बालबालिकामा किन हुन्छ पिसाब संक्रमण? कस्तो सावधानी अपनाउने?

काठमाडौं–छोरालाई दुई महिनादेखि ज्वरो आएपछि पोखराकी सुष्मा गुरुङ फेवा सिटि अस्पताल पुगिन् ।

अस्पतालमा परीक्षण गर्दा युरिन इन्फेक्सन (पिसाब संक्रमण) भएको रिपोर्ट आयो ।

केही दिन अस्पतालमै भर्ना गरेर उपचारपछि ज्वरो कम हुँदै गयो । डाक्टरले औषधि लेखिदिएर घर पठाए ।

तर, घर पुगेको केही घण्टामै फेरि ज्वरो फर्कियो । उनी फेरि अस्पताल पुगिन् ।

५० दिनदेखि आठ महिनाको छोरा काखमा लिएर सुस्मा अस्पताल र घर भौतारिइरहिन् ।

डाक्टरले काठमाडौंको कान्ति बाल अस्पताल रिफर गरिदिए ।

सुस्मा पोखराबाट सोमबार दिउँसो २ बजे कान्ति बाल अस्पताल आइपुगिन् ।

कान्तिको आकस्मिक कक्षमा केही परीक्षण भयो । तर सोचेजस्तो सेवा नपाएपछि उनी इशान बाल अस्पताल पुगिन् ।

इशान अस्पतालमा पनि उनको छोरालाई पिसाब संक्रमण भएको थाहा पाइन् । उनको छोरालाई निरन्तर ज्वरो आउनुको कारण पनि पिसाब संक्रमण नै भएको डाक्टरले बताए ।

अहिले उनको छोराको उपचार भइरहेको छ ।

०००

भैरहवाका ६ वर्षीय सन्तोषी थापाको चार महिना अघि पिसाब गन्हाउन थाल्यो ।

उनका अभिभावकले त्यसलाई समस्याको रुपमा लिएनन् ।

केही समयपछि उनले दिनमा एक पटक पनि पिसाब गर्न छोडिन् । स्कुल पठाएको पानी पनि नखाई फिर्ता ल्याउने गर्थिन् ।

एक दिन पिसाब फेर्दा एक्कासी रुन थालिन् । उनकी आमाले नजिकैको एक प्राइभेट क्लिनिकमा लगिन् ।

पिसाब फेर्दा पोल्ने र दुख्ने भएर उनले पिसाब रोकेर राख्ने गरेकी रहिछिन् ।

क्लिनिकका डाक्टरले पिसाब संक्रमण भएको हुनसक्ने भन्दै उपचारका लागि काठमाडौं लैजान सल्लाह दिए । उनीहरु बुटबल गए । बुटवलका डाक्टरको सल्लाहबमोजिम उनलाई पनि एक महिनाअघि काठमाडौं ल्याइयो ।

इशान अस्पतालमा विभिन्न परीक्षण गर्दा पिसाब संक्रमण भएको पत्ता लाग्यो । साथै उनले लामो समय पिसाब रोक्दा मिर्गौलाबाट पिसाब माथितिर फर्किएर जान थालिसकेको डाक्टरले बताएको उनको ठूलीआमा लिला थापाले बताइन्।

अस्पताल भर्ना गरेर उपचार गरेपछि अहिले उनको स्वास्थ्यमा सुधार आएको छ ।

यस्तो समस्या लिएर बालबालिका दैनिकजसो अस्पतालमा आइरहने इशान बाल तथा महिला अस्पतालका निर्देशक तथा बालशल्य चिकित्सक डा आरपी चौधरीले बताए ।

पिसाब बन्ने सिस्टम अर्थात मिर्गौला देखि पिसाब फेर्ने ठाउँसम्म कतै संक्रमण भएमा त्यसलाई पिसाब संक्रमण (युरिनरी ट्रयाक इन्फेक्सन) हुन्छ ।
उनका अनुसार यो बच्चा र महिलामा हुने सामान्य समस्या हो।

बालबालिकामा पिसाब संक्रमणका कारण
बालबालिकामा पिसाब संक्रमण हुने कारण धेरै छन् । तीमध्ये बालक र बालिकामा पिसाब संक्रमण हुनुको केही कारण समान र केही फरक रहेको उनले बताए ।

मिगौंला शरीरको महत्वपूर्ण भाग हो । शरीरका विकारहरु मिर्गौलाबाट पिसाबसँगै निस्कन्छन् ।

