१ हजार बढि स्टाफ नर्स आन्दोलित ! पहुँचका आधारमा ‘सर्टलिस्ट’ मा पारिएको भन्दै मागे कारण
सामाजिक सञ्जाल फेसबुकमा एक नर्सहरुको ग्रुपमा रोमनमा लेखिएको एक स्टाटस र फोटोले हाम्रो ध्यान केन्द्रित गर्यो ।
जहाँ लेखिएको थियो, ‘…यो पहिलो पटक होइन राम्रालाई भन्दा हाम्रालाई छानेको… ।’
कोभिड १९ को महामारीबीच विश्व नै त्रसित भएर संक्रमण रोकथामको उपायहरुको खोजी गर्दैगर्दा ‘राष्ट्रिय ट्रमा सेन्टर’ को लेटरहेडसहितको सूचना पनि त्यसैसाथ संलग्न थियो।
२५ जना स्टाफ नर्स २० फागुनमा ट्रमा सेन्टरले खुला प्रतिस्पर्धाबाट मागेको रहेछ । जसको आवदेन झण्डै १२ सय बढीले भरेका थिए ।
२० फागुनमा माग भएका नर्सहरुको बारेमा अर्को सूचना १९ असारमा प्रकाशित गर्यो । जहाँ प्राप्ताङ्क, कार्यअनुभव र शैक्षिक योग्यताको आधारमा सर्टलिस्ट तयार पारेको बताएको छ ।
कोरोना कहरकाबीच सबैको परीक्षा लिन नसकेको ट्रमा सेन्टरले बताएको छ । तर, १ सय ७७ जनालाई पहुँचको आधारमा सर्टलिस्ट सार्वजनिक भएको भन्दै उनीहरुले शनिबारबाट चरणबद्ध आन्दोलन गर्दै आएका छन्।
आन्दोलितमध्येकी एक परीक्षार्थीले हेल्थपोष्ट नेपालसँग नाम नबताउने शर्तमा भनिन्, ‘हामीलाई सुरुमा उपलब्ध गराउनलाई भनेको सबै डकुमेन्ट उपलब्ध गराएका छौं । तर, परीक्षा नै नहुने भएपछि एक्कासी १ सय ७७ जनालाई कुन आधारमा सर्टलिस्टमा छनौट गरियो ? जानकारी हुनपर्दछ ।’
सूचनामा कति प्रतिशतसम्म अंक ल्याएकालाई प्राथमिकतामा राख्ने भन्नेबारे कुनै उल्लेख नभएको बताउँदै राम्रालाई भन्दा हाम्रालाई ल्याउने चलखेल ट्रमा सेन्टरमा भएको गुनासो हामीलाई गरिन् ।
ट्रमा सेन्टरले सोमबारबाट सर्ट लिस्टमा परेकाहरुको अन्तवार्ताका लागि बोलाएको छ । उनीहरुलाई मोबाइल एसएमएसमार्फत अन्तवार्ताका लागि बोलाइएको सूचना ट्रमा सेन्टरले जारी गरेको छ ।
‘फर्म भर्दा कुनै अनुभवको कुरा पनि गरिएको छैन्, प्रतिशतको कुरा पनि गरिएको छैन् । मात्र नर्स चाहिएको छ भनेर लेखिएको छ । म फ्रेसर हुँ । म सँग अनुभव त छैन् ।’ आन्दोलित परीक्षार्थीमध्येकी उनी भन्छिन्, ‘जेठको दुई सातामात्र हामीलाई ट्रमा सेन्टरबाट नोटिस आयो । जहाँ हामीले फोन गरेर बुझ्दा असारको पहिलो हप्ता अन्तर्वार्ताका लागि बोलाउँछौं भन्नुभयो ।’
त्यसको तीन दिन पछाडि अचानक हामीले १ सय ७७ जनाको सर्ट लिस्ट निकालेका छौं भन्ने जानकारी आएको उनले हामीलाई सुनाइन् । ‘सुरुमा त न कुनै अनुभवको कुरा गरिएको थियो, न कुनै प्रतिशतको नै कुरा गरिएको थियो । प्रतिशतकै कुरा गर्ने हो भने मेरो डिस्टिंग्सन आएको छ । के आधारमा रिजल्ट निकालियो भन्ने हामीलाई जिज्ञासा हुनु स्वभाविक भयो नि त हैन र ?’ उनले उल्टै हामीलाइ नै प्रश्न गरिन् ।
उनीहरुले तिरेको जत्ति नै फर्म शुल्क आफूहरुले पनि तिरेको र उत्ति नै मिहेनत गरेर पढेको भन्दै विभेदपूर्ण छनौटको विरोध उनले गरिन् ।
‘आफ्नै साथि विराटनगरबाट १० हजार खर्च गरेर फर्म भर्न मात्र आएको छ । राम्रालाई भन्दा हाम्रालाई गरिएको यो व्यवहारको हामी विरोध गर्छौं ।’ उनले भनिन् ।
साथै, उनले सूचनामा उल्लेख भए अनुसारको मौखिक वा लिखित परीक्षामध्ये एक वा दुवै हुने भनिएको भएपनि नगरिएको बताइन् । कोरोना कहरकाबीच लिखित परीक्षा लिन नसक्ने भएपनि मौखिक अन्तर्वार्ताका लागि प्रविधिको माध्यमबाट संलगन हुनुपर्ने उनको भनाई छ ।
‘जम्मा २५ जना आवश्यक परेकोमा किन १२ सयले आवेदन भर्दासम्म नरोकेको ? १ सय ७७ जनामै रोकेको भए हुन्थ्यो नि ? धेरैले पैसासहित दुःख त खेर फाल्न पर्दैनथ्यो नि !’ उनको गुनासो छ ।
के भन्छ अस्पताल प्रशासन ?
उनको यो गुनासो सुनिसकेपछि हामीले अस्पताल प्रशासनमा सम्पर्क गर्र्यौं । अस्पतालका मेडिकल सुपरिडेन्टेड सन्तोष पौडेलले मन्त्रालयले भनेको अनुसार आफूहरुले गरेको बताए ।
‘अहिले लकडाउनले धेरै मान्छे चाहिएको छ, त्यसैले हामीले मन्त्रालयलाई के गर्ने हो यती आवेदन आएका छन् भन्यौं । मन्त्रालयले क्षमता, अनुभव र उच्च अध्ययन लगायतलाई प्राथमिकतामा राखेर सर्ट लिस्टिङ गर्न हामीलाई भनिएको थियो सोही अनुसार हामीे गरेका हौं ।’
प्रतिशत, अनुभव, लगायतका विषयहरुलाई हेरेर सर्ट लिस्टम सार्वजनिक गरिएको उनले बताए । उनले भने, ‘हामीले सोही अनुसार सेलेक्सन गर्दा १ सय ७७ जना सर्ट लिस्टिङ गरेका छौं ।’