भगवान कोइरालाको पुस्तक ‘हृदय’ को विशेष संस्करण भदौ अन्तिम साता

हेल्थपोस्ट नेपाल

काठमाडौं–डा भगवान कोइरालाको पुस्तक ‘हृदय’ को विशेष संस्करण भदौ अन्तिम साता आउने भएको छ ।

यही भदौ २५ गते काठमाडौंमा उक्त विशेष संस्करणको लोकार्पण गर्ने डा कोइरालाले बताएका छन् । हृदयको विशेष सीमित संस्करण एक पटकका लागि २५ सय प्रति मात्र मुद्रण भगरिएको र त्यसको अङ्कित मूल्य २५ हजार उनले जानकारी दिए ।

उक्त पुस्तकबारे जानकारी लिन वा बुकिङ गर्न ९८०८२२४४६४ डेडिकेटेड नम्बर खुल्ला गरिएको छ ।

विशेष संस्करणलाई डा कोइराला आफैँले प्रत्येक पुस्तकमा क्रमसंख्या अंकित र हस्ताक्षर गरी प्रमाणित गर्नेछन् । विशेष संस्करणको बिक्रीबाट प्राप्त हुने रकम प्रकाशकले आफ्नो लागत र लेखकले लेखकस्व नकटाई डा कोइरालाको योजनामा काठमाडौंमा बन्न लागेको विशिष्टीकृत हस्पिटल काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) हस्पिटललाई हस्तान्तरण गरिने उनले बताए ।

विशेष संस्करण निस्किएको एक सातापछि अर्थात् असोज पहिलो सातादेखि पुस्तकको नियमित संस्करण पनि अङ्कित मूल्य ५७५ रुपैयाँमा उपलब्ध हुनेछ । नियमित संस्करणको ५० प्रतिशत लेखकस्व किओचलाई हस्तान्तरण गर्ने डा कोइरालाले निर्णय गरेका छन्।

तीन दशकदेखि मुटुको उपचारमा खटिरएका डा कोइरालाले खाका कोरेको विशिष्टीकृत बाल अस्पताल (किओच) अस्पताल काठमाडौंमा निर्माणाधीन छ ।
त्यसको पहिलो प्रदेश शाखाका रूपमा झापाको दमकमा अस्पताल निर्माण अन्तिम चरणमा पुगेको छ । यस्ता हस्पिटल सातै प्रदेशमा विस्तार गर्ने कोइरालाको लक्ष्य छ।

कोइरालाको यही लक्ष्यलाई सानै स्तरमा भए पनि सघाउने उद्देश्यले प्रकाशक फाइनप्रिन्टले उनको पुस्तक‘हृदय’को विशेष संस्करण ल्याएको हो । डा कोइरालाले जीवनमा भोगेका संघर्षका अनुभव, उनले देखेका स्वास्थ्य क्षेत्रका समस्या सुल्झाउने उपाय र चिकित्सा शिक्षाका विविध विषयलाई समेत विश्लेषणात्मक धारणासहितको पुस्तक प्रकाशन हुन लागेको हो।

 



Leave a Reply

Your email address will not be published.