बर्दघाट नगरले ल्यायो ४ एम्बुलेन्स, सञ्चालन जिम्मा वडाध्यक्षहरूलाई
बर्दघाट नगरपालिका नवलपरासी पश्चिमले बिरामीको सुविधाका लागि एम्बुलेन्स सेवा सुरू गरेको छ । नगरवासीको स्वास्थ्यलाई मध्यनजर गरी नगरपालिकाले चारवटा एम्बुलेन्समार्फत सेवाप्रवाहको थालनी गरेको बर्दघाट नगरपालिकाका प्रमुख धीरज शर्मा बस्यालले बताए ।
नगरपालिकाका सबै वडालाई पायक पर्ने गरी एम्बुलेन्स सेवाको व्यवस्थापन गरिएको नगरप्रमुख शर्माले बताए । चारवटा एम्बुलेन्स खरिद गरी सञ्चालन गर्ने निर्णय गतवर्षको नगरसभाले गरेको थियो ।
साबिकको चारवटा गाविसलाई केन्द्रविन्दु बनाई एम्बुलेन्स सुरु गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी गिरीले जानकारी दिए । उनका अनुसार सम्बन्धित वडाका वडाध्यक्ष एम्बुलेन्स सञ्चालन तथा व्यवस्थापन समितिको संयोजक रहनेछन् भने त्यहाँ रहेको हस्पिटल वा स्वास्थ्यचौकी ती एम्बुलेन्सका स्टेसन हुनेछन् ।
साबिकको माकर गाविसको चिसापानी हस्पिटलमा एउटा एम्बुलेन्स रहने र उक्त एम्बुलेन्सको व्यवस्थापनको संयोजन जिम्मा वडा नं. २ का वडाध्यक्षलाई हुनेछ । पञ्चनगर गाविसको भुताहामा रहेको स्वास्थ्यचौकीमा रहने अर्को एम्बुलेन्सको जिम्मेवारी ९ नम्बर वडाका वडाध्यक्षको हुनेछ । वडा नं. १३ मा पर्ने साबिकको जहदा गाविसको स्वास्थ्यचौकीमा अर्को एम्बुलेन्स रहनेछ । साबिकको दाउन्नेदेवी गाविसको स्वास्थ्यचौकीमा पर्ने एम्बुलेन्स सञ्चालनको जिम्मा वडा नं १४ का वडाध्यक्षको छ । ती समितिले एम्बुलेन्स सञ्चालनको व्यवस्थापनका साथै आय–व्ययसमेत राख्नेछन् । एम्बुलेन्स प्रयोग गरेबापत प्रतिकिलोमिटर ४० रूपैयाँ दररेट राखिएको छ । त्यसमा नगरपालिकाभित्रका स्थायी बासिन्दा भए २५ प्रतिशत छुट दिने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाको जनस्वास्थ्य सेवा प्रमुख कृष्णहरि पौडेलका अनुसार बर्दघाट नगरपालिकाभित्र १५ बेडको चिसापानी अस्पताल, अर्को १५ बेडको सहिदस्मृति सामुदायिक अस्पताल, ४ वटा स्वास्थ्यचौकी, एउटा सहरी स्वास्थ्यकेन्द्र र एउटा सामुदायिक स्वास्थ्य एकाइ छन् ।
साबिकको माकर, पञ्चनगर, दाउन्नेदेवी, जहदा गाविसका साथै धुरकोट र जमुनिया गाविसका दुई–दुईवटा वडालाई एकीकृत गरी बर्दघाट नगरपालिका बनेको थियो । १६ वडा रहेको बर्दघाट नगरपालिकामा १२ हजार ७८ घरधुरी र ६१ हजार ४ सय ७२ जनसंख्या छ । पूर्व–पश्चिम राजमार्गको १६ किलोमिटर क्षेत्र यसै नगरपालिका क्षेत्रमा पर्दछ ।