अरू बिरामी निर्धक्क भएर उपचारमा आउँदा हुन्छ: भरतपुर अस्पताल

हेल्थपोस्ट नेपाल

भरतपुर अस्पतालमा विगतका दिनमा बिरामीको बाक्लो उपस्थिति हुन्थ्यो। टिकट काट्नमात्रै बिरामी एक दुई घण्टा लाइनमै बिताउँथे। तर, त्यत्रो भिडभाड हुने भरतपुर अस्पताल अहिले भने सुनसानजस्तै छ।

भरतपुर अस्पतालमा कोरोना संक्रमित बिरामीको उपचार हुन थालेपछि दैनिक २ सयको हाराहारी मात्र बिरामी उपचार गर्न आउने गरेका छन्। यो संख्या विगतका दिनमा भन्दा न्यून रहेको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेल बताउँछन्।

‘शुक्रबार १ सय ८५ बिरामी उपचारका लागि आएका छन्। अघिल्ला वर्षहरूका आधारमा हेर्दा यो एकदमै न्यून हो,’ उनले भने, ‘लकडाउनभन्दा अगाडि दैनिक १ हजार ६ सयभन्दा बढी बिरामी आउने गथ्र्यो।’

भरतपुर अस्पतालमा १२ वटा विभाग सञ्चालित छन्। कोरोनाका बिरामी बढ्दै गएपछि सर्जिकल, अर्थोपेडिक न्यूरो सर्जिकल वार्डमा आइसोलेसन बनाइएको छ। अहिले ६० बेडको अर्थोपेडिक वार्ड १० बेडमा झारिएको छ।

गत आर्थिक वर्ष भरतपुर अस्पतालमा ३ लाखभन्दा बढी बिरामी उपचार गराउन आएका थिए। भरतपुर अस्पतालमा कोरोना संक्रमित बिरामीको उपचार हुँदा मानिसमा मनोवैज्ञानिक त्रासका कारण उपचार गराउन नआएको हुनसक्ने पौडेलको बुझाइ छ।

‘यहाँ देशका विभिन्न भागबाट उपचार गराउन आउँथे। अहिले लकडाउनका कारण पनि नआएको हुनसक्छ,’ पौडेलले भने, ‘अधिकांश बिरामी त कोरोनाको मनोवैज्ञानिक त्रासका कारण नआएको हुनसक्छ।’

भरतपुर अस्पतालमा १२ वटा विभाग सञ्चालित छन्। कोरोनाका बिरामी बढ्दै गएपछि सर्जिकल, अर्थोपेडिक न्यूरो सर्जिकल वार्डमा आइसोलेसन बनाइएको छ। अहिले ६० बेडको अर्थोपेडिक वार्ड १० बेडमा झारिएको छ।

सर्जिकल वार्ड ४० बेडबाट ३०, न्यूरो सर्जिकल वार्डमा १२ बेडबाट ५ बेडमा झारिएकोे छ। बेडसंख्या क्रमशः घट्दै गएपछि अस्पतालमा उपचार गराउन आएका बिरामीको भर्ना पनि क्रम गरिएको छ।

कोरोनाका बिरामी बढ्दै जाँदा अन्य सेवा प्रभावित भएको अस्पतालका पूर्व मेसु प्रा.डा. कृष्णप्रसाद पौडेल बताउँछन्।

‘कोरोनाका लागि अस्पताल खाली गर्दै जाँदा यहाँ भएका विशेषज्ञसहितका विभागहरू बन्द हुने अवस्थामा छन्। यहाँ भएका विशेषज्ञ चिकित्सकको जनशक्ति खेर गयो,’ उनले भने, ‘कोरोना अस्पतालमा पनि बिरामी राख्न छाडेपछि यहाँको अन्य सेवा प्रभावित भएको छ।’

अहिले चाइल्ड वार्डमा बिरामीहरू आउन छाडेका छन्। अर्थोपेडिकमा बिरामी आए पनि बेड नपाएर फर्किने गरेको उनले बताए।

शनिबारसम्म भरतपुर अस्पतालमा २७ जना कोरोनाका बिरामी उपचाररत छन्। कोरोनाका बिरामीको उपचारका लागि १० आइसियूसहित १ सय ३५ बेड तयार गरिएको छ। यसले गर्दा अन्य विभागमा प्रभाव पारेको हो। दूरी कायम गरेर राख्दा २ सयको हाराहारीमा बेड संख्या घटेको छ।

