चुनावी मैदानमा नेपालगन्जका एक ‘स्वतन्त्र’ डाक्टर

हेल्थपोस्ट नेपाल

प्रचण्ड गर्मीमा बिजुली नआउँदा होस् वा

बर्षातको भेलले सहर डुब्दा। फोहोरका डङ्गुरले सहर दुर्गन्धित होस् वा सडकमा जनावरले बाटो छेक्दा यी अनुहार नागरिकको आवाज लिएर सडकमा उत्रन्छन्। ती हुन्, डा. बिनोद कर्ण।

डा.विनोद कर्ण, नेपालगन्जमात्रै होइन नेपालकै उत्कृष्ट प्लाष्टिक सर्जनमध्येका एक हुन्।

पछिल्लो दशक उनी आफ्नो पेशा बाहेक सामाजिक काममा पनि उत्तिकै सक्रिय छन्।

‘समाजिक परिवर्तनको लागि प्रतिनिधि परिवर्तन जरुरी छ’ भन्दै चुनाव पनि लड्छन्।

उनी २०७४ को निर्वाचनमा पनि बाँके प्रदेश २ (ख) क्षेत्रबाट विवेकशील साझा पार्टीका तर्फबाट चुनाव लडेका थिए। त्यो चुनावमा उनले ५८३ मत पाए। उनलाई संकेत गरिएका ११७ मत बदर भए।

अहिले फेरि उनै डा. कर्ण ‘स्वतन्त्र’ उम्मेदवार भएर चुनाव लड्ने तयारीमा छन्।

‘क्लिन नेपालगन्ज, ग्रीन नेपालगन्ज’ अभियान अन्तरगत नेपालगन्ज र आसपासका क्षेत्रमा सरसफाइ र हरियाली ल्याउन उनी सक्रिय छन्।

राप्ती नदीको तटीय क्षेत्र सरसफाईमा उनी निरन्तर लागिरहेका छन्।

नेपालगन्जमा जनप्रतिनिधि परिवर्तनका लागि भनेर पटक-पटक निर्वाचनमा होमिने डा. कर्णसँग स्थानीय युवाहरूको समुह सक्रियताका साथ लागि परेका हुन्छन् तर चुनावमा मत उति आउँदैन। आखिर किन यस्तो भईरहन्छ त?

बाँके वास्तवमा धार्मिक, सामुदयिक र जातीय विविधता भएको जिल्ला हो। त्यसमाथि नेपालगन्ज सहरमा भोट पाउन थप जटिल छ।

यो त्यही जिल्ला हो जहाँ नेपालको राजनीतिमा टावरिङ् पर्सनालिटि भएका स्व. सुशील कोइरालाले समेत पटक-पटक निर्वाचनमा हार व्यहोरेका थिए। राजनीतिक दलका संगठनको दबाव त रहन्छ नै। यी कारणहरुबाट दलहरूका प्रतिनिधिहरू नै निर्वाचित भइरहन्छन्।

दलका संगठनहरूको दबावले स्वतन्त्र उम्मेद्वारहरू ‘डाइलुट’ भइरहन्छन्। स्थानीय तहमा काठमाडौं, धरान र धनगढीको जस्तै स्वतन्त्र हावाले दलहरूलाई बढारे झैं के यसपटक प्रदेश तहमा बाँकेलाई छुन्छ त?

प्रश्न अनुत्तरित छ।

त्यसका लागि निर्वाचनको मत परिणाम नै कुर्नुपर्ने हुन्छ। तर समाजमा आफ्नो सकारातमक गतिविधिमा सक्रियहरू राजनीतिक रुपमा स्थापित हुनसक्ने अवस्था बाँकेमा आउला त? यो विषय नेपालगन्जको युवा जमातमा जबर्जस्त बहसमा छ।

तपाईंले यसपटक चुनाव जित्नुहुन्छ भन्ने आधार के छन् भन्ने आयोमेलको प्रश्नमा डा. कर्णको जवाफ छ- ‘परिवर्तन चाहिन्छ भने मलाई जिताउनुपर्छ, पुरानै ढर्रामा चल्ने भए मेरो भन्नु केही छैन। तर मलाई एक पटक मतदान गरेर विजयी बनाउनका लागि अपिल गर्छु। ब्यवस्था परिवर्तन भए पनि जनप्रतिनिधहरू पटक-पटक उही अनुहारले जित्दा नागरिकले परिवर्तनको अनुभुति गर्न पाएनन्।’

नेपालगन्जका मतदाताहरूको मुड कता ढल्किने हो यसै भन्न त सकिंदैन तर सामाजिक गतिविधिमा नागरिकका आवाज बोल्ने अगुवा नागरिक चुनावबाट अनुमोदित हुन सक्लान त? जवाफ खोज्दैछन् नेपालगञ्जीयाहरू।

नेपालगन्ज प्रदेश सभा क्षेत्र नं. २ (ख) मा डा.कर्णको प्रतिष्पर्धा ‘हेभीवेट’ का नेपाली कांग्रेसबाट सभासद रहेका सुरेन्द्र हमालसँग हुनेछ। नेपालगन्जमा जातीय र धार्मिक सम्प्रदायबाट मत पाउन यो पटक उम्मेद्वारहरूले बनाउने रणनीतिले यसपटकको चुनाव रोमाञ्चक हुनसक्छ।

बाँके क्षेत्र नं. २ संसदीय सिटमा सत्ता गठबन्धनका तर्फ मन्त्री समेत रहेका जनता समाजवादीका सांसद मोहम्मद इस्तियाक राई र विपक्षी गठबन्धनबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा.धवल समशेर राणा उम्मेद्वार हुनसक्ने सम्भावना बढी छ। यी दुवै उम्मेद्वारको राजनीतिक चरित्र धार्मिक रुपमा मत बटुल्ने देखिन्छ।

यो अवस्थामा त्यही निर्वाचन क्षेत्रको प्रदेश सभा सिट ‘ख’ बाट डा. कर्णले कुन रणनीति अपनाउलान् भन्ने विषय महत्वपूर्ण छ।

 



Leave a Reply

Your email address will not be published.