होटललाई क्वारेन्टाइन बनाउन होटल संघ तयार, पर्यटन विभागलाई बुझायो प्रतिवेदन

हेल्थपोस्ट नेपाल
हाेटल संघका केन्द्रीय पदाधिकारीहरू। फाइल फाेटाे

होटलहरूलाई आवश्यकताअनुसार क्वारेन्टाइनको रुपमा प्रयोग गर्नेबारे होटल संघ नेपालको प्रतिनिधिमण्डलले पर्यटन विभागका महानिर्देशकसँग विस्तृत छलफल गरेको छ। साथै यस सम्बन्धमा संघले तयार पारेको विस्तृत विवरणसहितको प्रतिवेदन बुझाएको छ।

अध्यक्ष सिर्जना राणाको नेतृत्वमा गएको संघको प्रतिनिधिमण्डलले कोभिड–१९ बाट सिर्जित राष्ट्रिय संकटलाई प्रत्यक्ष रुपमा न्यूनिकरण गर्न गराउन सघाउ पुर्‍याउन संघले यो कदम चालेको हो।

विदेशमा अलपत्र रहेका नेपाली नागरिकहरुलाई स्वदेश फिर्ता गराउने क्रममा सरकारले होटलहरूलाई क्वारेन्टाइनको रुपमा उपयोग गर्ने निर्णय गरेमा संघसँग आबद्ध सदस्य होटलहरुबाट आवश्यक सहयोग जुटाउन राज्यसँगको समन्वयमा पहल गर्ने अध्यक्ष राणाले बताइन्।

स्वाथ्यकर्मी तथा अग्रपंक्तिमा रहेका कोरोना संक्रमणविरुद्ध खटिएका व्यक्तिहरुलाई समेत आवश्यकताअनुसार गर्न सकिने क्वारेन्टाइनको व्यवस्थाबारे पनि सो विवरणपत्रमा उल्लेख गरिएको छ।

खासगरी क्वारेन्टाइनको रुपमा होटलहरु उपयोग गरिँदा बस्ने पाहुनाहरुको चेकइन पूर्व नै निर्धारित उपयुक्त स्वास्थ्य चेकजाँच गरी संक्रमण नभएको यकिन हुने प्रमाण हुनुपर्ने संघले उल्लेख गरेको छ।

प्रत्येक दिन पटक पटक स्वास्थ्य जाँच हुनुका अतिरिक्त नेपाल सरकारले होटल सञ्चालनका लागि कानूनी अनिवार्य सर्तका रुपमा तोकिएको अन्तर्राष्ट्रियस्तरका मापदण्डहरुको कुनै क्षति नहुने, कामदार कर्मचारी तथा छिमेकका स्थानीय समुदायसमेत कोरोना संक्रमणबाट पूर्ण रुपमा बचाउन सरकारबाट खटाइने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको रोहबरमा होटल सञ्चालन हुनुपर्ने पनि विवरणपत्रमा स्पष्ट उल्लेख गरिएको छ।

क्वारेन्टाइन अवधिभरि उपलब्ध गराइने तोकिएको चार छाक पौष्टिक स्वास्थवर्द्धक आहार, आवश्यक पर्ने सबैखाले आधारभूत सेवासुविधा, सञ्चार, पानी, बिजुलीलगायतका कामदार कर्मचारीको पारिश्रमिक, सेवा शुल्क, कर दस्तुर सबै खर्चहरु नेपाल सरकारको वर्गीकरण अनुसार पर्यटकस्तरीयदेखि पाँच तारे होटलहरुमा लाग्ने अनुमानित खर्चहरुको शीर्षकअनुसार न्यून्तम आधारको रुपमा सबै सदस्य होटलहरुको जानकारी तथा प्रत्येक प्रतिष्ठानस्तरको सञ्चालन निर्णयका लागि सिफारिस गरिएको पनि विवरणपत्रमा उल्लेख गरिएको छ।

पछिल्लो २ महिनाभन्दा बढी अवधिदेखि बन्द होटल प्रतिष्ठानहरुमा कर्मचारीको उपलब्धता र भौतिक संरचना–उपकरणहरुको सञ्चालनलाई ध्यानमा राखेर क्वारेन्टाइनको रुपमा होटल सञ्चालन गर्ने नगर्ने निर्णय प्रत्येक सदस्य प्रतिष्ठानहरुले लिन सक्ने अध्यक्ष राणाले बताएकी छिन्।

साथै क्वारेन्टाइनको रुपमा सञ्चालन गर्न सकिने होटल प्रतिष्ठानहरुमा उपयुक्त स्वास्थ्य संरक्षण गर्ने विधि तथा व्यवस्था लगायत उपलब्ध पूर्वाधार, सेवा, सुविधा सरकारले तोकेको मापदण्ड पूरा गरी सरकारी नियमनकारी आधिकारिक निकायमा दर्ता भए नभएको पनि अद्यावधिक हुनुपर्ने पनि होटल संघ नेपालको विवरणपत्रमा उल्लेख छ।

यसरी होटललाई क्वारेन्टाइनको रुपमा उपयोग गरी सञ्चालन गर्ने क्रममा व्यवस्थापन तथा समन्वयका लागि होटल संघ नेपालका प्रतिनिधिसमेत रहने गरी सम्बन्धित सरकारी निकाय संलग्न समिति गठन हुनुपर्ने आवश्यकतामाथि पनि संघले जोड दिएको छ।

विषम परिस्थितिमा होटल उद्योग पहिलो र गहिरो मारबाट गुज्रिरहेको हालको अवस्थामा उद्योगधन्दा जीवित राख्नका लागि नै नेपाल सरकारको आगामी बजेटमार्फत उपयुक्त नीति तथा आर्थिक राहतका कार्यक्रमहरू अपेक्षा गरिएको तर्फ इंगित गर्दै होटल संघ नेपालले होटल सञ्चालनका लागि उपयुक्त वातावरण बन्न नसके आगामी ६ महिना कानुनी रुपमा नै बन्द गर्ने निर्णय गरेको पनि उल्लेख गरेको छ।

बजेटमार्फत होटल संघ नेपालले मूलरुपमा रोजगारी संरक्षणकोषको स्थापना, बैंकको ऋण तिर्ने म्याद पुनसंरचना गरी तीन वर्षपछि सार्ने, व्याजदर घटाउने, घरभाडा लगायतका खर्च धान्न सस्तो व्याजदरमा सञ्चालन ऋणका साथै बजेटमार्फत २०३० सम्म पर्यटन सुदृढीकरण दशक घोषणा गरी उपयुक्त पूर्वाधार र विकासका कार्यक्रम सञ्चालन हुनुपर्ने माग होटल संघ नेपालले गरेको छ।

पर्यटन बिदाका कार्यक्रम घोषणा गरेर बजेटले आन्तरिक पर्यटनको उपयुक्त विकासमा जोड दिनसक्ने पनि संघले प्रष्ट पारेको छ। होटल संघ नेपालको देशैभरि छरिएका रहेका साथै सातै प्रदेशमा रहेका १५ क्षेत्रीय संघहरू अन्तर्गत ३ हजार ५ सय होटलहरु सदस्य रहेका छन्।



Leave a Reply

Your email address will not be published.