भयावह बन्दै डेंगु : एकै दिन थपिए ९७१ संक्रमित, के छ ठूला अस्पतालको अवस्था?

काठमाडौं–नेपालमा एकै दिन डेंगुका ९७१ बिरामी थपिएका छन्। आइतबार थपिएकासँगै कुल संक्रमितको संख्या ८ हजार ३२७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशको ७५ जिल्लामा फैलिएको डेंगु संक्रमण झन् भयावह रुपमा वृद्धि भइरहेको छ ।

प्रदेशगत रुपमा सबैभन्दा धेरै संक्रमित बाग्मती प्रदेशमा रहेको मन्त्रालयको तथ्यांक छ। बागमतीमा सबैभन्दा बढी ६ हजार २०५, लुम्बिनीमा एक हजार २६४, प्रदेश १ मा २८२, सुदूरपश्चिममा २०६, गण्डकीमा १५०, मधेशमा १४४ र कर्णालीमा ५३ जना संक्रमित भएका छन्।

बागमती प्रदेशका संक्रमितमध्ये उपत्यकामा धेरै संक्रमित छन् । जसका कारण काठमाडौंका अस्पतालमा डेंगु संक्रमित चाप बढेको छ ।

टेकुको आकस्मिक कक्षमा बिरामीको चाप
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आकस्मिक कक्षमा बिरामीको चाप बढेका कारण होल्डिङमा राखेर उपचार गराइरहेको सूचना अधिकारी नवराज गौतमले बताए।

अस्पतालमा दिनमा २०० भन्दा बढी बिरामी डेंगुको समस्या लिएर आउने गरेको गौतमले बताए।

‘धेरै बिरामीहरु उच्च ज्वरो आएपछि इमर्जेन्सीमा आउनुहुन्छ। सोहीकारण इमर्जेन्सी प्याक छ,’ उनले भने, ‘एक–दुई घण्टा आकस्मिकमा बसेपछि बिरामी घर जान सक्नुहुुन्छ। हामीले होल्डिङमा राखेर पनि उपचार गराइरहेका छौं।’

अस्पतालमा आइसीयुमा ७ जना र जनेरल वार्डमा २६ जना बिरामी उपचाररत रहेको उनले जानकारी दिए।

अस्पतालको आकस्मिक कक्षमा बिरामीको घुईँचो भए पनि वार्डका केही शय्या खाली रहेको उनले जानकारी दिए।

दैनिक डेंगु संक्रमण परीक्षण गर्ने बिरामी बढेसँगै अस्पतालमा किटको अभाव देखिनसक्ने उनले बताए।

दैनिक संक्रमित बढ्दा किटको अभाव हुनसक्ने देखिएको उनले बताए। ‘डेंगु परीक्षण किट सप्लायर्सले आपूर्ति गर्न गाह्रो भएको बताइरहेको छ। रोग नियन्त्रण महाशाखाबाट पनि कम आउन थालेको छ,’ उनले भने, ‘किट व्यवस्थापनको भरसक्दो प्रयास गरिरहेका छौं। तर गाह्रो हुन्छ जस्तो देखिएको छ।’

निजामति अस्पालमा ५० प्रतिशत बढी डेंगुका बिरामी
नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा भर्ना भएका आधाभन्दा बढी बिरामी डेंगुका रहेको डा विदेश बिष्टले जानकारी दिए।

अस्पतालमा उपचाररत ५७ बिरामीमध्ये ३० जना डेंगुका बिरामी रहेको उनले जानकारी दिए। उनका अनुसार ३० जनामध्ये आइसीयूमा तीन जना र हाई केयरमा दुई जना बिरामी छन्।

आइसीयुमा उपचाररत बिरामीमा छातीमा पानी भरिने, गिजाबाट रगत बग्ने, रक्तचाप कम हुने जस्ता जटिलता देखिएको उनले बताए।

वार्डमा उपचाररत धेरै बिरामीमा उच्च ज्वरो नै देखिएका उनले बताए।

अहिले अस्पतालमा आकस्मिक कक्षमा ७० प्रतिशत बिरामी डेंगुका आउने उनले बताए।

उनीहरुलाई ज्वरो घट्ने र प्लेटलेट बढ्न थालेपछि डिस्चार्ज गर्ने गरेको उनले बताए । अस्पताल भर्ना भएका बिरामी पनि चारदेखि सात दिनमा डिस्चार्ज भइरहेको उनले जानकारी दिए।

अहिलेसम्म अस्पतालमा आवश्यक मात्रामा किट उपलब्ध भएकाले परीक्षण कुनै समस्या नआएको उनले बताए।

के छ त्रिवि शिक्षण अस्पतालको अवस्था ?
त्रिवि शिक्षण अस्पतालमा पनि डेंगुको संक्रमण भएर अस्पताल पुग्ने बिरामीको संख्या दिन दिनै बढिरहेको सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिए।
ओपीडीमा दैनिक एक सयको हाराहारीमा बिरामी डेंगुसँग मिल्दाजुल्दा समस्या लिएर आउने गरेको उनले बताए।

