विशिष्टिकृत बाल अस्पताल : डा काेइरालाले साढे २ दशकअघि बुनेकाे सपना

काठमाडाैं-बच्चादेखि वृद्धसम्मको मुटुको उपचार गरेर चिकित्सा क्षेत्रमा ख्याति कमाएका डा. भगवान कोइरालाले बाल स्वास्थ्यमा नयाँँ आयाम कोरिरहेका छन् ।
२५ वर्षदेखि चिकित्सा क्षेत्रमा सक्रीय रहेका उनले अवकाशपछिको बाँकी समय बाल स्वास्थ्यमा खर्चने भएका छन् । उनले ‘विशिष्टीकृत बाल अस्पताल’ को खाका कोरेका छन् ।

बालबालिकाको क्षेत्रमा काम गर्ने सपना उनले सन् १९९३ मा नै बुनिसकेका थिए । अहिले त्यसैमा केन्द्रित भएर काम अगाडि बढाएका मात्र हुन् ।

सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा सुरुवाती अवस्थादेखि आबद्ध भएका थिए उनी । आफूले उपचार गरेका बच्चाहरूको अरू स्वास्थ्य जटिलता र बेलैमा उपचार नपाएका कारण मृत्यु हुँदा भोगेको पिडाका कारण उनले बाल अस्पतालको अवधारणा बनाएका थिए।

उनले भने, ‘उपचार गर्दा हामीले नसकेर छोड्दा सरेन्डर गरिन्छ । तर सक्ने काम गर्न नपाउँदा धेरै पीडा हुन्छ ।’ त्यही पीडाबाट जन्मिएको होे बाल अस्पतालको अवधारणा ।

डा कोइरालाले काठमाडौँमा एउटा बृहत् क्षमता र सेवा सुविधासहितको अस्पताल सञ्चालन गरेर अन्य प्रदेशहरूमा ७ वटा अस्पताल बनाउने संकल्प लिएका छन् ।

जसअनुसार केन्द्रीय अस्पतालको रुपमा काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–७ मा ४२ रोपनी जग्गामा पहिलो चरणको काम भइरहेको छ ।

त्यस्तै प्रदेश एकमा झापाको दमकमा ५० शैयाको अस्पताल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । ३ महिनामा अस्पताल सञ्चालनमा आउने छ ।

उनले सातै प्रदेशमा अस्पताल बनाउने भनेनपनि एकै पटक बनाउन लागेका होइनन् । चरणबद्ध हिसाबले काम गर्ने योजना बनाएका छन् ।

‘अहिले हामीले एउटा तहमा सुरु गरिसक्यौँ । तर अझै कोष सुरक्षित गर्दै छौँ,’ उनले भने, ‘पहिले काठमाडौँमा अस्पताल सञ्चालन गरेर यस योजनालाई दिगो प्रमाणित गरेर अरू प्रदेशहरूमा जान्छौँ ।’

काठमाडौँको परियोजना ठूलो भए पनि तीनै तहका सरकार सहभागी भएका कारण केही सहज भएको उनले बताए ।

‘केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय तहले केही रकम जोहो गरिदिन्छु भनेका छन्,’ उनले भने, ‘उनीहरूले व्यवस्थापकीय पाटोमा प्रभावचाहिँ पार्दैनन् ।’

‘एउटा अस्पताल चल्न १२ करोड रुपैयाँ आवश्यक पर्छ । हामीलाई आर्थिक सहायतामात्र होइन, नैतिक सहयोगको पनि उत्तिकै खाँचो छ,’ उनले भने, ‘प्राविधिक सहयोगदेखि तालिमहरू र सहभागिताको पनि खाँचो छ ।’

विशिष्टीकृत बाल अस्पताल नै किन ?
सन् १९९९ मा क्यानडास्थित सफल बाल अस्पतालमा तालिम लिएर नेपाल फर्किएपछि उनले बालबालिकाको मुटुको उपचार गरेका हुन् ।

त्यसबेला उनी नेपाल आउँदा जतिसुकै जटिल समस्या भए पनि वयस्कदेखि बालबालिकालाई एउटै डाक्टरले हेर्नुपर्ने बाध्यता रहेको उनले बताए । जस कारण उनले पनि हरेक उमेर समूहका मुटुका बिरामीको स्वास्थ्यलाई आफ्नो जिम्मेवारीका रूपमा बोकेर हिँडे ।

अन्य देशमा हेर्ने हो भने बच्चाको मुटुको स्वास्थ्य हेर्ने चिकित्सकले बच्चाकै मात्र हेर्छन् । वयस्कको गर्नेले वयस्ककै मात्र हेर्छन् ।

नेपालमा पनि त्यसरी नै सेवा दिन आवश्यक रहेको बोध उनलाई २५ वर्षदेखि भइरहेको थियो ।

आफैंले नेतृत्व लिएर केही गर्नुपर्छ भन्ने उनलाई लाग्यो । चाह्यो भने आँटेको पूरा गर्न सकिन्छ भन्ने सोच लिएर अगाडि बढेको उनले बताए ।

अहिले उनको उद्देश्यमा विभिन्न व्यक्ति वा संस्थाले साथ दिएका छन् । त्यस्ता सहयोगले उनलाई आफ्ना सपना साकार गर्न सहज भएको छ ।

