स्वास्थ्य विभागमा राज्यमन्त्रीको छड्के– महानिर्देशकसहित पाँच निर्देशक अनुपस्थित (फोटो फिचर)

हेल्थपोस्ट नेपाल

दिउँसोको ३ बजेको थियो । कात्तिक मसान्तमा विभागले गरेको भनिएको ठूलो संख्याको सरुवालाई लिएर, जिज्ञासा, गुनासो लिएर विभाग धाउनेको चहलपहल घटेकै थिएन । सेवाग्राहीको चहलपहल भए पनि विभागमा सेवाप्रदायक निकायका कोठा भने खाली–खाली थिए । विभाग र मन्त्रालयमा हाकिम र शाखा प्रमुखहरू भेट नै नहुने गुनासो बढेपछि बुधबार स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव केही सहयोगीसहित विभागको छड्केमा निस्किए । राज्यमन्त्रीको टोली विभाग पुग्दा अधिकांश महाशाखा र केन्द्र प्रमुखविहीन थिए । को काजमा गएको छ, को बिदामा हो, कुनै रेकर्ड थिएन ।

राज्यमन्त्री विभाग पुग्दा विभागका महानिर्देशक डा. गुणराज लोहनी, इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाका डा. विवेक लाल, परिवारकल्याण महाशाखाका प्रमुख आरपी बिच्छा, नर्सिङ सेवा महाशाखा प्रमुख रोशनी तुइतुई, स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रका सुनील शर्मा, व्यवस्थापनका मोहमद दाउद विभागपरिसरमै थिएनन् । एचआइभी केन्द्रका निर्देशक डा. तारा पोखरेल कार्यक्रममा गएका थिए । जनस्वास्थ्य प्रयोगशालाका डा. हरीश उप्रेती र उपचारात्मक सेवा प्रमुख डा. मनीषा रावल मात्रै कार्यकक्षमा थिए ।

अधिकांश शाखाका प्रमुखसहित विशिष्ट अधिकारी पनि कार्यालयमा थिएनन् । राज्यमन्त्री यादवले परिवारकल्याण, व्यवस्थापन र जनस्वास्थ्य प्रयोगशालाको हाजिरी जाँचसमेत गरेका थिए । सोक्रममा विद्युतीय हाजिरी जाँच गर्दा प्रयोगशालाका केही कर्मचारी २–३ घण्टाभन्दा बढी कार्यालयमै बसेको नदेखिएको राज्यमन्त्री यादवले बताए । कार्यालयमै भएका अन्य कर्मचारीले समेत लामो समयदेखि हाजिरी नगरेको पाइएको उनले बताए । उनले अब ठूला अस्पतालहरूमा पनि यस्तै छड्के गर्ने बताए ।

राज्यमन्त्री मन्त्रालय फर्किएपछि मन्त्रीसहित बसेर मन्त्रालयको उपस्थितिको समेत समीक्षा भएको थियो । मन्त्रालयमा पनि चिकित्सा सेवा महाशाखाका डा. दीपेन्द्ररमण सिंह, योजना महाशाखाका डा. विकास देवकोटासहित प्रशासन र कानुनका पनि जिम्मेवार अधिकारी ठूलो संख्यामा अनुपस्थित रहेको पाइएको थियो । समन्वय शाखाका महेन्द्र श्रेष्ठ निस्किसकेकाले मन्त्रालयबाट फोन गएपछि फर्किएका थिए ।
स्वास्थ्य सेवाअन्तर्गतका कर्मचारी ठूलो संख्यामा विदेश हुने गर्छन् । दातृ निकायको सपोर्ट र कार्यक्रम बढी हुने भएकाले अर्को ठूलो संख्यामा कर्मचारी होटेलमा हुने कार्यक्रम र गोष्ठीमा सहभागी हुने गरेका छन् ।

 

 

 



Leave a Reply

Your email address will not be published.