व्यापारीको आग्रहपछि जोरपाटीका पसल बिहान-बेलुका खुल्ने
गोकर्णेश्वर नगरपालिका जोरपाटीका व्यापारीले बिहान र बेलुका गरी ६ घण्टा पसल खोल्न पाउने भएका छन्।
मंगलबार बिहान लकडाउनका कारण घरभाडा तिर्न समस्या भएको भन्दै जोरपाटीका व्यापारीले पसल खोलेपछि तनाव उत्पन्न भएको थियो। व्यापारी र प्रहरीबीच तनाव भएपछि नगरपालिकाले बिहान ४ घण्टा र बेलुका २ घण्टा सबै खाले पसल खोल्न पाउने निर्णय गरेको छ। योसँगै बुधबारदेखि पसलेहरूले ६ घण्टा पसल सञ्चालन गर्न पाउने भएका हुन्।
‘व्यापारीले लकडाउनको समय लम्बिँदै गएपछि समस्या बढेको भन्दै आएकाले पसल खोलेका कारण केही समय व्यापारी र प्रहरीबीच विवाद भयो’, गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले भने, ‘अहिले विवाद मिलिसकेको छ, भोलिदेखि नियमको पालना गर्ने गरी पसल खोल्ने व्यवस्था गरेका छौं।’
अहिले प्रहरीले व्यापारीसँग छलफल गरी सम्पूर्ण पसलहरू बन्द गराएको उनले बताए। नियम कानुनको पालना गरी बिहान बेलुका पसल खोल्न दिने निर्णय गरिएको मेयरले जानकारी दिए।
आर्थिक समस्या परेको भन्दै व्यापारीहरू आन्दोलित बनेपछि बिहान ६ देखि १० बजेसम्म ४ घण्टा र बेलुका ५ देखि ७ बजेसम्म २ घण्टा पसल खोलन दिने निर्णय गरिएको उनले बताए। व्यापारीले लकडाउनका लागि जारी भएका नियम कानुनको अधिनमा रही काम गर्ने सहमति गरेपछि उक्त निश्चित समयमा पसल खोल्न दिने निर्णय गरिएको हो।