२० वर्षदेखि थपिएन नर्सिङ दरबन्दी, ३५ हजार स्टाफ नर्स बेरोजगार, २७ हजार विदेश पलायन

काठमाडौं–सरकारले २१ वर्षदेखि नर्सिङ दरबन्दी थप नगर्दा नेपालमा हजारौं नर्सिङ जनशक्ति विदेश पलायन हुन बाध्य भएको छ भने हजारौं बेरोजगार रहन बाध्य भएका छन् ।

नेपाल नर्सिङ काउन्सिलको तथ्यांक अनुसार नेपालमा हालसम्म एक लाख दश हजार नर्स दर्ता भएका छन् । तीमध्ये विशेषज्ञ नर्स (स्नातकोत्तर गरेका) ६४५ जना, स्टाफ नर्स ७२ हजार ५५०, ३१ जना मिडवाइफ, ३६ हजार ७७४ अनमी र ८४७ विदेशी नर्स दर्ता भएको काउन्सिलको तथ्यांक छ ।

दर्ता भएका ७२ हजार ५५० स्टाफ नर्समध्ये २७ हजार ४७२ ले विदेश जानका लागि काउन्सिलबाट प्रमाणीकरण पत्र लिएको छन् । यसका आधारमा हेर्ने हो भने अहिले नेपालमा उत्पादन भएका ३७ दशमलव ८७ प्रतिशत स्टाफ नर्स नेपाल बाहिर रहेको देखाउँछ ।

२०१३ देखि दर्ता भएका स्टाफ नर्समध्ये कतिको निधन भइसकेको छ भने धेरैको अवकास पाउने बेला भइसकेको नेपाल नर्सिङ संघकी अध्यक्ष मनकुमारी राईले बताइन्।

उनका अनुसार वर्षेनी विभिन्न तहका नर्सिङ जनशक्ति बार्षिक सात हजारको हाराहारीमा उत्पादन हुन्छन् । तर अबको एक दुई वर्ष त्यो संख्यामा कमी आउने उनले बताइन् ।

अहिले चिकित्सा शिक्षा आयोगले प्रवेश परीक्षा लिएर सीमित कोटामा मात्र नर्सिङ पढाई भइरहेको छ । नर्सिङ पढ्नका लागि चिकित्सा शिक्षा आयोगले लिएको परीक्षामा कम विद्यार्थी पास हुँदा अबको एक दुई बर्ष निकै कम जनशक्ति उत्पादन हुने उनले बताइन् ।

बिएस्सी नर्सिङको चालु शैक्षिक सत्रका लागि आयोगले लिएको परीक्षामा तीन हजार चार सय ७८ जना विद्यार्थी सहभागी भएकामध्ये ५०४ मात्र उत्तीर्ण भएका थिए ।

आयोगले बिएस्सी नर्सिङका लागि तोकेको सिट संख्या एक हजार २८० भन्दा कम विद्यार्थी प्रवेश परीक्षामा उत्तिर्ण भएका छन् । उत्तिर्णमध्ये पनि ३४१ जना विद्यार्थी मात्र आयोगको सम्पर्कमा आएको आयोगले जनाएको छ । ती विद्यार्थीलाई आयोगले ४० ओटा कलेजमा पठाएको आयोगले २७ मंसीरमा जारी गरेको सूचनामा उल्लेख छ ।
अहिले चिकित्सा शिक्षा आयोगले नर्सिङ पढाउनका लागि आवश्यक पूर्वाधार नपुगेका शिक्षण कलेजहरुलाई नियन्त्रण गरेको छ । जसका कारण नर्सिङ पढाउने कलेजहरु पनि कम भएका छन्।

३५ हजार बेरोजगार
अहिले १५ हजार नर्सहरु सरकारी सेवामा रहेको अध्यक्ष राईले बताइन्, जसमा १२ हजार स्थायी छन् भने तीन हजार करारमा । २७ हजार ४७२ नर्सले विदेश जानका लागि काउन्सिलबाट प्रमाणीकरण पत्र लिएको काउन्सिलको तथ्यांक छ भने १७ हजार निजी अस्पतालमा कार्यरत रहेको अनुमान गरिएको अध्यक्ष राइले बताइन्।

त्यस्तै अहिले ३५ हजार जनशक्ति ( नर्स ) बेरोजगार रहेको अनुमान गरिएको उनले बताइन्।

सरकारले २०५८ देखि स्वास्थ्य क्षेत्रमा नयाँ दरबन्दीको सिर्जना गरेकाे छैन।

‘नेपालमा उत्पादित जनशक्तिलाई नेपाल सरकारले खपत गर्न सकेको छैन । अस्पतालमा बिरामी र नर्सको अनुपात पनि मिलेको छैन,’ उनने भनिन, ‘सरकारले अस्पतालमा बिरामी र नर्सको अनुपात मिलाउन सके नर्सको खपत हुने र बिरामीले गुणस्तरीय सेवा पाउने थिए ।’

स्वास्थ्य मन्त्रालयले सरकारी सेवा अर्थात क्षेत्रीय, प्रादेशिक देखि हेल्थ पोष्टसम्म ४२ हजार नर्स चाहिने प्रक्षेपण गरेको छ । त्यसअनुसार सरकारले २८ हजार दरबन्दी खुलाए अहिले बेरोजगार नर्स खपत हुने उनले बताइन् ।

