प्रसूतिगृहको ‘टेस्टट्युब बेबी केन्द्र’ अब कुपन्डोलमा

हेल्थपोस्ट नेपाल

परोपकार प्रसूतिगृहले थापाथलीस्थित अस्पताल भवनमा चल्दै आएको टेस्टट्युब बेबी केन्द्रलाई कुपन्डोलमा सार्ने भएको छ । कुपन्डोलमा ३५ रोपनी जग्गामा निर्मित प्रसूतिगृहको नयाँ भवनमा टेस्टट्युब बेबी केन्द्र सार्न लागेको निर्देशक डा.जागेश्वर गौतमले बताए ।डा.गौतमका अनुसार हाल केन्द्र सञ्चालनमा रहेको भवन साँघुरो भएको तथा भूकम्पका कारण भवनमा आंशिक क्षति पुगेका कारण कुपन्डोलमा सार्न लागिएको हो । हाल केन्द्रमार्फत मासिक एकपटक मात्र सेवा दिँदै आएकोमा कुपन्डोलमा सारेपश्चात् दैनिक सेवाप्रवाह गर्ने निर्देशक गौतमको दाबी छ ।

प्रसूतिगृहले टेस्टट्युब बेबी केन्द्रका लागि आवश्यक जनशक्ति परिपूर्तिका लागि छात्रवृत्तिमा एक चिकित्सकलाई विदेश पढ्न पठाएको छ । अध्ययन सकेर आएपश्चात् ती चिकित्सकले टेस्टट्युब बेबी केन्द्रमा योगदान गर्ने गौतम बताउँछन् । नीजि क्षेत्रमा लामो समयदेखि यो सेवा सुरु भएपनि सामान्य मानिसको पहुँचमा हुनेगरी प्रसुति गृहको सेवा निकै सुलभ छ । प्रसूतिगृहमा २०७० पुस ९ मा पहिलोपटक प्रसुति गृहमा टेस्टट्युब प्रविधिबाट बच्चा जन्मिएको थियो । यो प्रविधिमा पुरुषको शुक्रकीट र महिलाको डिम्बलाई कृत्रिम तरिकाले निकालेर प्रयोगशालामा मिलाएर भ्रूण विकास गराएपछि गर्भाधान गराएर पाठेघरमा प्रत्यारोपण गरिन्छ ।

सुरुमा अस्पतालमा पहिलोपटक ९ जना महिलामा टेस्ट्युबबेबी प्रविधि प्रयोग गरिएकोमा एउटा पनि सफल नभएपछि लामो समयसम्म सेवा नै रोकिएको थियो । सफलतापछि पनि समयसमयमा सेवा अवरुद्ध हुने गरेको छ ।

टेस्ट्युबबेबीसँगै अस्पतालले थुपै सेवा र सेन्टर थप्दै गएको छ । बिरामीको अत्यधिक चापका कारण दिनानुदिन सेवा अपुग हुन थालेपछि सेवाविस्तारका क्रममा अस्पतालले आफ्नै केन्द्रका रूपमा ललितपुरको भैँसेपाटीमा ओपिडी सेवाको थालनी गरिसकेको छ । त्यहाँबाट स्त्रीरोग तथा प्रसूति ओपिडी, बालरोग ओपिडी, अल्ट्रासाउन्ड, ल्याबसहितको ओपिडी सेवा उपलब्ध गराइँदै आएको छ । हाललाई ओपिडीबाट सेवा सुरु गरिए पनि बिरामीको चाप बढ्दै जाँदा शल्यक्रिया सेवासमेत त्यहीँ प्रदान गरिने निर्देशक गौतम बताउँछन् ।

त्यसैगरी, प्रसूतिगृहले थानकोट र मध्यपुर ठिमीमा आफ्ना प्रारम्भिक शाखा विस्तार गर्न सकिने अध्ययनसहित स्वास्थ्य मन्त्रालयलाई अनुरोधसहितको पत्र पठाइसकेको छ । अस्पतालको क्षमताभन्दा बिरामीको चाप अत्यधिक भएका कारण सेवाको गुणस्तर कायम गर्नसमेत गाह्रो भएका कारण शाखा विस्तारको नीति अगाडि बढाइएको हो ।



Leave a Reply

Your email address will not be published.