अस्पतालको बेडबाटै ओलीले डा. केसीलाई भने– अब चिकित्साशिक्षा विधेयक पारित गर्छु

हेल्थपोस्ट नेपाल
फाइल तस्बिर

त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिस एन्ड ट्रान्सप्लान्ट सेन्टरमा २ दिनदेखि उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालकै बेडबाट चिकित्साशिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीलाई संसद्को आगामी अधिवेशनबाट चिकित्साशिक्षा विधेयक पारित गर्ने वचन दिएका छन् ।

ओलीको स्वास्थ्यलाभको कामना गर्न बुधबार राति ९ बजे अस्पताल पुगेका डा. केसीलाई ओलीले आफू निको हुनासाथ बालुवाटार बोलाएर छलफल गर्नेसमेत वचन दिएका छन् ।

सुरुमै केसीले अभिवादन गर्दै ‘म अरू कुरा गर्न आएको होइन, तपाईंको स्वास्थ्यलाभको कामना गर्छु’ भनेका थिए । जवाफमा ओलीले ‘केहीबेर कुरा गरौँ न’ भन्दै आफ्नो उपचारको प्रसंग निकालेका थिए । ‘डाक्टरहरूको उपचारबाट म सन्तुष्ट छु,’ प्रधानमन्त्री ओलीले भने, ‘डा. दिव्या नेतृत्वको टिमले नै मलाई बचाइरहेको छ ।’ त्यसको जवाफमा केसीले समेत आफूलाई पनि पहिलो अनशनदेखि नै डा. दिव्याकै टिमले बचाएको जवाफ दिएका थिए ।

त्यसपछि दुईबीच ‘हाम्रा फिजिसियन एउटै रहेछन्’ भन्दै ठट्टा चलेको थियो । सोलगत्तै ओलीले गत अधिवेशनबाट चिकित्साशिक्षा विधेयक पारित गर्न नभ्याएकोमा दुखेसो गर्दै आगामी अधिवेशनबाट पारित गर्ने वचन दिएको भेटमा सँगै रहेका डा. केसीका सहयोगी डा. अभिषेक सिंहले हेल्थपोस्टलाई जानकारी दिए । तत्पश्चात् केसीले ‘अब धेरै कुरा नगरौँ, तपाईं आराम गर्नुहोस्’ भन्दै बिदा मागेका थिए ।

 



Leave a Reply

Your email address will not be published.