डा भरत रावतको जीवनसूत्र–अहंकार त्यागे रोगमुक्त हुन सकिन्छ

हेल्थपोस्ट नेपाल

काठमाडौं–‘अहंकार मानिसको सबैभन्दा ठूलो शत्रु हो, अहंकार त्यागे रोगमुक्त हुन सकिन्छ ।’

नर्भिकले बिहीबार आयोजना गरेको एक कार्यक्रममा वरिष्ठ कार्डियोलोजिस्ट डा भरत रावतले स्वस्थ हुने सूत्र सुनाए ।

उनले भने, ‘खुसी र आनन्द भिन्न कुरा हो । कुनै व्यक्ति आफ्नो अंहकारले जित्दा खुुसी हुन्छ तर आनन्द हुन सक्दैन । आनन्द लिन अहंकार त्याग्नुपर्छ । अहंकार त्यागे रोगमुक्त हुन सकिन्छ ।’

अहंकारले हृदयघात पनि निम्त्याउन सक्ने भएकाले खानपान र जीवनशैली मात्र नभई भावनात्मक अवस्थालाई पनि ध्यान दिनुपर्ने उनको मत छ । त्यस्तै हृदयघात हुन नदिन बढी सोच्ने बानी त्याग्नुपर्ने उनले सुझाए ।

मोटोपनबाट हृदघात हुने एक कारक तत्व रहेको उनले बताए । ‘हाम्रोमा खाना खुवाएर माया दर्शाउने गरिन्छ । खाना खान मन नभए बल गरेर खुवाउने गरिन्छ,’ उनले भने, ‘तपाईं अलिकति मोटाउनुभयो भने मोटोपना नियन्त्रण गर, शारीरिक रुपमा फिट हुनुपर्छ भन्ने सल्लाह कसैले दिदैनौं त्यसैले समस्या निम्त्याइरहेको छ ।’

मुटुको समस्याको बुझाई नै गलत भएको उनले बताए । ‘अस्पतालमा छाती दुखेर आउँदा मुटुको समस्या भनेर आइपुग्छन्, उनले भने, ’मुटुको समस्या हो होइन हामीले परीक्षण गरेर थाहा पाउँछौं । धेरैको छाती दुखाई मात्र हुन्छ, मुटमा समस्या छैन भन्दा स्विकार्न सक्दैनन ।’

त्यस्तै अस्वस्थ्यकर खानपानले पनि हृदयघात हुने जोखिम बढाउने उनले बताए ।

एक स्वस्थ र खुसी हृदयका लागि दैनिक कम्तिमा ३० मिनेट हिड्ने, धुम्रपान नगर्ने, गुलियो खानेकुरा नखाने, धेरै नुन नखाने र शारीरिक क्रियाकलाप गर्ने र अहंकार त्याग्नुपर्ने उनले बताए ।

 



Leave a Reply

Your email address will not be published.