प्रदेश ५ मा कोरोना संक्रमितको स्वाब संकलन सुरु गर्ने ‘आँटिली’ कल्पना

हेल्थपोस्ट नेपाल

कोरोना भाइरस (कोभिड–१९) को शंकास्पद संक्रमित बिरामी देख्दा केही ठाउँमा स्वास्थ्यकर्मीहरू डराएर भागेको समाचार आइरहँदा बुटवलकी ल्याब टेक्निसियन कल्पना घिमिरेले भने पहिलो स्वाब लिइन्।

उनको यो आँटले अरु स्वास्थ्यकर्मीलाई पनि कोरोनाविरुद्धको काममा खटिन प्रेरित गर्यो। प्रदेश ५ को लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोनाको पहिलो शंकास्पद बिरामी जचाउन आएका थिए। ती युवालाई अस्पतालमा भर्ना गरियो। बुटवलदेखि केन्द्रसम्मका मिडियाले बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोनाका शंकास्पद बिरामी भर्ना भएको समाचार बाहिर ल्याए ।

त्यो अवस्थाबीच अस्पतालले प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई स्वाबको नमूना लिनका लागि खबर गर्यो। अस्पतालको यो खबरपछि कल्पना घिमिरेलाई अस्पताल पठाइयो। त्यतिबेला प्रदेश ५ मा स्वाबको नमूना लिने तालिमप्राप्त व्यक्ति तीनजना मात्रै थिए। एक जना नेपालगन्ज भएको हुँदा कल्पनाको साथमा तालिम लिएकी सिर्जना पोखरेल पनि गइन्। उनी अस्पताल पुग्दा साँझ परिसकेको थियो। सबै सामग्री साथमा नसकेको र ढिला भएका कारण भोलिपल्ट बिहानै स्वाब लिने गरी उनी फर्किइन्।

‘सुुरु सुरुमा आफैंमा डर थियो,’ कल्पनाले भनिन्, ‘अहिले त अरुलाई सिकाउन र सम्झाउनमै दिन बित्छ।’

भोलिपल्ट बिहानै पहिलो पटक स्वाब लिनुपर्ने छ। त्यो स्थितिमा एकातिर अघिल्लो रात उनका मनमा धेरै कुराहरू खेल्थ्यो। अर्कोतिर ती बिरामीको ट्राभल हिस्ट्री कोरोना संक्रमणका लागि त्यति नमिल्ने हुँदा मनमा खेलेका अनेकन तरंगलाई आफैंले थामथुम पारिन्।

बिहान ७ बजे नै कल्पना अस्पताल पुगिन्। उनले सँगै गएकी सिर्जना पोखरेलको सहयोगमा ती बिरामीको स्वाब लिइन्। उनलाई स्वाबको पूरै काम गर्न करिब ४५ मिनेट लाग्यो। पहिलो पटक स्वाब लिएको हुँदा अलि बढी समय लागेको कल्पनाले सुनाइन् ।

स्वाब लिएपछि पनि दिनभर उनको मनमा कुरा खेल्न छाडेन। यो क्रम स्वाब नमूनाको प्रयोगशाला रिपोर्ट नआउँदासम्म रहिरह्यो। पहिलो पटकको स्वाब कलेक्सन भएको हुँदा मनमा कुरा खेलिरह्यो । रिपोर्ट कतिखेर आउला ? रिपोर्ट के आउला ? भन्ने थुप्रै जिज्ञासाले उनलाई सताइरह्यो । मनमा धेरै कुरा खेलिरहेपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु काठमाडौंमा दुई पटकसम्म रिपोर्ट के आयो ? भनेर फोन गरेको कल्पना बताउँछिन्।

त्यसपछि भने केही दिनभित्रै लुम्बिनी प्रादेशिक अस्पतालमा चार जनाको स्वाब लिएको र अरु स्वाब लिँदा भने त्यसरी मनमा कुरा खेल्न छाडेको उनले सुनाइन् ।

‘सुुरु सुरुमा आफैंमा डर थियो,’ कल्पनाले भनिन्, ‘अहिले त अरुलाई सिकाउन र सम्झाउनमै दिन बित्छ।’

उनीसहित तालिम लिएका तीन व्यक्तिले प्रदेश ५ मा पटक–पटक स्वाबको नमूना संकलनका तालिम चलाइसकेका छन्। अहिले प्रदेश ५ मा स्वाब संकलन गर्ने जनशक्ति १०० भन्दा बढी पुगेको उनी बताउँछिन्।

कोरोनाको क्षेत्रमा काम गर्नमा अरु स्वास्थ्यकर्मीलाई के भन्नुहुन्छ त ? भन्ने जिज्ञासामा कल्पना भन्छिन्, ‘मुख्य कुरा त व्यक्तिगत सुरक्षासामग्रीको प्रयोगलाई नियमपूर्वक पालना गरौं, उच्च मनोबलसाथ काम गरौं भन्न चाहन्छु।

कोरोना नियन्त्रण र रोकथामको क्षेत्र नयाँ भएको हुँदा स्वास्थ्यकर्मीलाई पनि नौलो लाग्नु स्वाभाविक भएको कल्पनाको बुझाइ छ। मुख्य गरेर बिरामीलाई उपचार गर्ने कुरा त छँदैछ, आफू पनि कसरी संक्रमणबाट बच्ने भन्ने नै यसको चुनौती हो। त्यसैले पिपिई लगाउने विधि, त्यो लगाएर उपचार गर्ने र उपचारपछि त्यसलाई खोल्ने तरिका जान्न जरुरी भएको कल्पनाले बताइन् ।

लगाउनेभन्दा पनि काम गरिसकेपछि पिपिई खोल्दा निकै सतर्कता अपनाउनुपर्ने उनको सुझाव छ। आफूबाट तालिम लिनेहरूले पिपिईको प्रयोगका बारेमा पटक–पटक फोन गर्ने गरेको र त्यसका लागि सहजीकरण गराइरहेको उनले बताइन् ।

कल्पना २०६० सालमा पाल्पा जिल्ला अस्पतालबाट स्वास्थ्य सेवामा प्रवेश गरेकी हुन्। त्यसपछि नवलपरासी, अर्घाखाँची फेरि नवलपरासी हुँदै अहिले उनी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा ल्याब टेक्निसियन निरीक्षक भएर कार्य गरिरहेकी छन् । उनको आँटले अरु स्वास्थ्यकर्मीलाई समेत विश्व नै आतंकित बनाइरहेको कोरोनाविरुद्धको अभियानमा काम गर्न प्रेरित गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. राजेन्द्रकुमार गिरी बताउँछन्। कल्पनाले जसरी नयाँ क्षेत्रमा अघि सरेर काम गर्ने आँट सबैले गर्न नसक्ने गिरीको बुझाइ छ।

कोरोनाको क्षेत्रमा काम गर्नमा अरु स्वास्थ्यकर्मीलाई के भन्नुहुन्छ त ? भन्ने जिज्ञासामा कल्पना भन्छिन्, ‘मुख्य कुरा त व्यक्तिगत सुरक्षासामग्रीको प्रयोगलाई नियमपूर्वक पालना गरौं, उच्च मनोबलसाथ काम गरौं भन्न चाहन्छु। मेरो भनाइ हामी नै डराए, अरुले झन् कसरी सामना गर्न सक्छन् । स्वास्थ्यकर्मीले नै कोरोनाको उपचार नगरे कस्ले गर्छ त ? भन्ने पनि हो। हामीमा आएको जिम्मेवारी सबै मिलेरै पूरा गर्न सक्छौं।’



Leave a Reply

Your email address will not be published.