६ स्थानमा शिविर सञ्चालन गरिने छ । जसअन्तर्गत १५ मंसिरमा आखेत बजार, १७ गते च्याङ्ली स्वास्थ्यचौकी, १८ गते ढाटिपोखरी बर्थिङ सेन्टरमा शिविर चलाइनेछ । त्यसैगरी, २० गते नाम्जुङ स्वास्थ्यचौकी, २२ गते गाँखु स्वास्थ्यचौकी र २३ गते जिल्ला अस्पताल गोरखामा शिविर सञ्चालन हुने कार्यतालिका बनेको छ । मिनिल्यापका लागि शिविरमा आउने महिलालाई अनिवार्य खालीपेट आउन कार्यालयले अनुरोध गरेको छ ।

प्रदेश स्वास्थ्य कार्यालय गोरखाका जनस्वास्थ्य निरीक्षक नवराज खड्काका अनुसार शिविर सञ्चालनको प्रमुख उद्देश्य सन्तानको रहर पुगेका दम्पतीका लागि निःशुल्क स्थायी बन्ध्याकरण सेवा उपलब्ध गराउनु हो । ‘सन्तानको रहर पुगेका दम्पतीलाई स्थायी बन्ध्याकरण सेवा उपलब्ध गराउनुका साथै सिपिआर बढाउने उद्देश्यका साथ शिविर सञ्चालन गर्दै छौँ,’ खड्काले भने, ‘जिल्लाका सबै भेगका बासिन्दालाई पायक पर्ने ठाउँसम्म सेवा पुगोस् भन्ने हेतुले ६ स्थानमा शिविर सञ्चालन गर्न लागेका हौँ ।’

शिविरमा स्थायी तथा अस्थायी परिवारनियोजन सेवा प्रदान गरिनुका साथै परिवारनियोजनसम्बन्धी परामर्शसमेत दिइने खड्काको भनाइ छ । कार्यक्रमका लागि छुट्टै बजेट उपलब्ध नभए पनि स्थानीय स्तरमा कार्यरत स्वास्थ्यकर्मीहरूले तत्तत्स्थानमा परिवारनियोजन सेवाको अवश्यकता रहेको भनी विभिन्न समयमा लेखी पठाएका कारण मेरी स्टोप्ससँगको सहकार्यमा कार्यालयले घुम्ती शिविर सञ्चालन गर्न लागेको खड्काले बताए ।



Leave a Reply

Your email address will not be published.