अहिले अस्पतालमा ३० जना संक्रमित उपचाररत रहेको उनले जानकारी दिए। तीमध्ये आकस्मिक कक्षमा आठ जना बिरामी रहेको जनाइएको छ । अस्पतालका केही कर्मचारीलाई पनि संक्रमण देखिएको उनले बताए।

उपचाररत धेरैजसो व्यक्तिलाई उच्च ज्वरो देखिएको उनले बताए। गम्भीर स्वास्थ्य समस्या कुनै संक्रमितमा पनि नदेखिएका कारण अहिलेसम्म कुनै बिरामीलाई पनि आइसीयुमा राख्नुपर्ने अवस्था नआएको उनले बताए।

अस्पतालमा अझै स्टकमा ५०० किट बाँकी रहेकाले परीक्षणमा पनि कुनै समस्या नभएको उनले जानकारी दिए।

वीर अस्पताल
वीर अस्पतालको ल्याबमा पनि दैनिक २०० बिरामी डेंगुसँग मिल्दाजुल्दा लक्षण देखिएर परीक्षण गर्न आउने डा प्रज्वल श्रेष्ठले जानकारी दिए। तीमध्ये हरेक दिन ५० देखि ६० जनामा संक्रमण पोजेटिभ देखिएको उनले जानकारी दिए।

अस्पतालमा परीक्षण गराएकामध्ये पाँच प्रतिशत भन्दा कम मात्र भर्ना हुने गरेको उनले जानकारी दिए। धेरैजसो बिरामी घरमा सिटामोल खाएर निको हुने उनले बताए।

अस्पतालमा अहिले २१ जना संक्रमित उपचाररत रहेकामध्ये एक जना मात्र आइसीयुमा छन्।

डेंगु संक्रमितको उपचार
डेंगु भाइरल फिवर भएकाले यसको बिशेष उपचार नभएका कारण सिटामोल नै दिने गरेको वीर अस्पतालका डा प्रज्वल श्रेष्ठले बताए।

‘संक्रमितको जिउ एकदमै दुख्छ । धेरै दुख्यो भन्दैमा पेनकिलर लगायत अन्य औषधि खानु हुँदैन,’ उनले भने।

घरमा बसेर उपचार गरिरहेका बिरामीले पनि औषधिको रुपमा खाने सिटामोल नै हो। त्यसका साथै एकदम मात्रामा झोलिलो खानेकुरा र नरम खानेकुरा खानुपर्छ। साह्रो अथवा पचाउन गाह्रो हुने खानेकुरा नखान उनले सुझाए।

धेरै व्यक्तिले फार्मेसीमा गएर एन्टिबायोटिक लिएर खाएको सुनिन्छ । जसरी कोभिड संक्रमितले एन्टिबायोटिक प्रयोग गर्नु गलत थियोे। डेंगु पनि भाइरसकै कारणले हुने भएकाले एन्टिबायोटिक खान सल्लाह दिनु वा खानु गलत नै हुने उनको मत छ । एन्टिबायोटिकको जथाभावी प्रयोगले साइड इफेक्ट ह्ुने भएकाले सकेसम्म एन्टिबायोटिक प्रयोग गर्न नहुने उनले बताए।

डेंगु रोकथाममा सरकारको तयारी
डेंगु रोगको वर्तमान अवस्था र बढ्दो संक्रमणको नियन्त्रण तथा रोकथाम गर्न प्रदेश, जिल्ला र स्थानीय तहसँग समन्वयात्मक प्रयासका बारेमा छलफल गरेर काम गरिरहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीले बताए।

‘डेंगु नियन्त्रण गर्न लामखुट्टेको वृद्धि विकास रोक्ने, लामखुट्टेको टोकाईबाट बँच्ने हो,’ उनले भने ‘त्यसका लागि जनचेतना जगाउने र स्थानीय तहको समन्वयमा लामखुट्टेको बासस्थान ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरेका छौं।’

इपिडीमियोलीजी तथा रोग नियन्त्रण महाशाखाले १३९ स्थानीय तह, ६० जिल्ला र ७ वटै प्रदेशमा डेंगु नियन्त्रणका लागि ‘खोज र नष्ट गर अभियान सञ्चालनका लागि बजेट विनियोजन गरेको उनले जानकारी दिए।

हरके व्यक्तिलाई सचेत गराउन डेंगु रोकथाम र नियन्त्रण सूचना सामग्री र जनचेतनामूलक सन्देश विभिन्न माध्यमबाट प्रवाह गरिरहेको उनले बताए।

भदौ ९ देखि ललितपुर स्वास्थ्य कार्यालयले प्रभावित क्षेत्रमा महानगरपालिका र वडाहरूसँगको सहकार्यमा सामूहिक डेंगु अनुसन्धान तथा लार्भा नष्ट तथा सचेतनामूलक गतिविधि सुरु गरेको छ।

भदौ १३ बाट काठमाडौं महानगरपालिकाले स्वास्थ्यकर्मी र सरोकारवालारूसँग वडास्तरीय बैठक सञ्चालन गरेको छ। ललितपुर र भक्तपुरजस्ता संक्रमण बढी भएका जिल्लामा स्थानीय तह र सरोकारवालासँगको समन्वयमा ‘खोज र नष्ट गर’ अभियान र सचेतनामूलक कार्यहरू भइरहेको छ।



Leave a Reply

Your email address will not be published.