कोभिड असर : विश्वका ८१ करोड मानिस भोकमरीको सामना गर्दै, नेपालमा कुपोषणको दर ४.८ प्रतिशत पुग्यो

हेल्थपोस्ट नेपाल

काठमाडौं–कोरोना महामारीले एशिया तथा प्रशान्त क्षेत्रमा कुपोषणको दर बढाएको राष्ट्रसंघीय निकाय खाद्य तथा कृषि संगठन (एफएओ) ले जनाएको छ। कोभिडले विश्व अर्थतन्त्रमा पारेको व्यापक प्रभावसँगै लाखौं मानिस खाद्य असुरक्षा तथा कुपोषणबाट नराम्ररी प्रभावित भएको जनाइएको छ।

एफएओको एक अनुमानअनुसार सन् २०२० मा ७२ करोडदेखि ८१ करोड मानिसहरुले भोकमरीको सामना गरेका छन्। जबकि सन् २०१९ मा यो संख्या १६ करोड हाराहारीमा थियो। यसमध्ये सबैभन्दा बढी प्रभावित एशिया तथा प्रशान्त क्षेत्र रहेको जनाइएको छ।

डब्लुएफपीका अनुसार कोभिडका कारण बढेको बेरोजगारी र उत्पादनको बजार घटेसँगे खाद्य संकट निम्तिएको हो। यसका साथै आय र रेमिटेन्स घट्दा पनि शहरी तथा ग्रामीण घरपरिवारको खाना किन्ने क्षमतामा कमी आएको बताइएको छ।

एशियामा कुपोषणबाट प्रभावितको संख्या २०१९ को तुलनामा २०२० मा ३६ करोडबाट बढेर ४१ करोड पुगेको छ। यस्तै, कुपोषणको दर ७.९ प्रतिशतबाट बढेर ९ प्रतिशत पुगेको छ। एशियाको कूल कुपोषणमध्ये ८९ प्रतिशत दक्षिण एशियामा रहेको डब्लुएफओले जनाएको छ।

नेपालमा २०१७–२०१९ अवधिमा कुपोषणको दर ४.३ प्रतिशत रहेकोमा २०१८–२०२० मा ४.८ प्रतिशत पुगेको छ। यस्तै, अफगानिस्तानमा २३.४ प्रतिशतबाट बढेर २५.६ प्रतिशत, भारतमा १४ प्रतिशतबाट बढेर १५.३ प्रतिशत, पाकिस्तानमा १२.२ प्रतिशतबाट बढेर १२.९ तथा श्रीलंकामा ६ प्रतिशतबाट बढेर ६.८ प्रतिशत पुगेको एशियाली विकास बैंकले जनाएको छ।



Leave a Reply

Your email address will not be published.