नेपालमा पहिलो पटक प्रसूति गृहमा ‘ह्युमन मिल्क बैंक’ सुरु, आमाको दुधबाट वञ्चित शिशुलाई लाभ पुग्ने

हेल्थपोस्ट नेपाल

काठमाडौं–थापाथलीस्थित प्रसूति गृहले ‘ह्युमन मिल्क बैंक’ अमृत कोष सुरु गरेको छ। सुत्केरी आमाबाट सुरक्षितरुपमा दान गरी दूध सङ्कलन, प्रशोधन, परीक्षण र भण्डारण गरी आवश्यक शिशुलाई उपलब्ध गराउन वृहत स्तनपान व्यवस्थापन केन्द्रको नाममा बैंक स्थापना भएको हो।

ह्युमन मिल्क बैंकबाट आमाको दूधबाट वञ्चित शिशु प्रत्यक्ष लाभान्वित हुने अस्पतालले जनाएको छ। बैंकको राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार उद्घाटन गरिन् ।

यसैगरी, अस्पतालले आफ्नो ६३ औं वार्षिकोत्सव मनाएको छ। राष्ट्रपति भण्डारीले अस्पतालले ६३ वर्षदेखि महिला तथा नवजात शिशुलाई निरन्तररुपमा सेवा प्रदान गरेर मातृ मृत्यु दर र शिशु मृत्यु दर घटाउन महत्वपूर्ण योगदान पु¥याएको बताइन्।

अस्पतालले प्रसूति तथा स्त्री रोगका साथै नवजात शिशुसम्बन्धी सरल र कम खर्चिलो, सुविधायुक्त तथा गुणस्तरीय सेवा उपलब्ध गराउँदै आएको बताइन् । छ दशकअघि ४० शय्याबाट सुरुआत भएको यस अस्पतालले हाल चार सय ७९ शय्याबाट सेवा दिइरहेकोमा उनले खुसी व्यक्त गरिन्।

राष्ट्रपति भण्डारीले अस्पतालको आफ्नो पहलमा ह्युमन मिल्क बैंक स्थापना गरिनुलाई मातृ तथा शिशु स्वास्थ्य सेवाको क्षेत्रका एक ऐतिहासिक थालनीको रुपमा पाएको बताइन्।

अमृत कोषको स्थापनाबाट नेपालका मातृ तथा शिशुमृत्यु दर घटाउन महत्वपूर्ण योगदान पु¥याउनुका साथै स्तनपान महत्वबारे जनचेतना जगाउने उनको भनाइ छ।
कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसीले सातवटै प्रदेश र ७७ जिल्लामा प्रसूति सेवा विस्तार गर्न थालिएको जानकारी दिए।

अस्पतालका निर्देशक डा अमिरबाबु श्रेष्ठले उच्च मातृ मृत्युदर र शिशु मृत्युदरलाई कम गर्नका लागि अस्पतालले महत्वपूर्ण भूमिका खेलेको बताए। उनका अनुसार आर्थिक वर्ष २०७८÷७९ मा कूल ३३ हजार आठ सय ५५ महिला भर्ना भएकोमा प्रसूतितर्फ २६ हजार छ सय पाँच र स्त्रीरोगतर्फ चार हजार नौ सय ३० को उपचार तथा २४ हजार तीन सय ६९ गर्भवती महिलाको प्रसूतिबाट २४ हजार पाँच सय ९३ शिशुको जन्म भएको छ ।

२०१६सालको श्रीकृष्ण जन्माष्टमीको दिन ४० शय्याबाट स्थापना भएको अस्पतालमा अहिले चार सय ७९ शय्या रहेको छ । नेपाल सरकार र जर्मनी सरकारको सहयोगमा अस्पतालले तारकेश्वर र चन्द्रागिरी नगरपालिकामा ५०–५० शय्याको प्रसूति तथा नवजात शिशु अस्पतालको निर्माणको सम्झौता सम्पन्न भई निर्माणको प्रक्रिया अगाडि बढेको अस्पतालका निर्देशक डा श्रेष्ठले जानकारी दिए।



Leave a Reply

Your email address will not be published.