बाँके दुर्घटनाका मृतक र घाइतेको स्वाब परीक्षण गरिँदै, दुर्घटनामा १२ को मृत्यु, २१ घाइते
पूर्व–पश्चिम राजमार्गअन्र्तगत बाँकेको राप्ती सोनारीमा भारतबाट आएका नेपाली नागरिक चढेको गाडी आइतबार राति दुर्घटना हुँदा १२ को मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्।
दुर्घटनामा परेका भारतबाट आएका नेपाली भएकाले सबैको स्वाब परीक्षण गरिने भेरी अस्पताल नेपालगन्जले जनाएको छ। कोरोना रहे नरहेको पत्ता लगाउन स्वाब परीक्षण गर्न लागिएको हो। अस्पतालले उनीहरूको स्वाब लिने काम गरिरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले बताए।
भारतबाट फर्केका नेपालीलाई लिएर नेपालगन्जबाट सल्यान जाँदै गरेको फोर्ड गाडी पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी–२ ठोरी जंगलमा दुर्घटना भएको हो। त्यसमा १२ जनाको ज्यान गएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए।
गाडी दुर्घटना हुँदा ११ को घटनास्थल र १ जनाको उपचारका क्रममा भेरी अस्पतालमा ज्यान गएको प्रजिअ कुरुम्वाङले बताए। २१ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
भारतबाट आएकालाई लिएर नेपालगन्जबाट सल्यान जाँदै गरेको ना५ख ५९९५ नम्बरको हाइस गाडी राति १२ बजेतिर रोकिराखेको बा४ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएको प्रहरीले जनाएको छ। हाइसले क्षमताभन्दा बढी यात्रु बोकेको थियो।
दुर्घटनामा घाइते २१ जनाको भेरी अस्पताल नेपालगन्जमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले बताए। दुर्घटनामा ज्यान गुमाएका १२ जनाको शव भेरी अस्पतालमा राखिएको छ।
गाडीमा सल्यानसहित विभिन्न जिल्लाका नागरिक रहेको जनाइएको छ। दुर्घटनामा ज्यान गएकाको नाम र ठेगाना संकलन गर्ने प्रयास भइरहेको छ। गाडी धनी आएपछि मात्रै दुर्घटनामा ज्यान गुमाउनेको परिचय खुल्नसक्ने बाँकेका प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले बताए।