सामान्य अवस्थामा मिर्गौलाका दुई तिरबाट आएका पिसाब थैलोमा जम्मा हुन्छ । पिसाब थैलो भरिएर खुम्चँदा पिसाब बाहिर निस्कन्छ । तर कुनै अवस्थामा उल्टो फर्किएर पिसाब पुनः मिर्गौलामा जान्छ । यो समस्या बालबालिका दुवैलाई हुने डा चौधरीले बताए ।

बनावटमा गडबडी
डा चौधरीका अनुसार मिर्गौलादेखि पिसाब फेर्ने पाइपसम्म बनावटी गडबडी भए संक्रमण हुन सक्छ । त्यस्तै मिर्गौला दुई वटाको ठाउँमा चार ओटा भए, मिर्गौलाबाट निस्कने पाइप अवरुद्ध भए, सामान्य प्रवाह हुन नपाएर मिर्गौलामा पिसाब जमेर बस्ने र मिर्गौलामा संक्रमण हुने जोखिम रहन्छ ।

मिर्गौला मुनिको पाइप दुई वटा हुनुपर्ने ठाउँमा दुईभन्दा बढी, जोडिएको अथवा साघुरो हँुदा पनि संक्रमण हुनसक्ने उनले बताए ।

बालकमा संक्रमण
उनका अनुसार नवजात शिशुको लिंगको छाला बन्द हुन्छ । शिशु ६ महिना भएपछि छालाको प्वाल खुल्दै जान्छ । छाला फर्काउँदा फर्किनुपर्ने हुन्छ । कुनै कारणबस छाला फर्किएन भने त्यसलाई चिकित्सकीय भाषामा फाइमोसिस भनिन्छ ।

‘छालाको प्वाल नखुल्दा सामान्य रुपमा लिंगमा फोहोर आइरहेको हुन्छ । छाला खुल्ला छ भने नुहाउने बेला सफा ग¥यो भने फोहोर निस्किन्छ,’ उनले भने, ‘छाला नखुलेको अवस्थामा भने फोहोर भित्रै जमेर बस्छ । त्यसले छालामा संक्रमण निम्त्याउँछ ।’

छाला नखुलेका कारणले पनि बालकमा पिसाब संक्रमण हुनसक्ने उनले चेतावनी दिए ।

उनका अनुसार पिसाबथैलो भन्दा बाहिर निस्कने पाइपमा कहिलेकाहि जाली जस्तो भइदिन्छ । त्यसका कारण पिसाब फेर्ने समयमा जति निस्कनुपर्ने त्यति नस्किएर थैलोमा नै पिसाब जम्मा हुन्छ । त्यस कारणले पनि संक्रमण हुनसक्छ ।

स्कुल जाने बच्चामा पानी नखाने, सरसफाईमा त्यत्ति ध्यान नदिने भएकाले पनि पिसाबमा संक्रमण हुनसक्ने डा चौधरीले जानकारी दिए ।

‘अस्पतालमा अन्य समस्या लिएर लामो समय अस्पताल बस्दा पनि संक्रमण हुनसक्छ । त्यसैले अस्पतालमा आइसियुमा अथवा अनावश्यक रुपमा बिरामीलाई भर्ना गरेर राख्न हुँदैन,’ उनले भने, ‘अनावश्यक रुपमा लामो समय अस्पतालमा राख्यो भने किटाणुको संक्रमण भएर पिसाबमा इन्फेक्सन हुन सक्छ ।’

बालिकामा संक्रमण हुनुको कारण
पिसाब संक्रमण बालकभन्दा बालिकामा बढी हुने उनले बताए । बालिकाको योनीको प्वाल र गुदद्वार नजिकै भएको हुनाले तुलनात्मक हिसाबले बालिकामा बढी संक्रमण हुने उनको मत छ ।

त्यसैले योनीको सरसफाई नगरेमा पनि संक्रमण हुन सक्ने उनले बताए ।

पिसाब संक्रमणको लक्षण
नवजात शिशुले आफ्ना समस्या बताउन सक्दैनन् । यस्तो अवस्थामा अभिभावक चनाखो हुनुपर्ने उनको सुझाव छ । पिसाब संक्रमण हुँदा छिनछिनमा पिसाब फेर्ने, पिसाब तुरुक तरुक गर्ने, पिसाब फेर्ने बेलामा रुने, ज्वरो आउने, धमिलो पिसाब आउने जस्ता लक्षण देखापर्ने उनले बताए ।

