के हो सुरक्षित गर्भपतन

हेल्थपोस्ट नेपाल

महिलाको मन्जुरीमा कानुनले मान्यता दिएअनुसार सूचीकृत स्वास्थ्यकर्मी वा नर्सद्वारा सूचीकृत स्वास्थ्यसंस्थामा गरिने गर्भपतनलाई सुरक्षित गर्भपतन भनिन्छ । सुरक्षित गर्भपतन गर्ने प्रमुख २ तरिका छन् :

१. औषधिको प्रयोगद्वारा–
९ हप्तासम्मको गर्भलाई औषधिको प्रयोगबाट सुरक्षित पतन गर्न सकिन्छ ।

२. उपकरणको प्रयोगद्वारा–
१२ हप्तासम्मको गर्भलाई साधारण उपकरणको प्रयोगद्वारा सुरक्षित रूपमा पतन गर्न सकिन्छ ।

प्रश्न– सुरक्षित गर्भपतनका लागि कुन विधि बढी प्रभावकारी छ ?
सुरक्षित गर्भपतनका लागि औषधिको प्रयोग र सर्जिकल (उपकरणको प्रयोग) दुवै विधि प्रभावकारी छन् । महिलाले आफ्नो इच्छाअनुसार विधि छनोट गर्न सक्छन् ।

उपकरणको प्रयोगद्वारा गरिने गर्भपतन–
उपकरणको प्रयोगद्वारा गरिने सुरक्षित गर्भपतन अर्थात् पाठेघरमा रहेको भ्रूणको साधारण प्रक्रियाको माध्यमबाट पाठेघर सफा गरी भ्रूणलाई बाहिर निकाली गर्भपतन गर्ने विधि हो । सर्जिकल गर्भपतन १२ हप्तासम्मको गर्भलाई साधारण उपकरणको प्रयोगद्वारा सुरक्षित रूपमा गर्न सकिन्छ ।
उपकरणको प्रयोगद्वारा गरिने सुरक्षित गर्भपतन सेवा नेपाल सरकारले मान्यता दिएको स्वास्थ्यसंस्थामा सुरक्षित गर्भपतन सेृवा प्रदान गर्न नेपाल सरकारबाट अनुमति पाएका अर्थात् सूचीकृत दक्ष स्वास्थ्यकर्मीद्वारा मात्र गराइन्छ ।

प्रश्न–१. के उपकरणको प्रयोगद्वारा गरिने गर्भपतनमा पीडा हुन्छ ?
गर्भपतनको यो विधि ५ देखि ७ मिनेटको हुन्छ, जसमा महिलाले हल्का दुखाइ महसुस गर्छन् ।

प्रश्न–२. के उपकरणको प्रयोगद्वारा गरिने गर्भपतनले महिलाको प्रजनन क्षमतामा कुनै असर गर्छ ?
यसले महिलाको प्रजनन क्षमतामा कुनै असर गर्दैन । यस विधिको प्रयोगपश्चात् २ देखि ३ हप्तामै प्रायः महिलामा डिम्ब निष्कासन प्रक्रिया सुरु हुन्छ । गर्भपतन गराएको केही हप्तामै गर्भ रहन सक्छ ।

प्रश्न–३. उपकरणको प्रयोगद्वारा गरिने गर्भपतन गराएको कति समयमा महिनावारी सुरु हुन्छ ?
महिलामा उपकरणको प्रयोगद्वारा गर्भपतन गराएको १ हप्तासम्म योनिमा केही हाल्न मनाही गरिएको हुन्छ । तसर्थ, त्यो समयावधिमा यौनसम्पर्क नराख्न सुझाब दिने गरिन्छ । तर, अरू यौनक्रियाबाट भने महिलाले आनन्द दिन सक्छन् ।

प्रश्न–४. उपकरणको प्रयोगद्वारा गर्भपतन गराएको कति समयपछि परिवारनियोजनका साधनको प्रयोग गर्नुपर्छ ?
यस विधिको प्रयोगपश्चात् २ देखि ३ हप्तामै प्रायः महिलामा डिम्ब निष्कासन प्रक्रिया सुरु हुने भएकाले गर्भपतन गराएको केही हप्तामै गर्भ रहन सक्छ । त्यसैले जतिसक्दो चाँडो परिवारनियोजनका साधनको प्रयोग गर्नु उचित हुन्छ ।

औषधिको प्रयोगद्वारा गरिने गर्भपतन–
यस विधिमा तालिमप्राप्त दक्ष स्वास्थ्यकर्मीद्वारा भरपर्दाे र प्रमाणित औषधिद्वारा सुरक्षित रूपमा गर्भपतन गराइन्छ । यस विधिद्वारा ९ हप्ताभित्रको गर्भलाई मात्र सुरक्षित रूपमा पतन गर्न सकिन्छ ।

प्रश्न–१. के औषधिको प्रयोगद्वारा गरिने गर्भपतन सुरक्षित हुन्छ ?
यो महिलाका लागि सुरक्षित छ । औषधिको प्रयोगद्वारा गरिने गर्भपतन यदि ९ हप्ताभित्रको गर्भमा प्रयोग गरेमा ९८.५ प्रतिशत प्रभावकारी छ ।

प्रश्न–२. के औषधिको प्रयोगद्वारा गरिने गर्भपतनले महिलाको प्रजनन क्षमतामा कुनै असर गर्छ ?
यसले महिलाको प्रजनन क्षमतामा कुनै पनि असर गर्दैन । यस विधिको प्रयोगपश्चात् २ देखि ३ हप्तामै प्रायः महिलामा डिम्ब निष्काशन सुरु हुन्छ । उनीहरू गर्भपतन गराएको केही सातामै गर्भवती हुन सक्छन् ।

प्रश्न–३. औषधिको प्रयोगद्वारा गर्भपतन गराएको कति समयमा महिनावारी प्रक्रिया सुरु हुन्छ ?
यस विधिको प्रयोगले २ देखि ३ हप्तामै प्रायः महिलामा डिम्ब निष्काशन प्रक्रिया सुरु हुन्छ । तसर्थ सामान्यतया ४ देखि ५ हप्तामा महिनावारीको प्रक्रिया सुरु हुने गर्छ ।

प्रश्न–४. औषधिको प्रयोगद्वारा गर्भपतन गराएको कति समयपश्चात् यौनसम्पर्क राख्न मिल्छ ?
महिलाले औषधिको प्रयोगद्वारा गर्भपतन गराएको १ हप्तासम्म यौनसम्पर्क नराख्न सल्लाह दिने गरिन्छ ।

प्रश्न–५. औषधिको प्रयोगद्वारा गर्भपतन गराएको कति समयपछि परिवारनियोजनका साधनको प्रयोग गर्नुपर्छ ?
यस विधिको प्रयोगको २ देखि ३ हप्तामै प्रायः महिलामा डिम्ब निष्काशनको प्रक्रिया सुरु हुने भएकाले गर्भपतन गराएको केही हप्तामै गर्भ रहन सक्छ । त्यसकारण जतिसक्दो चाँडो परिवारनियोजनका साधनको प्रयोग गर्नु उचित हुन्छ ।



One thought on “के हो सुरक्षित गर्भपतन

  1. hlo sir/madam
    nachahada nachahadai bachcha basna gyako sanka vya ko xa rw tesko laagi kun chai dabai khada garbha janxa plz suggestion dinu holaa

Leave a Reply

Your email address will not be published.