लोकप्रिय हुँदै क्षारसूत्र उपचार विधि

हेल्थपोस्ट नेपाल

के हो क्षारसूत्र विधि ?
‘क्षारसूत्र’ शब्द ‘क्षार’ र ‘सूत्र’ दुईवटा शब्द मिलेर बनेको छ, जसमा क्षार भनेको अल्काली हो भने सूत्र भनेको धागो हो । अपामार्ग, अर्क आदिलाई जलाएर बनाइएको खरानीलाई पानीमा उमालेर विशेष प्रकारले क्षारको निर्माण गरिन्छ । यही क्षारलाई प्रयोग गरेर सिउँडीको चोप लगाई बनाइएको विशेष प्रकारको धागोलाई क्षारसूत्र भनिन्छ । यसले नरम किसिमको मासुलाई काट्ने गर्दछ । यही धागोको प्रयोगबाट गरिने उपचार विधिलाई नै क्षारसूत्र विधि भनिन्छ । पाइल्स, फिस्टुलाका साथै पुराना घाउहरूमा पनि यसको प्रयोग गरिन्छ ।

पाइल्स :
यो यस्तो रोग हो जसमा दिसा गर्न गाह्रो हुने, दिसा गर्दा रगत आउने, मासुको डल्ला बाहिर निस्कने आदि हुन्छ । विशेषगरी, कार्यव्यस्तताका साथै विभिन्न कारणले दिसा लामो समयसम्म रोक्ने, लामो समयसम्म दिसा बस्ने तथा दिसा कब्जियत हुने कारणले गर्दा नै यो रोग लाग्ने सम्भावना बढी हुन्छ । बुझ्दा सामान्य रूपमा बुझिने पाइल्सका चार चरण हुन्छन्:

पाइल्स भएका बिरामीले दिसा सजिलै खुलाउनेखालका खानेकुरा खाने, दिसा रोकेर नबस्ने, गरम मसला, मरिच र पिरो खानेकुरा नखाने, माछामासु कम खाने, हरियो सागपात, फलफूल दैनिकजसो खाने, दिनमा ३ देखि ५ लिटरसम्म पानी पिउने गर्नु लाभदायक हुन्छ ।

 प्रथम चरण :
यस अवस्थामा दिसा गर्दा मासुको डल्ला बाहिर आउँदैन तर रगत बग्ने र दुखाइ भने हुने गर्दछ । यस अवस्थामा रहेको पाइल्सलाई औषधिद्वारा निको पार्न सकिन्छ ।

द्वितीय चरण :
यो अवस्थामा दिसा गर्दा मासुको डल्ला बाहिर आउँछ र दिसा गरिसकेपछि आफैँ भित्र जान्छ । यसका साथै दुख्ने अनि रगत आउनेसमेत हुन्छ । यो अवस्थासम्म पनि लामो समयसम्म औषधि सेवन गरी निको पार्न सकिन्छ ।

तृतीय चरण:
यस चरणमा दिसा गर्दा मासुको डल्ला बाहिर आउँछ र आफैँ भित्र नगई औँलाले धकेलेर भित्र पठाउनुपर्ने हुन्छ । यसका साथै बढी मात्रामा दुख्ने अनि रगत बग्ने हुन्छ । यस अवस्थासम्म आइपुगेको पाइल्स औषधिले निको नहुने भएकाले क्षारसूत्र विधिबाट नै उपचार गर्नुपर्ने हुन्छ ।

चतुर्थ चरण:
यस चरणमा मासुको डल्ला बाहिर नै बसिरहन्छ साथै अत्यधिक दुखाइ र रगत बग्ने हुन्छ । समयमै उपचार नगर्दा मासुको डल्ला कुहिन थाल्दछ र संक्रमण सम्पूर्ण शरीरमा फैलिएर मान्छेको मृत्यु पनि हुन्छ ।
यो रोग १ देखि २ प्रतिशतसम्म क्यान्सरमा परिणत हुने गरेको पाइएको छ भने यो रोगको अप्रेसन गरेका बिरामीमा ३० देखि ४० प्रतिशतसम्म दोहोरिएको पाइएको छ । तर, क्षारसूत्र विधिबाट उपचार गरेका बिरामीमा भने १ प्रतिशतभन्दा पनि कममा मात्र दोहोरिने देखिएको छ । समयमै उपचार गरेमा यो रोगबाट सजिलै मुक्त हुन सकिन्छ ।