‘हाम्रो अर्थोपेडिक वार्डको ओपिडी दैनिक ४ घण्टा चल्थ्यो। अहिले दुई घण्टामा सीमित छ। कम्तीमा पनि दुई सय जति बिरामी हेर्नुपथ्र्यो। आजभोलि ३० जना जति आउँछन्,’ उनले भने, ‘आएका बिरामीलाई त हामीले सेवा दिएकै छौं। तर, कोरोनाका बिरामी मात्रै राख्ने भएपछि त अन्य बिरामी आउन नै छाड्ने भए नि?’

शनिबारसम्म भरतपुर अस्पतालमा २७ जना कोरोनाका बिरामी उपचाररत छन्। कोरोनाका बिरामीको उपचारका लागि १० आइसियूसहित १ सय ३५ बेड तयार गरिएको छ। यसले गर्दा अन्य विभागमा प्रभाव पारेको हो। दूरी कायम गरेर राख्दा २ सयको हाराहारीमा बेड संख्या घटेको छ।

कोरोनाबाहेक अन्य बिरामीको उपचारका लागि पनि भरतपुर अस्पतालले सुरक्षा अपनाएको अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले बताए। ‘भरतपुर अस्पतालमा एउटामात्र ब्लक छैन। हामीसँग चारवटा ब्लक छ। एकवटा ब्लकमा मात्र कोरोनाका बिरामीको उपचार भइरहेको छ। संक्रमित बिरामीलाई ल्याउने लैजानेबाट नै फरक छ। चिकित्सक फरक छन्,’ उनले भने, ‘भरतपुर अस्पतालमा निर्धक्क भएर उपचार गर्न आउनका लागि बिरामीसँग अनुरोध गर्दछु।’

कोरोना विशेष अस्थायी अस्पताल अहिले बन्द अवस्थामा छ। यसलाई मर्मत गरेर सञ्चालन गरिने उनले बताए। बिरामीहरू बढ्दै गएपछि बन्दै गरेको कुरुवा घरमा पनि बिरामी राख्ने बिषयमा छलफल भइरहेको अधिकारीले जानकारी गराए।

महामारीको समयमा निजी अस्पतालहरू तर्किरहेका छन्। कोरोना पोजेटिभ देखिएपछि भरतपुर अस्पतालमा नै पठाउने गरिएको छ। यसरी भरतपुर अस्पतालमा कोरोनाको त्रास देखाएर केही निजी अस्पतालले गैरजिम्मेवारीपन देखाएका छन्। तर, सरकारले जिल्लाका दुई मेडिकल कलेजलाई कोरोनाका उपचार गर्न निर्देशन दिएकाले संक्रमित व्यक्तिको उपचारमा त्यति समस्या नआउने अधिकारीको भनाइ छ।

‘अहिले चितवन मेडिकल कलेजले पिसिआर परीक्षण पनि गर्ने तयारी गरेको छ। पुरानो मेडिकलले पनि आइसोलेसन वार्ड छुट्याएर काम गरिरहेको छ,’ उनले भने, ‘यसअघि सरकारी र कोरोना अस्पताललाई मात्र उपचारका लागि तह छुट्याउँदा समस्या भएको हो। अब त्यस्तो हुँदैन भन्ने विश्वास छ।’

ज्वरो क्लिनिक छुट्टै राखिएको छ। आवश्यक परेको खण्डमा अस्थायी क्लिनिकहरू पनि राख्ने तयारी गरिएकाले अन्य सेवाहरू प्रभावित नहुने अधिकारीले बताए।

अहिले बिरामीको संख्या घट्दै जाँदा अस्पतालको नियमित आम्दानीमा पनि गिरावट आएको छ। यहाँ ४ सयभन्दा बढी कर्मचारीले बिरामीबाटै संकलित रकमबाट तलब खाने गरेका थिए। ६ सय बेड रहेको सरकारी अस्पतालमा १ सय ५० जनाको मात्र दरबन्दी छ। अन्य कर्मचारी विकास समितिबाट सञ्चालित छन्। यसरी बिरामीहरू घट्दै जाँदा कर्मचारीलाई तलब खुवाउन समेत समस्या हुनसक्ने बताइएको छ।



Leave a Reply

Your email address will not be published.