नेपालमा सबै रोगको उपचार सम्भव छ : मन्त्री यादव

हेल्थपोस्ट नेपाल

उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले स्वास्थ्य सेवाको पहुँचबाहिर रहेका जनसंख्यासम्म स्वास्थ्य सेवा पुर्याउन निजी क्षेत्रका अस्पतालले पनि ध्यान पुर्याउनुपर्ने बताएका छन् । अमेरिकास्थित अन्तर्राष्ट्रिय संस्था ‘द वल्र्ड कन्फडेरेसन अफ बिजिनेस’ (वल्र्डकब)ले प्रदान गर्ने ‘द बिज अवार्ड’ वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले यस्तो बताएका हुन् । अवार्ड थापाथलीस्थित नर्भिक अस्पतालले प्राप्त गरेको छ ।

२५ वर्ष पुरानो निजी क्षेत्रको प्रतिष्ठित अस्पताल नर्भिकको आफूले धेरैपटक भ्रमण गरेको भन्दै मन्त्री यादवले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेपछि विदेशका समेत प्रतिष्ठित अस्पताल घुमेको बताए । ‘पछिल्ला दिनमा घुमेका प्रतिष्ठित विदेशी अस्पतालकै हाराहारीमा नर्भिक छ,’ उनले भने, ‘जनशक्ति, उपकरण र व्यवस्थापनका आधारमा नर्भिक अन्तर्राष्ट्रियस्तरको छ । मलाई लाग्छ, सबै उपचार नर्भिकमा सम्भव छ ।’

मन्त्री यादवले नेपालका सरकारी र निजी अस्पतालसमेत अन्तर्राष्ट्रियस्तरका भएको भन्दै नेपालमै उपचार गर्न प्रोत्साहित गर्न संसद्ले पछिल्लोपटक पारित गरेको ऐनमा सरकारी खर्चमा विदेशमा उपचार गर्न जान नपाउने व्यवस्था गरेको उल्लेख गरे । ‘नेपालमा सबै उपचार सेवा सम्भव छ,’ यादवले भने, ‘वातावरण मात्रै बनाउनु आवश्यक छ, त्यसको अगुवाइ पनि नर्भिकले लिओस् ।’ उनले राम्रो वतावरण बनेमा नर्भिकजस्ता निजी अस्पतालले विश्वस्तरमै नेपालमा सुलभ उपचार सम्भव छ भन्ने सन्देश छर्न सक्ने विश्वास व्यक्त गरे ।

निजी क्षेत्रले पनि उपचारको पहुँचबाहिर रहेकालाई समेट्न निश्चित प्रतिशत छुट्याउनुपर्नेमा यादवले जोड दिए । आधारभूत स्वास्थ्य सेवालाई संविधानले नै मौलिक हकका रूपमा निर्धारण गरेको मन्त्री यादवले यो लक्ष्य पूरा गर्न नर्भिकजस्ता निजी क्षेत्रका अस्पतालले पनि भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले सरकारले सञ्चालन गरिरहेको स्वास्थ्य बिमा कार्यक्रममा निजी क्षेत्रका अस्पताललाई पनि कसरी समेट्ने भन्ने छलफलसमेत चलिरहेको जानकारी दिए ।

नेपालमा बढ्दो, हावा–पानी र जमिन प्रदूषण विश्वस्तरमै बहसको विषय बनेको भन्दै उनले चिन्तासमेत व्यक्त गरे । केही समयअघि जेनेभामा भएको विश्व सम्मेलनमा समेत विभिन्न देशका वैज्ञानिकले नेपालमा व्याप्त प्रदूषणको सन्दर्भ उल्लेख गरेको भनाइ मन्त्री यादवको थियो । ‘अति प्रदूषित १० सहरमा काठमाडौैं पर्ने कुरा अन्तर्राष्ट्रिय रूपमै प्रस्तुत भइरहेको छ,’ उनले भने ।

विकसित देशहरूले चाहेमा प्रदूषण घटाउन सकिने भन्दै उनले यस सन्दर्भमा पनि नेपाल पछाडि रहेको सुनाए । ‘प्रदूषण कम गर्न जनचेतना जरुरी छ र प्रदूषण हटाउन सके धेरै रोगको भारसमेत घटाउन सकिन्छ,’ उनले भने, ‘यस्ता रोगका जरा निर्मूल गर्ने काममा पनि नर्भिकका पाइला अगाडि बढून् ।’

मन्त्री यादवले पछिल्ला दिनमा नसर्ने रोगको जोखिम नराम्रोसित बढ्दै गएको भन्दै त्यही भारले उपचार अत्यन्तै महँगो भई अधिकांश नेपालीको पहुँचबाहिर पुगेको बताए । ‘चोटपटक, दुर्घटनाका कारणले पनि रोगका भार थपिइरहेका छन्,’ उनले भने । कम विकसित देश भईकन पनि नेपालले आँखाजस्ता केही रोगको उपचारमा नेतृत्वदायी भूमिका खेलेको यादवको भनाइ थियो । ‘लहान, विराटनगरका अस्पतालमा गए बाहिर (भारत)का बिरामीको भिड देखिन्छ,’ उनले भने ।

सरकारले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको विकास गर्ने, निजीलाई पनि सँगै र महत्वका साथ अगाडि बढाउने र सहकारीसँगै लाने नीति लिएको मन्त्रीको भनाइ थियो । अमेरिकाजस्ता विकसित देशहरूले पनि सरकारले मात्र स्वास्थ्य सेवा धान्न सक्दैन भनेरै निजी क्षेत्रलाई महत्व दिएको उनले बताए । सोही कार्यक्रममा सो संस्थाका अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशक निकोलस काफेरोले नेपालको स्वास्थ्य सेवालाई अन्तर्राष्ट्रियस्तरको बनाउन महत्वपूर्ण भूमिकाका लागि अस्पताललाई अवार्ड प्रदान गरिएको बताए ।



Leave a Reply

Your email address will not be published.