यो रोग औषधिले निको हुँदैन । यसलाई क्षारसूत्र विधिबाट उपचार गर्दा दोहोरिने सम्भावना रहँदैन र अरू जटिलता पनि आउँदैन । यो रोगका लागि सर्वाधिक गरिँदै आएको अप्रेसनमा १५ देखि १८ प्रतिशतमा दोहोरिने तथा दिसा रोक्न नसक्ने, दिसा खुस्कने समस्या देखिएको पाइन्छ ।

रोग लागेपछि के–केमा ध्यान दिने ?
पाइल्स भएका बिरामीले दिसा सजिलै खुलाउनेखालका खानेकुरा खाने, दिसा रोकेर नबस्ने, गरम मसला, मरिच र पिरो खानेकुरा नखाने, माछामासु कम खाने, हरियो सागपात, फलफूल दैनिकजसो खाने, दिनमा ३ देखि ५ लिटरसम्म पानी पिउने गर्नु लाभदायक हुन्छ ।
पाइल्स रोगले सानो–ठूलो, धनी–गरिब भन्दैन । नेपोलियन बोनापार्ट र जिम्मी कार्टरजस्ता व्यक्तिलाई पनि यो रोगले सताएको थियो भन्ने पाइन्छ । त्यसैले खानपानमा बढी ध्यान दिने गरौँ, रोग लागिहालेमा समयमै उपचार गरौँ ।

भगन्दर (Fistula in Ano)
(फिस्टुला) :
फिस्टुला दिसा गर्ने ठाउँवरिपरि बन्ने सानो प्वाल भएको खटिरा हो । जब उक्त प्वालको भित्रपट्टि पाक्दछ र पहेँलो अथवा रगत मिसिएको पिप बन्न थाल्दछ तब दुखाइ कम हुँदै जान्छ । अन्यथा टन्कने र दुखिरहने हुन्छ ।

रोगको अवस्था के छ ?
नेपालमा यो रोगको अनुसन्धान भएको पाइँदैन । छिमेकी देश भारत र हाम्रो देशको रहन–सहन र खानपान एकैखालको भएकाले भारतमा गरिएको अनुसन्धानलाई आधार मानेर हेर्दा यो रोग एक लाख पुरुषमा १२.३ जना र एक लाख महिलामा ५.६ जनामा भएको पाइन्छ ।

कसरी लाग्छ ?
यो रोग दिसा गर्ने ठाउँको भित्रपट्टि हुने ग्रन्थिहरूमा संक्रमण भएका कारणले हुन्छ । त्यसैले भित्र भएको पिप एउटा बाटोबाट दिसा गर्ने ठाउँको भित्र खुल्दछ भने अर्काे बाटोबाट बाहिर खुल्दछ, यसलाई नै फिस्टुला भनिन्छ ।
लामो समयसम्म दिसा बस्नाले, लामो समयसम्म पखाला लागिरहनाले, दिसा कब्जियत हुनाले, दिसा गर्ने ठाउँवरपरको रौँ तानिएर दिसा गर्ने ठाउँको भित्र रहेका ग्रन्थिहरूमा संक्रमण भएका कारणले यो रोग लाग्छ । यो सामान्य रूपमा एक व्यक्तिमा एउटा हुने तर कसैकसैमा धेरै पनि हुने गरेको पाइन्छ । मानिसको दिसा गर्ने ठाउँको भित्रपट्टि ८ वटा ग्रन्थि हुन्छन्, जसको संक्रमण एकैपटक भयो भने ८ वटै फिस्टुला पनि आउन सक्छन् ।

जटिलताका अवस्था : 
– ठूलो आन्द्राको रोग भएमा
– ठूलो आन्द्राको क्यान्सर भई पहिला नै रेडियोथेरापी लिएको अवस्थामा
– क्षयरोग लागेको अवस्थामा
– एचआइभी भएको अवस्थामा

कसरी थाहा पाउने ?
दिसा गर्ने ठाउँवरपर वा नजिकमा खटिरा आउँछ र अत्यन्त दुखाइ हुनुका साथै केही समयपछि खटिरा पाकेर गन्हाउने, पिप बग्ने हुन थाल्छ । पिप बगेपछि सञ्चो भएजस्तो त हुन्छ तर केही समयपछि फेरि पाक्ने र दुखाइ हुने निरन्तर भइरहन्छ । पछि पुरानो भएपछि पुरै भाग सुन्निएर आउँछ ।

