बागमती प्रदेश बन्याे डेंगुकाे ‘हटस्पट’, संक्रमितको संख्या १० हजार नजिक, बालेन शाहले जारी गरे यस्ताे अपिल

हेल्थपोस्ट नेपाल

नेपालमा डेंगु संक्रमितको संख्या ९ हजार ८३५ पुगेको छ। मन्त्रालयको तथ्यांक अनुसार अहिले ७५ प्रतिशत संक्रमित बागमती प्रदेशमा छन्। हाल देशभर संक्रमितको संख्या ९ हजार ८३५ पुगेको छ।

त्यसमध्ये ७ हजार ४४० जनामा संक्रमित बाग्मती प्रदेशमा छन्। यस्तै लुम्बिनीमा १ हजार ३५६, प्रदेश १ मा ३२०, सुदूरपश्चिममा २७१, गण्डकीमा २०२, मधेश प्रदेशमा १८० र कर्णाली प्रदेशमा ६६ जनामा डेंगु संक्रमण देखिएको छ।

हालसम्म देशभरका सात प्रदेशका ७५ जिल्लामा डेंगु फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यसैबीच काठमाडाैं महानगपालिकाले डेङ्गुको प्रकोप बढ्दो अवस्थामा रहेकाले प्रकाेप नियन्त्रणमा नागरिकस्तरमा पनि पहल गर्न आग्रह गरेकाे छ । मेयर बालेन शाहले एक अपिल जारी गर्दै यस्ताे बताएका हुन्। उनले यस्ताे भनेका छन्-

डेङ्गुको प्रकोप बढ्दो अवस्थामा छ । घरघरमा डेङ्गुका बिरामीहरु बढिरहेका छन् । जाडो आएर डेङ्गु आफै जान्छ भनेर कसैले पनि जाडो नपर्खौँ ।
डेङ्गुको प्रकोप रोक्नका लागि महानगरले केहि अगाडिबाट नै विशेष कार्यक्रम चलाइरहेको छ । वडाको आकार अनुसार ठुला वडाहरुमा रु १ लाख, मध्यमका लागि रु ७५ हजार तथा साना वडाहरुमा रु ५० हजारका दरमा बजेट छुट्याइएको छ ।
तर यो प्रयत्न पनि अपुग भएको छ । किनकि महानगरमात्रैले यो प्रकोपलाई तत्काल रोक्न गाह्रो छ । यसमा हामी सबैको भुमिका रहन्छ ।
पहिलो त उपलब्ध स्रोत साधनको प्रयोग गरेर लामखुट्टेको टोकाइबाट बच्नुहोस् ।
दोस्रो, लामखुट्टेले थोरै भन्दा थोरै पानी भएको ठाउँबाट पनि बच्चा फैलाउन सक्छ । यसैले कृपया ! सडकमा हिड्दा बोतलको बिर्को जति सानो कुरा छ भने पनि उल्टाइदिनुहोला, ताकि पानी जम्मा नहोस् । पानी जम्मा भएको ठाउँ छ भने घोप्ट्याइदिनुहोस् ।
तेस्रो, डेङ्गुबाट संक्रमण हुनु भएको छ भने स्वास्थ्यकर्मीहरुको सल्लाह अनुसार व्यवहार गर्नुहोस् ।

 



Leave a Reply

Your email address will not be published.