कान्ति अस्पतालले राम्रो काम गरिरहेको भए पनि बिरामीले सबै सेवा एकै ठाउँमा पाएका छैनन् । कान्तिमा सबै विशेषज्ञ सेवा उपलब्ध नभएका कारण शिक्षण अस्पतालमा उपचार गर्दा कान्ति पठाउने अनि कान्तिले मुटुको समस्या भनेर मनमोहनमा पठाउँदा बिरामीहरू उल्झनमा परिरहेको उनले बताए ।

‘प्रदेशको संरचना देखेर म त्यहाँ पनि सेवा बिस्तार गर्न उत्साहित भएँ तर प्रदेशलाई केन्द्रले सहयोग नगरेसम्म दिगो हुँदैन,’ उनले भने । प्रदेशमा जनशक्ति जुटाउन पनि गाह्रो हुने उनले बताए ।

नेपाल सरकारको तथ्याङ्कलाई आधार मान्ने हो भने १०० जना बच्चा जन्मँदा तीमध्ये तीन जनाको मृत्यु पाँच वर्षको उमेरअघि नै हुन्छ । उनीहरूले आफ्नो पाँचौँ जन्मदिन मनाउन पाउँदैनन् । तथ्याङ्कले जति भयावह अवस्था दर्साउँछ, त्यसमा प्रश्न गर्नेहरू पनि छन् ।

बाल स्वास्थ्य सेवा सुधारमा नेपालमा खोप अभियानदेखि अन्य कार्यक्रम सफल भएका छन् । तर समुदाय स्तरमा बालबालिकाकेन्द्रित अस्पताल पर्याप्त छैनन्।
नेपालमा कान्ति बाहेक बाल स्वास्थ्यमा विशेषज्ञ सेवा दिलाउने सरकारी अस्पताल नै छैन ।

‘हामी दुई करोड ९० लाख हाराहारी नेपालीमध्ये ४० प्रतिशत १८ वर्षमुनिका बालबालिका छन्,’ उनले भने ‘यो ठूलो सङ्ख््या हो । तर हाम्रा अस्पतालमा बालबालिकाको लागी तीन हजार भन्दा कम शैया तोकिएको छ ।’

उनका अनुसार देशभरका अस्पतालहरूमा करिब २८ हजार शैय्या छन् । ‘सामान्य हिसाबमा पनि झन्डै आधा जनसङ्ख्याका भएका बालबालिकाका लागि २८ हजारमध्ये तीन हजार शैयया संख्या पर्याप्त हुँदै होइन,’ उनले भने ।

यस्तो अवस्थामा उनीहरुको स्वास्थ्य के भइरहेको छ भन्ने प्रश्न उठ्नु स्वभाविक हो ।

‘उनीहरूले कि त प्राण त्यागिरहेका छन्, या वयस्कहरूले उपचार गरिरहेका छन् । बालबालिकाहरूको पनि उपचार नभएको त होइन’ डा कोइराला भन्छन, ‘तर जसरी भइरहेको छ, त्यसरी बालबालिकाको ख्याल राखिँदैन । दुनियाँभर यहीँ जसरी उपचार गरेर बच्चाहरू स्वस्थ हुँदैनन् ।’

‘सन् २०२० सम्ममा देशमा बालरोगविज्ञ ६८९ पुगेछन् । ३० हजार डाक्टर हुँदा ४० प्रतिशत जनसङ्ख्यालाई उपचार गर्ने चिकित्सक त्यति मात्र हुन्,’ उनले भने,‘बालबालिकाको रेखदेख गर्ने नर्स ६१६ मात्रै छन् । जब कि डाक्टरहरूको तुलनामा नर्स ५ देखि ६ गुणा बढी हुनुपर्ने हो ।’

अहिलेको कटु यथार्थ ‘उपलब्ध जनशक्ति बागमती प्रदेशमा सीमित छन्।’ सबै अभिभावकसँग पैसा तिरेर सन्तान जोगाउने क्षमता हुँदैन त्यसैले यो समस्या सम्बोधनका निम्ति राज्यले अग्रसरता देखाउनुपर्ने उनको तर्क छ ।

अस्पतालले दिने सेवा
अस्पतालले समतामूलक सेवामा जोड दिने उनले बताए । रकम तिर्न नसक्ने जनताको खल्तीबाट पैसा नलिनु र अस्पताललाई दीर्घकालीन रूपमा सञ्चालन गर्नु चुनौतीपूर्ण रहेको उनले बताए ।

‘पैसा तिर्न नसक्नेले निःशुल्क उपचार सेवा पाउँछन्, तिर्न सक्नेले तिर्नुपर्छ,’ उनले भने, ‘क्याबिनमा उपचार गर्न चाहनेले महँगो तिर्नैपर्छ । उनीहरूसँग पैसा लिने अनि जनरल वार्डमा भर्ना हुन आएका तर पैसा छैन भन्नेलाई नफर्काउने हाम्रो प्रतिबद्धता हो ।’

‘‘कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी, फन्ड रेजिङ’ हरू त छँदै छ । यो कठिन काम हो तर सरकारी योजनाहरू ल्याउने हो भने सकिन्छ,’ उनले भने ।

 ‘हृदय’ काे रकम अस्पतालमा 
डा कोइरालले पुस्तक ‘हृदय’ बाट सङ्कलित रकम पनि अस्पतालमा खर्चने भएका छन् । यसमा प्रकाशक फाइनप्रिन्टले पनि उदारता देखाएको छ ।



Leave a Reply

Your email address will not be published.