रोग लागेमा के गर्ने ?
यो रोग लागिसकेपछि अरू रोगसँग अलग गर्न परीक्षण गर्नुपर्ने हुन्छ । यसका लागि सामान्य रूपमा हेरेर तथा प्रोटोस्कोपबाट हेरेर पनि केही कुरा थाहा पाउन सकिन्छ । यसको उपचारका लागि भित्रपट्टि कति माथि अर्काे प्वाल खुलेको छ भन्ने थाहा पाउनु जरुरी हुन्छ । कहिलेकाहीँ प्रोटोस्कोपबाट हेर्दै बाहिरको प्वालबाट औषधि पठाउँदा पनि भित्रको प्वाल देखिएन भने फिस्टुलोग्राम गर्नुपर्छ । कहिलेकाहीँ धेरै फिस्टुला भएको व्यक्तिमा क्षयरोग तथा क्यान्सर छ कि भनेर मासु काटेर बायोप्सी पनि गर्नुपर्ने हुन सक्छ ।
यो रोग औषधिले निको हुँदैन । यसलाई क्षारसूत्र विधिबाट उपचार गर्दा दोहोरिने सम्भावना रहँदैन र अरू जटिलता पनि आउँदैन । यो रोगका लागि सर्वाधिक गरिँदै आएको अप्रेसनमा १५ देखि १८ प्रतिशतमा दोहोरिने तथा दिसा रोक्न नसक्ने, दिसा खुस्कने समस्या देखिएको पाइन्छ । तर, क्षारसूत्रबाट उपचार गर्दा अहिलेसम्म त्यस्ता समस्या देखिएका छैनन् । यदि यो रोगको समयमै उपचार गरिएन भने क्यान्सर भई ज्यानकै खतरा पनि हुन सक्छ ।

कसरी बच्ने :
– दिसा कब्जियत हुन नदिने
– कनेर दिसा नगर्ने तथा लामो समयसम्म दिसा नबस्ने
– सरसफाइमा ध्यान दिने
– मसालेदार खानेकुरा तथा खुर्सानी, अदुवा, गरममसला, दूधचिया र कफी कम खाने, हरियो सागपात तथा फलफूल आवश्यक मात्रामा खाने
– शरीरलाई चाहिने मात्रामा पानी पिउने ।

फिसर :
सामान्य भाषामा धाँजा फाट्ने वा चिरिने समस्यालाई फिसर भनिन्छ । यो समस्या दिसा गर्ने ठाउँको आसपासमा भएमा यसलाई फिसर इन एनो (Fissure in Ano) भनिन्छ । त्यसैले दिसा गर्ने ठाउँमा बन्ने घाउ जुन बढी पीडादायक हुन्छ, त्यसलाई नै फिसर भनिन्छ ।

कसरी लाग्छ ?
दिसा कब्जियत नै फिसरको प्रमुख कारण हो । लामो समयसम्म दिसा रोकेर बस्ने अनि एकैपटक साह्रो दिसा गर्नाले यो रोग लाग्छ । पानीको कमी, खानामा सागपातको कमी, धेरै मात्रामा माछामासु तथा गेडागुडी सेवन गर्नाले पनि दिसा कब्जियत हुन गई यो रोग लाग्छ ।

रोग लाग्दा के हुन्छ ?
यो रोग लागेपछि दिसा गर्ने ठाउँमा घाउ बन्दछ जसबाट रगत बग्ने समस्या हुन्छ र दिसा गर्दा अत्यधिक पीडा हुन्छ भने केही समयपछि घाउको नजिकबाट सानो मासु पलाउने पनि हुन जान्छ ।

कसरी बच्ने ?
यो रोगबाट बच्न दिसा कब्जियत हुन दिनुहुँदैन । जसका लागि–
– नियमित हल्का व्यायाम गर्ने ।
– हरियो सागपात तथा पहेँला फलफूल प्रशस्त मात्रामा खाने ।
– प्रशस्त मात्रामा पानी पिउने ।

रोग लागेमा के गर्ने ?
– नरमखालका खानेकुरा खाने ।
– हरियो सागपात बढी मात्रामा खाने, पानी प्रशस्त पिउने गर्नुपर्छ ।
– दिसा पातलो गर्नेखालका औषधि आवश्यकताअनुसार सेवन गर्ने ।
– घाउ छिटो निको पार्नका लागि मलम लगाउने ।
– दुखाइ भएमा दिसा गर्नुअघि वा गरिसकेपछि आवश्यकताअनुसार मनतातो पानीमा दिसा गर्ने ठाउँ डुबाएर बस्ने ।
– यदि घाउनजिक मासु पलाएको छ भने त्यसलाई क्षारसूत्र विधिबाट हटाउन सकिन्छ ।



Leave a Reply

Your email address will not be published.