संक्रमित अब घरमै, निगरानीका लागि स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मी परिचालन
सरकारले कोरोना संक्रमितको उपचारका लागि स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने तयारी गरेको छ।
संक्रमित संख्या बढ्दै गएको अवस्था रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविकालाई परिचालन गर्न लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिएका छन्।
मन्त्रालयले आइसोलेसन तथा क्वारेन्टाइन निर्देशिकाहरू संशोधन गरेर लक्षणविहीन संक्रमितलाई पुनः परीक्षण नगरी होम आइसोलेसनमा पठाउन थालेको छ।
संक्रमित संख्यालाई क्षमताले नधान्ने भएसँगै मन्त्रालयले ‘होम आइसोलेसन’ मै संक्रमित राख्ने तयारी गरेको हो।
‘अस्पताल राख्न नपर्ने संक्रमितलाई होम आइसोलेसनमा राख्ने कार्यविधि बनाएका छौं,’ डा. अधिकारीले हेल्थपोस्टसँग कुरा गर्दै भने, ‘त्यसैअनुरुप लक्षण नभएका संक्रमितलाई होम आइसोलेसनमा राख्ने तयारी गरेका हौं।’
होम आइसोलेसनमा बसेका संक्रमितको अनुगमन, उपचारका लागि स्वास्थ्यकर्मीलाई परिचालन गर्न लागिएको मन्त्रालयले जनाएको छ।
‘अहिले राम्रो व्यवस्थापन भएका क्वारेन्टाइनलाई आइसोलेसन सेन्टरका रूपमा विकास गर्दै लैजान्छौं। अहिले धेरै संक्रमित अस्पताल र आइसोलेसन सेन्टरमै छन्,’ डा. अधिकारीले भने, ‘घरमा सुरक्षासाथ बस्न चाहने संक्रमितलाई होम आइसोलेसनमा राख्ने तयारी गरेका हौं।’
सरकारले असोजसम्म ३ लाख ७६ हजार संक्रमित पुग्ने प्रक्षेपण गरेको छ। जसअनुरुप करिब ८० प्रतिशतलाई होम आइसोलेसनले पुग्ने, १५ प्रतिशतलाई आइसोलेसन र ५ प्रतिशतलाई आइसियू र भेन्टिलेटर आवश्यक पर्नसक्ने आँकलन गरेको छ।
होम आइसोलेसनमा बस्नुपर्दा सेवा–सुविधा नहुने संक्रमितका लागि सार्वजनिक रूपमा भएका आइसोलेसन सेन्टरलाई व्यवस्थित गरेर राख्ने सरकारको तयारी छ।
होम आइसोलेसनमा बस्नका लागि घरमै एउटा छुट्टै कोठा, एट्याच बाथरुम हुनुपर्ने तथा अन्य घरका व्यक्तिको सम्पर्कमा नआउनका आवश्यक पर्ने सम्पूर्ण सामग्रीको व्यवस्था हुनुपर्ने विज्ञहरू बताउँछन्।
सरकारले असोजसम्म ३ लाख ७६ हजार संक्रमित पुग्ने प्रक्षेपण गरेको छ। जसअनुरुप करिब ८० प्रतिशतलाई होम आइसोलेसनले पुग्ने, १५ प्रतिशतलाई आइसोलेसन र ५ प्रतिशतलाई आइसियू र भेन्टिलेटर आवश्यक पर्नसक्ने आँकलन गरेको छ।
त्यसअनुसार होम क्वारेन्टाइन र आइसोलेसनमा रहेका व्यक्तिको स्वास्थ्य निगरानीका लागि प्रत्येक वडा तहमा प्यारामेडिक एक, नर्सिङ स्टाफ एक, स्वास्थ्य परिचारिका दुई र एक सहयोगीसहित पाँचजना जनशक्ति खटाउने योजना बनाएको मन्त्रालयले जनाएको छ।
त्यसैगरी २ सय बेडको सामूहिक क्वारेन्टाइनका लागि प्यारामेडिक्सको नेतृत्वमा ५ सदस्यीय, ५ सय बेडसम्मको क्वारेन्टाइनका लागि ७ जना र सोभन्दा माथिको बेड क्षमताका क्वारेन्टाइनलाई १० जना स्वास्थ्य जनशक्ति खटाउनुपर्र्ने आँकलन गरेको छ।
‘काउन्सिलमा दर्ता भएका सबै स्वास्थ्यकर्मीलाई परिचालन तयारी गर्ने गरेका छौं,’ डा. अधिकारीले भने, ‘जनशक्ति पुगेन भने स्वास्थ्य क्षेत्रभन्दा पनि अन्य कर्मचारीलाई कसरी परिचालन गर्न भन्नेतर्फ लागेका छौं।’
होम क्वारेन्टाइन र आइसोलेसनमा रहेका व्यक्तिको स्वास्थ्य निगरानीका लागि प्रत्येक वडा तहमा प्यारामेडिक एक, नर्सिङ स्टाफ एक, स्वास्थ्य परिचारिका दुई र एक सहयोगीसहित पाँचजना जनशक्ति खटाउने योजना बनाएको मन्त्रालयले जनाएको छ।
हाल देशभर ५२ हजारको हाराहारीमा महिला स्वास्थ्य स्वयंसेविका छन्। महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यकर्मीले आइसोलेसनमा रहेका संक्रमितले नियम पालना गरेको वा नगरेको अनुगमन गर्ने तथा केही समस्या देखिएमा सहयोग गर्ने जिम्मेवारी दिइने मन्त्रालयले जनाएको छ।
कोरोना संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीको सेवा–सुविधाको विषयमा छलफल भइरहेको मन्त्रालयले जनाएको छ।
३५ हजार संक्रमित गम्भीर समस्यामा पर्नसक्ने, थप १५ हजार जनशक्ति आवश्यक पर्ने
करिब ३५ हजार संक्रमितलाई गम्भीर समस्या हुनसक्ने आँकलन गरिएको मन्त्रालयका सह–सचिव रधुराम विष्टले जानकारी दिए। हाल सरकारको स्वास्थ्य जनशक्ति परिचालन भइरहेको र आवश्यक परेका ठाउँमा करारबाट जनशक्ति नियुक्ति गरिरहेको विष्टले बताए।
‘कहाँ जनशक्तिको अभाव भयो त्यहाँ कोरोना अवधिका लागि करारमा राख्नु भनेका छौं,’ विष्टले भने, ‘जनशक्ति अपुग भएर उपचार नआउने अवस्था हुँदैन।’
गम्भीर समस्या भएका संक्रमितका लागि हाल भइरहेको जनशक्तिमा थप १५ हजार आवश्यक पर्ने अनुमान गरिएको विष्ट बताउँछन्।