उनका अनुसार नवजात शिशुमा पिसाब संक्रमण भएको अभिभाबकलाई थाहा नभएको पनि हुनसक्छ । ज्वरो अरु कारणले पनि आउनसक्छ । तर अरु लक्षणसहित ज्वरो आएमा संक्रमण भएको हुनसक्छ ।

नवजात बालकले पिसाब गर्दा परसम्म फाल्छ । पिसाबनलीमा अवरोध भएमा भएमा एकदम धेरै कन्छ । पिसाब लिगंको वरिपरि नै फालेमा अभिभाबक सचेत हुनुपर्ने उनले बताए । उनका अनुसार पिसाबको प्वाल सामान्यतय लिंगको टुप्पोमा हुनुपर्ने हो । तर टुप्पोमा नभई मुनी वा पिसाबको पाइप सानो भए पनि पिसाब अड्कन्छ र संक्रमण हुन्छ।

जटिलता
कुनै पनि समस्या ढिला थाहा पाउनु भनेको उपचारको नियन्त्रण बाहिर जानु हो । यो सबै प्रकारको स्वास्थ्य समस्यामा लागू हुन्छ । पिसाब संक्रमणलाई पहिचान नगर्दा संक्रमण सरेर मिर्गौलासम्म पुग्न सक्ने उनले बताए । जसले गर्दा मिर्गौला फेल हुन सक्ने उनले जानकारी दिए ।

‘बनावटी गडबडीमा बालकमा मत्रमार्गमा अवरोध हुँदा या पर्दा हुँदा मिर्गौला फेल भएको केशहरु पाएको छु,’ उनले भने, ‘मिर्गौला फाल्नुपर्ने अवस्था आएको पनि छ । त्यस्तै दुवै मिर्गौलामा असर परेर ज्यान गुमाएको पनि पाइएको छ ।

उपचार
उपचार गर्नका लागि रोग पत्ता लगाउनु महत्वपूर्ण हुने उनले बताए । ‘बनावटी समस्या गर्भमा हुँदा नै थाहा पाउन सकिन्छ । मूत्रमार्गमा समस्या, मिर्गौलाले काम गरेको छैन भने पाठेघरमा पानी नै कम हुन्छ,’ उनले भने, ‘यो पनि एउटा लक्षण हो, जुन अल्ट्रासाउण्ड गरेर पत्ता लगाउन सकिन्छ ।’

उनका अनुसार जन्मेपछि धेरै बच्चाले २४ घण्टाभित्र पिसाब फेर्छन् । आमाको गर्भमा पानीको कमी भएका कारण कहिलेकाही दुई दिनसम्म पनि पिसाब फेर्दैनन् ।

त्यसैले पिसाब ढिला फेरे, फेर्न सकेनन् वा पिसाब फेर्न बल गरेर पनि निस्किरहेको छैन भने मूत्रमार्गमा पर्दाको समस्या हुनसक्छ । त्यो समयमा पत्ता लगाउन जरुरी हुन्छ ।

पिसाबमा संक्रमण भएको लक्षण देखिए रुटिन टेस्ट गरेर पत्ता लगाउन सकिन्छ । त्यस्तै संक्रमण पुष्टि गर्न युरिन कल्चर गरिन्छ । ‘उपचार गर्दा ४८ घण्टा कुरेर बस्ने हुँदैन । एउटा सामान्य रुटिन जाँच गरेर फस्टसेल्सको मात्रा बढी देखिन्छ भने संक्रमण भएको एकिन गरेर कल्चरको लागि पिसाब जाँच गर्न पठाएर एण्टिबायोटिक दिइन्छ, उनले भने ।’

सावधानी
बालबालिकामा पिसाब संक्रमण हुन नदिन आवश्यक मात्रामा पानी खुवाउने, बालिकामा योनीको वरिपरि सरसफाई गरिदिने, भित्रि वस्त्र नियमित परिर्वतन गरिदिने, केही शंका लागे सम्बन्धित विशेषज्ञलाई देखाउनुपर्ने डा चौधरीले सुझाए ।

मिर्गौलामा, पिसाबको थैलोमा र मूत्रमार्गमा समस्या देखिए चिकित्सकसँग सल्लाह लिनुपर्ने उनको धारणा छ ।

 

 

 

 

 

पिसाब संक्रमण
सनो बच्चाका लिंगको छाला खुल्न समय लाग्छ । सामान्यतय बच्चा ६ महिनाभएपछि लिंगको छाला फर्काउन सकिने हुने बालशल्य चिकिसित्क डा आरपी चौधरीले बताए ।

 

 



Leave a Reply

Your email address will not be published.