प्रविधिको पहुँचलाई पढ्ने र पढाउने अवसर बनाऔं: प्रधानमन्त्री
आजबाट सरकारले देशमा वैकल्पिक शिक्षाको व्यवस्था गरेको छ। लामो समयसम्म कोरोना भाइरसकाे महामारीका कारण विद्यालयहरू बन्द भएको अवस्थामा विद्यार्थीलाई वैकल्पिक सिकाइको व्यवस्था गर्दै टेलिभिजन र अनलाइन टेलिभिजनलगायतका माध्यमबाट पढाइ सुरु गरेको हो।
सोही अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले वैकल्पिक सिकाइसम्बन्धी शुभारम्भ गर्दै सम्बोधन गरेका छन्।
विद्यालयमा परीक्षा सकिएको अवस्थामा दुई महिना पहिलेदेखि नै परीक्षा सञ्चालन हुनपर्नेमा कोरोना कहरले त्यस्तो हुन नसकेको प्रधानमन्त्री ओलीले बताए।
चैत ११ गतेदेखि लकडाउन सुरु भएकाले शिक्षा क्षेत्र प्रभावित बनेको उनको भनाइ छ।
देशभरका तीन हजार दुई सयभन्दा बढी विद्यालय क्वारेन्टाइनको रूपमा प्रयोग भएका छन्। एसईईलगायतका परीक्षा स्थगित भएको छ।
‘अहिले पनि देशमा लकडाउन जारी नै छ। तर, केही खुकुलो पारिएको छ। यस्तो अवस्थामा सबैले व्यवहारमा सतर्कता अपनाउँदै अगाडि बढ्नुपर्छ,’ उनले भने, ‘हाम्रा ससाना नानिको सिकाइको केन्द्र नै समुदायमा संक्रमण फैलिने केन्द्र नबनोस भन्नेमा विशेष गरी शिक्षक, स्वयंसेवक र अभिभावकहरू लगायत सबै सचेत हुनैपर्छ।’
लामो समयसम्म विद्यालय बन्द हुँदा सिंगो शैक्षिक क्षेत्र बन्द हुने अवस्था रहेकाले बन्दाबन्दीको ८३ दिनपछि यसलाई केही खुकुलो पारिएको उनले बताए।
बालबालिकाको सिकाइमा थप क्षति नहोस् र प्रभावित नहोस् भन्ने उद्देश्यले आजबाट सरकारले वैकल्पिक कार्यक्रम सुरु गरेको उनले बताए। उनले विद्यार्थीलाई वैकल्पिक सिकाइका लागि शुभकामना दिए।
प्रविधिको प्रयोगले विद्यार्थीलाई सिकाइ गरिने भएकाले यसलाई नयाँ अवसरका रुपमा लिनुपर्ने उनको धारणा छ।
प्रविधिको पहुँच एकैनासको नभएकाले निर्देशिका जारी गर्दा प्रविधिको पहुँचमा रहेका विद्यार्थीलाई पनि ध्यान दिइएको उनले बताए।