अहिलेको अवस्थामा सरकारलाई आवश्यक जनशक्ति र उत्पादन जनशक्ति लगभग बराबरी हुन आउने उनको अनुमान छ । ‘लोकसेवाको प्रक्रियामा सफल नभएका कारण सिट संख्या खाली हुनु फरक कुरा हो । तर सरकारले प्रक्षेपण गरेको दरबन्दी खुलाए सम्भवत अहिले त्यति पुग्ने जनशक्ति नेपालमा छन्,’ उनले भनिन् ।

१५ हजार नर्सले धानेका छन् नेपालका बिरामीको सेवा
अहिले नेपालका सरकारी अस्पतालहरुमा १५ हजार नर्सहरुले सेवा दिइरहेका छन् । तर गुणस्तरीय सेवा दिन सकेका छन् भनेरचाहिँ भन्न सकिने अवस्था नरहेको अध्यक्ष राईले बताइन् ।

नर्सहरुलाई कामको भार बढी भएको उनको दुखेसो छ । एकै समयमा उस्तै अवस्था भएका बिरामीलाई हेरचाह गर्नुपर्ने र ओभरटाइम काम गर्दा स्वतः नर्सले दिने सेवाको गुणस्तर घट्ने उनले बताइन् ।

आइसीयू, भेन्टिलेटर, इमरजेन्सी, प्रसूति र जनरल वार्डहरुमा दिने सेवा फरक हुने उनले बताइन् । यी विभागहरुमा जबसम्म विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मान्यता दिएको नर्सको दरबन्दी हुँदैन तबसम्म गुणस्तरीय सेवा दिएको दाबी गर्न नसकिने उनले बताइन् ।

मनकुमारी राई

डब्लुएचओका अनुसार जनरल वार्डमा ६ जना बिरामी बराबर एक जना नर्स हुनुपर्छ । आइसीयूमा एक जना बिरामी बराबर एक जना नर्स, भेन्टिलेटरमा एक जना बिरामीलाई दुई जना नर्स, प्रसूति गराउने लेबर कक्षमा एक जना बिरामीलाई दुई जना, प्रसुति भएपछि तीन जना बिरामीलाई एक जना नर्स आवश्यक पर्ने डब्लुएचओले सुझाएको छ।

बिरामीलाई गुणस्तरीय सेवा दिन सरकारले डब्लुएचओले सुझाएको अनुसार दरबन्दि सिर्जना गर्नुपर्नेमा उनले जोड दिइन् ।

नेपालमा कति छन् सक्रिय जनशक्ति ?
२०१३ देखि नेपालमा नर्सिङ जनशक्ति उत्पादन भएका हुन् । त्यसबेला उत्पादन भएको जनशक्ति कोहीको मृत्यु भईसकेको छ भने कोही सेवानिवृत्त जिवन बिताइरहेको अध्यक्ष राइले बताइन् । ‘२०५३ देखि सीटीइभीटीले नर्सिङ पढाउन थालेपछि उत्पादन भएका जनशक्ति सक्रिय उमेरका छन् । त्यसको आधारमा हेर्ने हो भने दर्ता भएका नर्सको ५० प्रतिशत सक्रिय अवस्थाका नर्स छन्,’ उनले भनिन् ।

अहिलेको अवस्थामा सेवा निवृत्त हुने भन्दा उत्पादन जनशक्ति नै बढी रहेको उनले अनुमान गरिन् ।

किन पलायन हुन्छन् नर्स ?
विदेश जानु नितान्त व्यक्तिगत भएको र राम्रो अवसर पाउँदा विदेशिनु स्वाभाविक भएको अध्यक्ष राइले बताइन् ।

‘अहिले नेपालमा नर्सहरुले भोगेको मुख्य समस्या रोजगार नपाउने र रोजगार पाएकाहरुले उचित सेवा सुविधा नपाउनु हो, उनले भनिन्, ‘अस्पतालमा काम गर्न अनुभव खोज्छन् । त्यसैले कति नर्सहरुले कम तलब वा तलब बिना काम गरेको पनि जानकारी छ ।’

नेपालका नर्सहरुले न्युनतम ५ हजार देखि २० हजारसम्म पारिश्रमिक पाएका छन् । नेपाल र भारत बाहेकका देशहरुमा घण्टाको हिसाबले पारिश्रमीक दिने भएकाले उनीहरुमा आर्कषण बढेको हुनसक्ने अध्यक्ष राइले बताइन् ।

‘लाखौ खर्च गरेर पढेर, ओभरलोड काम गर्दा पनि उचित पारिश्रमिक पाएका छैनन् । विदेशमा अवसर पनि भयो, पैसा पनि कमाउने भएकाले विदेशिएका छन्,’ उनले भनिन् ।

त्यस्तै उच्च शिक्षाको लागी विदेशिँदा उतै राम्रो अवसर पाएर उतै बस्ने गरेको उनले बताइन् । उनी भन्छिन, ‘पढ्नका लागी विदेशिएकाहरु नेपाल फर्किएको एकदमै कम छन् ।’



Leave a Reply

Your email address will not be published.