डेंगीको डर : मृत्यु हुनेको संख्या चार पुग्यो, नियन्त्रणका लागि स्वास्थ्यले स्थानीय तहसँग समन्वय गर्ने

हेल्थपोस्ट नेपाल

काठमाडौं–डेंगुको बढ्दो संक्रमणसँगै मृत्यु हुनेको संख्या चार पुगेको छ । आज भेरी अस्पतालमा २ जनाको मृत्यु भएको हो। यसअघि ललितपुरमा र कैलालीमा एक–एक जनाको गरी २ जनाको मृत्यु भइसकेको छ ।

नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि भर्ना भएका दुई जनाको मृत्यु भएको हो । बढैयाताल गाउँपालिका–८ बर्दिया निवासी ८६ वर्षीय पुरुष र टीकापुर नगरपालिका–६ कैलाली निवासी १२ वर्षीया बालिकाको उपचारका क्रममा बुधबार मृत्यु भएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा बद्री चापागाईंले जानकारी दिए।

उनका ८६ वर्षीय पुरुष भदौ १४ गते र १२ वर्षीया बालिका १९ गते भर्ना भएका थिए । ८६ वर्षीय वृद्धमा दमको कारण स्वासप्रश्वासमा समस्या देखिएकाले सघन उपचार कक्षमा राखेर उपचार भइरहेको थियो । दुवै जनाको उपचारकै क्रममा आज दिउँसो मृत्यु भएको थियो । भेरी अस्पतालमा अहिले डेङ्गु सङ्क्रमित बिरामी उपचारका लागि आउनेक्रम बढिरहेका छन् ।

पहिलो पटक डेङ्गुको सङ्क्रमण सामान्य भए पनि दोस्रो पटक कडा हुने भएकाले सङ्क्रमण फैलिनसक्ने डा चापागाईंले बताए। बाँकेमा डेङ्गु सङ्क्रमण फैलिन नदिन नेपालगञ्ज उपमहानगरपालिकाले लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरेको छ । समुदायस्तरमा सचेतना सँगसँगै लामखुट्टेको लार्भा नष्ट पार्ने अभियान भइरहेको उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताए।

यसैबीच, डेङ्गुको सङ्क्रमण नियन्त्रणका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेश र स्थानीय तहसँग समन्वय गर्ने भएको छ । बुधबार मुख्य सचिव शङ्करदास वैरागीको उपस्थितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव, स्वास्थ्य मन्त्रालयका सचिव, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवबीच भएको उच्चस्तरीय बैठकले डेङ्गुको सङ्क्रमणको प्रकोप रोकथाम र नियन्त्रण गर्ने विषयमा छलफल भएको स्वास्थ्य मन्त्रालयले डेङ्गुको नियन्त्रणका लागि प्रदेश र स्थानीय तह सरकारसँग समन्वय र सहजीकरण गर्ने निर्णय गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता सञ्जयकुमार ठाकुरले जानकारी दिए।

बैठकले डेङ्गु सार्ने लामखुट्टेको ‘लार्भा खोज र नष्ट गर’ अभियान तीव्रता बनाउन सचेतनामूलक तथा सूचनामूलक श्रव्य तथा श्रव्यदृश्य सामग्री तयार गरी विभिन्न तह तथा माध्यमबाट प्रचारप्रसारको व्यवस्था मिलाउने, रोग रोकथाम र नियन्त्रणका लागि यथाशीघ्र मोबाइल रिङ्गटोन बनाइ प्रचारप्रसार गर्ने व्यवस्था मिलाउने र रोगको पहिचान तथा उपचारमा कमी हुन नदिन आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको छ ।



Leave a Reply

Your email address will not be published.