रुकुममा पहिलो प्रदेश स्वास्थ्य कार्यालय उद्घाटन
देशकै कान्छो जिल्लामध्येको एक रुकुम पूर्वमा प्रदेश ५ स्वास्थ्य कार्यालयको उद्घाटन भएको छ । प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले रुकुम पुगेर स्वास्थ्य कार्यालयको उद्घाटन गरेका हुन् ।
प्रदेशमा रहने ६ स्वास्थ्य कार्यालयमध्ये रुकुममा पहिलोपटक कार्यालयको उद्घाटन गरिएको हो । उद्घाटित स्वास्थ्य कार्यालय एकल जिल्ला हेर्ने गरी स्थापना गरिएको हो ।
उद्घाटन कार्यक्रममा मन्त्री बरालले कान्छो जिल्लाका रूपमा परिचित रुकुम विकासको हिसाबले भने अगाडि बढ्ने विश्वास व्यक्त गरे । प्रदेश सरकारले रुकुमको विकासका लागि प्राथमिकतामा राखेर काम गर्ने मन्त्री बरालले बताए । उनले जिल्लामा छिट्टै जिल्ला अस्पताल स्थापना गर्ने र त्यसको प्रक्रियाका लागि आफू लागिपरेको बताए ।
कार्यक्रममा भौतिक पूर्वाधार विकास समितिका संयोजक आशा स्वर्णकार, प्रदेश सांसद तेजप्रकाश वली, जिल्ला समन्वय समिति रुकुम पूर्वका संयोजक कैलाश वलीलगातयले रुकुमको स्वास्थ्य अवस्था र विकासका विषयमा धारणा राखेको मन्त्री बरालका स्वकीयसचिव यदु ज्ञवालीले जानकारी दिए ।
प्रदेशअन्तर्गत रहने ६ वटा स्वास्थ्य कार्यालयमा एकल जिल्ला हेर्ने गरी रुकुममा, अर्घाखाँची, कपिलवस्तु र दाङ हेर्ने गरी दाङमा, बाँके र बर्दिया हेर्ने गरी बाँकेमा, नवलपरासी र रूपन्देही हेर्ने गरी रूपन्देहीमा, पाल्पा र गुल्मी हेर्ने गरी पाल्पामा र प्युठान र रोल्पा हेर्ने गरी प्युठानमा एक–एक स्वास्थ्य कार्यालय प्रस्ताव गरिएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. उमाशंकरप्रसाद चौधरीले जानकारी दिए ।