बेलायतका गोर्खा समुदाय कोरोनाबाट बढी प्रभावित, ९ देशमा ७८ नेपालीको मृत्यु
कोरोना भाइरस अर्थात् कोभिड–१९ को संक्रमणका ज्यान गुमाउने नेपालीको संख्या ७८ पुगेको छ। सबैभन्दा बढी बेलायतमा ५१ जनाको मृत्यु भएको छ।
गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष कुमार पन्तका अनुसार संघको स्वास्थ्य समितिले विश्वभरिबाट संकलन गरेका तथ्याङ्क अनुसार ७८ जनाको मृत्यु भएको पुष्टि भएको हो।
गैरआवासीय नेपाली संघ कोभिड १९ उच्चस्तरीय समितिका अनुसार संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको नेपालीको संख्या १५ पुगेको छ।
समितिका अनुसार न्यूयोर्कमा १२ जना, कोलोराडोमा २ जना र भर्जिनियामा १ जनाको मृत्यु भएको छ।
साथै संयुक्त अरब इमिरेट्स् (युएई) मा ६ जना, आयरल्यान्ड, जापान, टर्की, नेदरल्यान्ड, बहराइन र स्वीडेनमा १–१ जनाको मृत्यु भएको छ।
समितिका संयोजक डा. सञ्जीव सापकोटाले कोरोना भाइरसका कारण शनिबारसम्ममा थप ५ जनाले ज्यान गुएको जानकारी दिएका छन्।
बेलायतमा २, स्वीडेन १, बहराइन १, युएई १ थपिएको सापकोटाले बताए। नेपाली डायस्पोरामा ५ हजार ५ सय ८१ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन्।
संक्रमितमध्ये २ हजारभन्दा बढी नेपाली कोरोना भाइरसबाट मुक्त भएको अनुमान समितिले गरेको छ।
विदेशमा रहेका नेपाल समुदायमा कोरोना भाइरस संक्रमणको गति गतसाता भन्दा कम हुँदै गएको सापकोटाले बताए।
विश्वभर रहेका गैरआवासीय नेपाली विज्ञ चिकित्सहरुको समूहले तयार पारेको सो आँकडा अनुसार ९ देशमा गैरआवासीय नेपालीहरुको ज्यान गएको छ। बाँकी २० देशमा रहेका नेपालीहरु कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित छन्।
स्वास्थ्य समितिका अनुसार कतार २ हजार ३ सय, अमेरिकामा १ हजार ५ सय, बेलायतमा १ हजार, बहराइनमा २ सय ४५ जनालाई संक्रमण भएको छ।
युएईमा १ सय ४९, कुवेतमा ७८, नेपाल १ सय ९, साउदी अरबमा ३०, पोर्चुगलमा २६, आयरल्याण्डमा २२, स्पेनमा १२, अस्ट्रेलियामा १२, बेल्जियममा ६, जापानमा १०, स्वीटरल्याण्डमा ५ जना नेपाली संक्रमित छन्।
क्यानडामा १०, जर्मनीमा ४, फिनल्यान्ड ४, साइप्रसमा ३, मलेसियामा ४९, न्यूजिल्यान्डमा ३, माल्दिभ्समा २, माल्टामा २, हङकङमा २, म्यान्मारमा १, फ्रान्समा १ जना गैरआवासीय नेपालीलाई कोरोना संक्रमण भएको सापकोटाले बताए।
यो साता फिनल्यान्ड र स्वीडेन २ जना नेपालीहरुमा नयाँ संक्रमण देखिएको छ। जसमध्ये एक जनाको मृत्यु भएको छ।
यसैबीच, गैरआवासीय नेपाली संघले कोभिड १९ को प्रभावित देशहरुमा राहत वितरण भइरहेको जानकारी दिएको छ।
संघका महासचिव हेमराज शर्माका अनुसार ४६ देशका २ सय ७० भन्दा बढी क्षेत्र (शहर) मा १ हजार ६ सयभन्दा बढी स्वयंसेवक राहत वितरणमा सक्रिय रहेका छन्।
३५ हजारभन्दा बढी गैरआवासीय नेपालीहरुले प्रत्यक्षरुपमा राहतको सामग्री (खाना, माक्स, सेनिटाइजर, औषधि आदि) वितरण गरिएको छ।
एनआरएनएले विभिन्न देशमा २४सैँ घण्टा हटलाइन सेवामार्फत् ३६ हजारभन्दा बढी नेपालीहरुले वान टु वान परामर्श (राहत, भाषा अनुबाद, स्थानीय कानून, रोजगार, नेपाल फर्किने आदि) लिइएको सापकोटाले बताए।
यसअघि संघले चीनबाट कोरोना भाइरसको संक्रमण सुरू भए लगत्तै संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा ‘कोभिड १९’ उच्चस्तरीय समिति गठन गरेर आफ्ना गतिविधिलाई तीव्र बनाएको छ।
स्वास्थ्य समितिले विदेशस्थित विभिन्न अस्पतालमा कार्यरत तीन दर्जन नेपाली चिकित्सक, नेपाली कूटनीतिक नियोग, गैरआवासीय नेपाली संघका शाखाहरु तथा स्थानीय संघसंस्थाले प्राप्त सूचनालाई मुख्य आधारलाई मानेर हरेक आइतबार विदेशमा रहेका नेपालीहरुको कोरोना संक्रमणको अनुमानित तथ्यांक सार्वजनिक गर्दै आएको छ।