डेंगुसँगै जापानी इन्सेफलाइटिसकाे संक्रमण बढ्दाे, मकवानपुरमा ३ जनाकाे मृत्यु

हेल्थपोस्ट नेपाल

नेपालमा डेंगुकाे संक्रमण बढ्दै गएका बेला जापानी इन्सेफलाइटिसकाे पनि संक्रमण बढेकाे छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म जापानी इन्सेफलाइटिस २३ जिल्लामा फैलिएको छ। ‌

मकवानपुरमा याे सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार सङ्क्रमणबाट जिल्लाको बकैया गाउँपालिका–७ का दुई जना र हेटौँडा उपमहानगरपालिका–३ बसामाडीका एक जनाको मृत्यु भएको हाे ।

बागमती गाउँपालिका–४ बस्ने वर्ष ४८ की सुस्मिता गोले उक्त रोगको सङ्क्रमण्बाट गम्भीर बिरामी भई थप उपचारका लागि चितवनको भरतपुर अस्पतालमा पठाइएको र उनको अहिले उपचार भइरहेको छ ।

यसैगरी, ‍डेंगु नेपालकाे ७५ जिल्लामा फैलिएकाे छ भने ४ हजारभन्दा बढीमा संक्रमण देखिएकाे छ।  मकवानपुरमा अझै पनि डेङ्गुको प्रकोप नियन्त्रणभन्दा बाहिर रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

साेमबार अपराह्नसम्म मकवानपुरकाे मनहरि गाउँपालिकाको विभिन्न वडा र हेटौँडा उपमहानगरपालिकाको विभिन्न वडामा गरी सात सय ५० जना डेङ्गु रोगीको पहिचान भएको र उनीहरूलाई तत्काल उपचारको व्यवस्था मिलाइएको वरिष्ठ जनस्वास्थ्य अधिकृत दीपक तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार, डेङ्गु सङ्क्रमित भएका गम्भीर प्रकृतिका बिरामीलाई काठमाडौँको त्रिभुवन शिक्षण अस्पताल, पाटन अस्पताल, वीर अस्पताल र चितवनको भरतपुर अस्पतालमा उपचार गराइरहेको उल्लेख गर्नुभयो ।

केही सामान्य प्रकारका डेङ्गु रोगका बिरामीलाई हेटौँडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भइरहेको हेटौँडा उपमहानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य अधिकृत भोलाप्रसाद चौलागाईँले जानकारी दिनुभयो । उहाँका अनुसार, हेटौँडा उपमहानगरपालिकाको वडा नम्वर ४ र ५ मा हालसम्म सात सय डेङ्गु रोगका बिरामी फेला परेका छन् ।

जिल्ला प्रशासन कार्यालय मकवानपुर र हेटौँडा उपमहानगरपालिकामा हेटौँडा नगरको १ देखि १९ वटै वडामा र मनहरि गाउँपालिकाको विभिन्न वडामा समेत डेङ्गु रोग नियन्त्रणका लागि प्रत्येक वडाको स्थानीय घरमा डेङ्गु रोगविरुद्ध जनचेतना अभियान र लामखुट्टेको लाभा नष्ट गर्ने कार्यका लागि आवश्यक स्वास्थ्यकर्मीलाई १० दिनसम्म खटाइएको जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ अधिकृत तिवारीले बताए।



Leave a Reply

Your email address will not be published.