नगरवासीलाई आकस्मिक स्वास्थ्य सेवा दिन सकिएको छैन
यस क्षेत्रमा स्वास्थ्यसँग सम्बन्धित केकस्ता समस्या पाउनुभएको छ ?
सबैभन्दा पहिलो शंखरापुर नगरपालिकावासीमा सफा खानेपानीको समस्या छ । स्तरीय सडक विस्तार हुन नसक्दा नगरपालिकाका सम्पूर्ण वडामा स्वास्थ्य सेवा पुर्याउन सकिएको छैन । त्यसैले बालस्वास्थ्य कार्यक्रम, परिवारनियोजनका कार्यक्रम, खोप कार्यक्रम, मातृशिशु स्याहारसम्बन्धी विभिन्न कार्यक्रम नगरपालिकाका ९ मध्ये ३ वटा वडामा मात्रै पुर्याउन सकिएको छ ।
नगरपालिकाका सबै क्षेत्रमा स्तरीय स्वास्थ्य सेवा पुर्याउन नसक्नुका कारणहरू के–के हुन् ?
काठमाडौं भएर पनि २४ घण्टै सडक यातायातको पहुँच नहुनु नै यसको प्रमुख कारण हो । यातायातको असुविधाका कारण बिरामी स्वास्थ्यचौकीसम्म आइपुग्न नसक्नाले पनि नगरपालिकाका सबै वडामा स्वास्थ्य सुविधा पुर्याउन नसकिएको हो । एक निर्वाचन क्षेत्रमा एक पिएसी हुनुपर्ने सरकारी व्यवस्था भए पनि यो निर्वाचन क्षेत्रमा छैन । पिएसी नहुनाले समेत आकस्मिक सेवा दिन सकिएको छैन ।
नगरपालिकाको स्वास्थ्य सेवा कत्तिको प्रभावकारी भएको महसुस गर्नुभएको छ ?
हामीले शंखरापुर नगरपालिकामा चलाएको खोप कार्यक्रम अन्य कार्यक्रमभन्दा बढी प्रभावकारी भएको महसुस गरेका छौँ । यस नगरपालिकाका तीनवटा वडामा अझै स्वास्थ्यचौकी छैन । अन्य वडाका स्वास्थ्यचौकीबाट नै ती क्षेत्रमा समेत स्वास्थ्य सेवाको पहुँच पु¥याएका छौँ । आगामी एक–डेढ महिनाभित्रै ती क्षेत्रका स्वास्थ्य सेवामा सुधार गर्ने हाम्रो लक्ष्य छ ।
स्वास्थ्य क्षेत्रमा नगरवासीले गरेको अपेक्षा कत्तिको पुर्याउन सक्नुभएको छ जस्तो लाग्छ ?
डाक्टर अभावका कारण नगरवासीको अपेक्षाअनुरूपको सेवा पुर्याउन सकिएको छैन । अझै पनि पिएसी सुविधा नभएका कारण आकस्मिक स्वास्थ्य सेवा दिन सकिएको छैन ।
सरकारले १ भदौदेखि ल्याउने भनेको नयाँ ऐनले स्वास्थ्य क्षेत्रमा केही बाधा पुर्याउला ?
हाल कार्यान्वयनमा रहेको नियमसहित नयाँ नियम ल्याएमा त्यसले खासै प्रभाव पुर्याउलाजस्तो लाग्दैन । तर, पूर्ण रूपमा नयाँ नियम ल्याएमा त्यसले अवश्य स्वास्थ्य क्षेत्रमा प्रभाव पर्न जान्छ ।
शंखरापुर नगरपालिकाले यो वर्ष स्वास्थ्य क्षेत्रमा कति बजेट विनियोजन गरेको छ ?
औषधि खरिदसहित विभिन्न क्षेत्रमा गरी यस नगरपालिकाले यो वर्ष स्वास्थ्य क्षेत्रमा २० लाख रुपैयाँ विनियोजन गरेको छ । त्यसमा अपुग भएमा हेरफेर गर्न सक्ने व्यवस्था छ ।
तपाईंको कार्यकालमा शंखरापुर नगरपालिकामा स्वास्थ्य क्षेत्रका मुख्य अभियान हुन्छन् ?
हामीले स्थानीय क्षेत्रका आमा समूहहरू परिचालन गरेर सफा खानेपानीसम्बन्धी, मातृशिशु स्याहारका कुराहरूलगायत विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी स्थानीयलाई पूर्ण जागरुक बनाउन विशेष किसिमको अभियान चलाउने सोच बनाएका छौँ ।
स्वस्थ रहनका लागि के–के कुरामा ध्यान दिनुपर्ला ?
स्वस्थ्य भन्नाले शारीरिक, मानसिक तथा सामाजिक रूपमासबल भएको अवस्था भन्ने बुझ्नुपर्छ । स्वस्थ रहनका लागि विशेषगरी ध्यान दिने भनेको खानेकुरामा नै हो । हाम्रो स्वास्थ्य हामीले खाने चिजमा रासायनिक तत्वहरूको मिश्रण कत्तिको छ भन्ने कुरामा निर्भर हुन्छ । स्वच्छ खानेपानीको मात्र प्रयोग गर्ने, धूमपान तथा मद्यपानबाट टाढा रहेमा स्वस्थ बन्न सहयोग मिन्छ ।
स्वस्थ बन्नका लागि नगरवासीलाई के सुझाब दिनुहुन्छ ?
यस क्षेत्रमा स्वास्थ्यसम्बन्धी काम गर्ने संस्थाहरू एकदमै कम भएकाले पनि नगरवासीलाई स्वयम् सचेत रही स्वस्थ रहने उपायबारे विशेष ध्यान दिनुहोला भन्न चाहन्छु । सबैभन्दा पहिलो त खानेकुरामा विशेष ध्यान दिनका लागि नगरवासीमा मेरो अनुरोध छ । यसका साथसाथै खानेपानी, सरसफाइलगायत स्वास्थ्य क्षेत्रसँग जोडिएका विभिन्न पाटामा समेत ध्यान दिनका लागि नगरवासीलाई आग्रह गर्दछु ।