कोरोना संक्रमणबाट विश्वभर ११७ नेपालीको मृत्यु, कतारमा झन्डै ७ हजार संक्रमित

हेल्थपोस्ट नेपाल

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने नेपालीको संख्या १ सय १७ पुगेको छ।

गैरआवासीय नेपाली संघको कोभिड १९, उच्चस्तरीय समितिका अनुसार यो साता थप २१ जना नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन्।

संघका अनुसार यूएई ९, साउदी अरेबिया ५, बेलायत २, नेपाल २, अमेरिका १, कतार १ र कुवेतमा १ जना नेपालीको यो साता ज्यान गएको हो। संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी बेलायतमा ६५ जना गैरआवासीय नेपालीको मृत्यु भएको छ।

स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार संयुक्त अरब इमिरेट्स यूएईमा १८ नेपालीको निधन भएको छ।

अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १६ पुगेको छ। साउदीमा ७, नेपालमा ३, कतारमा १, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १, नेदरल्यान्डसमा १, बहराइनमा १, स्वीडेनमा १, कतारमा १ र कुवेतमा १ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ९५ पुरुष र १९ जना महिला रहेको स्वास्थ्य समिति संयोजक सापकोटाले बताए। त्यस्तै, ५० देखि ९० वर्ष उमेर समूहमा सबैभन्दा धेरै ५३ प्रतिशतको निधन भएको छ।

स्वास्थ्य समितिको तथ्यांकअनुसार २३ प्रतिशत ४० देखि ५० वर्ष उमेर समूहका छन्। ४० वर्षभन्दा कम उमेर समूहमा निधन हुने नेपालीको संख्या १६ प्रतिशत छ। बाँकी ८ प्रतिशतको उमेर समूह खुलेको छैन।

संयोजक डा. सापकोटाका अनुसार नेपालसहित विश्वभर १२ हजार ८ सय २१ गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित भएका छन्।

तीमध्ये मध्यपूर्वमा ७२, अमेरिकामा १३, युरोप १०, एशियामा ५, प्रतिशतमा संक्रमणमा देखिएको छ। अष्ट्रेलियामा १ प्रतिशतभन्दा कम संक्रमण देखिएको छ।

अफ्रिकी मुलुकमा रहेका नेपालीमा कोरोना संक्रमण नदेखिएको संघले जानकारी दिएको छ। संक्रमितमध्ये ४ हजारभन्दा बढी नेपाली कोरोना भाइरसबाट मुक्त भएको सापकोटाले जानकारी दिए।

अत्यधिक कोरोना प्रभावित देशमध्ये बेलायत र अमेरिकामा गत साताको तुलनामा यो साता संक्रमणको दर निकै कम हुँदै गएको र मध्यपूर्वका देशहरूमा बढ्दै गएको समितिको तथ्यांकले देखाएको छ।

स्वास्थ्य समितिका अनुसार कतारमा ६ हजार ९ सय ११, अमेरिकामा १ हजार ६ सय, बेलायतमा १ हजार २ सय ३०, साउदी अरबमा १ हजार ३ सय ६४, यूएईमा ५ सय, बहराइनमा ३ सय ११, कुवेतमा ८४, मलेसियामा ५५, पोर्चुगलमा ४२ जना संक्रमित छन्।

आयरल्यान्डमा २२, स्पेनमा १३, क्यानडामा १८, अष्ट्रेलियामा १२, माल्दिभ्समा १६, जापानमा १०, बेल्जियममा ६, स्वीटजरल्यान्डमा ५, जर्मनीमा ४, फिनल्यान्डमा ४, साइप्रसमा ३, न्युजिल्यान्डमा ३, माल्टामा २, हङकङमा २, पोल्यान्डमा २, रुसमा २, म्यानमारमा १, रोमानियामा १, र फ्रान्समा १ नेपालीलाई कोरोना संक्रमण भएको छ।

यो साता रुस, रोमानिया र भारतका नेपालीमा नयाँ संक्रमण देखिएको हो। चीनबाट सुरु भएको कोरोना भाइरसविरुद्ध लड्न गैरआवासीय नेपाली संघ एनआरएनएले अध्यक्ष कुमार पन्तको संयोजकत्वमा एक उच्चस्तरिय समिति गठन गरेको थियो।

संघले स्वास्थ्य, आर्थिक, विद्यार्थी, श्रमिक, महिला लगायतका उपसमितिको गठन गरी विश्वव्यापी रूपमा आफ्नो सञ्जाललाई कोरोना पीडितका लागि राहत वितरण गर्न परिचालन गरेको संघका महासचिव डा‌. हेमराज शर्माले जानकारी दिए।

शर्माका अनुसार कोरोना पीडितका लागि राहत वितरण गर्न ४९ देशमा २ दुई हजार १ हजारभन्दा बढी स्वयंसेवक खटाइएको छ।

संघले शनिबार साँझसम्म ४० हजारभन्दा बढी गैरआवासीय नेपालीलाई राहत वितरण गरिएको छ। ६२ हजारभन्दा बढीलाई परामर्शसेवा प्राप्त गरेका छन्।

संघले स्थापना गरेको कोरोना पीडित राहत कोषमा विभिन्न राष्ट्रिय समितिसहित ८ करोड रुपैयाँ संकलन गरेको संघका कोषाध्यक्ष महेश श्रेष्ठले जानकारी दिए।

संघले यसअघि १० देशका नेपालीलाई राहतको लागि आर्थिक सहयोग गरेकाे थियो।



Leave a Reply

Your email address will not be published.