नेपालमा कोरोना संक्रमित पहिलो नर्सको अनुभव- औषधी होइन, आत्मविश्वासले जितिन्छ
म घरमै बसिरहेको थिएँ। हस्पिटलमा स्वाब परीक्षणको रिपोर्ट आएछ। यो खबर म र मेरो परिवार चिन्ने पत्रकार दाजुहरूले थाहा पाउनुभएछ।
मेरो बुवालाई फोनमा सोध्नु भो, नानी कहाँ छिन् ?
नानीलाई कस्तो छ ? सञ्चै छ नि ?
नानीको स्वाबको रिपोर्ट त पोजेटिभ आएछ नि।
नानीलाई कसरी संक्रमण देखिएछ ? आदि, इत्यादि प्रश्न गरेर। बुवाले जानकारी पाएपछि मलाई भन्नुभयो, ‘छोरी तिम्रो रिपोर्ट त पोजेटिभ आएछ। तर नआत्तिऊ। त्यस्तो केही हुन्न।’
मलाई कोरोना देखिएको रिपोर्ट सुन्दा मलाई विश्वास नै लागेन। तर, सुनेपछि पुष्टि गर्नका लागि मैले हस्पिटलमा डाक्टर सरलाई फोन गरें। मैले त मेरो कोरोना जाँचको रिपोर्ट पोजेटिभ आएको सुनें? रिपोर्ट आएको हो र सर?
उताबाट सरको पनि जवाफ त्यही नै आयो। कोरोना फोकल पर्सनलाई सोध्दा पनि रिपोर्ट पोजेटिभ आएको थाहा पाएँपछि मैले रिपोर्टप्रति विश्वास गर्न बाध्य भएँ।
म क्वारेन्टाइनमा गएकी थिइनँ। मैले त्यस्तो खालको बिरामी पनि हस्पिटलमा हेरेकी थिइनँ। तर मेरो रिपोर्टमा कसरी कोरोना संक्रमण देखियो म अलमलमा परें।
तपाईलाई कोरोनाको संक्रमण कहाँबाट भएको शंका छ त ? भन्ने जिज्ञासामा नेपालमा पहिलो कोरोना संक्रमित नर्स आकृति शर्मा (नाम परिवर्तन) ले अगाडि भन्दै गइन्, म यो कुरामा आफैं अचम्मित छु। म संक्रमित राखेको क्वारेन्टाइनमा गएकी थिइनँ।
मैले त्यस्तो खालको बिरामी पनि हस्पिटलमा हेरेकी थिइनँ। तर मलाई कोरोना संक्रमण कसरी देखियो म नै अचम्मित छु।
मेरो रिपोर्टमा कोरोना संक्रमण देखिएपछि घरपरिवार र हस्पिटलका सबैको स्वाब संकलन गरी परीक्षण गरियो। कसैको पनि कोरोना संक्रमण पोजेटिभ देखिएन। मसँग सम्पर्क रहेको आशंकामा १ सय ११ जनाको स्वाब लिएर जाँच गरियो। त्यसमा पनि कसैको रिपोर्टमा पोजेटिभ नदेखिँदा म अहिले पनि कोरोना भाइरस कसरी सर्यो भन्नेमा अलमलमै छु।
बुवाले जानकारी पाएपछि मलाई भन्नुभयो, ‘छोरी तिम्रो रिपोर्ट त पोजेटिभ आएछ। तर नआत्तिऊ। त्यस्तो केही हुन्न।’
न त पहिले थियो। न त संक्रमण भएको रिपोर्ट आएपछि मलाई कोरोनाको कुनै पनि लक्षण देखिएन। मलाई कोरोनाको लक्षण देखिएको छैन । मेरो स्वास्थ्य स्थितिको हिसाबले कुनै समस्या पनि आएको छैन। आफूमा समस्या नभएको हँुदा कपिलवस्तु जिल्ला अस्पतालको आइसोलेसनमै रहेको छु।
लक्षण र समस्या देखिएको भए कोरोना विशेष अस्पतालमा उपचारका लागि लैजानुहुन्थ्यो होला। म पनि जानुपर्छ भन्थें होला तर त्यस्तो केही समस्या छैन। त्यसैले आफैंले काम गर्ने अस्पतालको आइसोलेसनमा बसिरहेकी छु।
मेरो पछिल्लो दोस्रो पटकको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको छ। जेठ १ र ४ गतेको रिपोर्ट नेगेटिभ आइसकेको छ। आज हस्पिटल बसेको १३/१४ दिन भयो। दुई पटकको रिपोर्ट पनि नेगेटिभ आएको हुँदा सम्भवत आज या भोलि डिस्चार्ज हुन्छु होला।
कोरोना भाइरसको संक्रमण हुँदैमा डराउनुपर्ने म देख्दिनँ। अझै कोरोनाको पोजेटिभ रिपोर्ट आएर कोरोनाको लक्षण देखिएन भने त झनै डराउनुपर्दैन। आत्मविश्वास बलियो बनाउनुपर्छ। सकारात्मक सोच्नुपर्छ आइसोलेसनमा आराम गरेर पनि यो रोगलाई जित्न सकिन्न भन्ने लागेको छ।
पटक पटक साबुनपानीले हात धुने अर्थात सफा रहनमा ध्यान पुर्याउनुपर्छ।
अस्पतालमा मैले कुनै पनि औषधीहरु नै खाइनँ। मैले त तातोपानी र प्रोटिनयुक्त खानेकुरा खाएरै कोरोनालाई जितें जस्तो लाग्छ । म यो अवस्थामा सबैलाई तातोपानी खान र प्रोटिनयुक्त खानेकुरा डाइट समावेश गर्न आग्रह गर्दछु।
हाम्रो शरीर बलियो अवस्थामा भयो भने कोरोना संक्रमण भए पनि त्यसलाई जित्न सकिन्छ। नेपालगन्जमा सात वर्षेकी बच्चीले समेत कोरोना जितेर घर फर्किसकेको अवस्था छ ।
(बुटवल प्रतिनिधि कृष्ण मल्लसँगको कुराकानीमा आधारित)