महालेखाको प्रतिवेदनविपरीत राज्यमन्त्री श्रेष्ठले भने-भरतपुर आँखा अस्पतालले लाजपुर्जा पाउनैपर्छ

हेल्थपोस्ट नेपाल

चितवन–प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले भरतपुर अस्पतालको जग्गा भरतपुर आँखा अस्पताललाई दिलाइदिने आश्वासन दिएका छन्। भरतपुर आँखा अस्पतालको आइतबार निरीक्षणपछि उनले भरतपुर आँखा अस्पतालले जग्गाको लालपुर्जा पाउनुपर्ने भन्दै जग्गा दिलाईदिने आश्वासन दिएका हुन्।

उनले भने, ‘अस्पतालले लालपुर्जा पाउनैपर्छ, मन्त्रिपरिषदबाट निर्णय भइसकेको कुरा किन पाएन?’

नेपाल नेत्रज्योति संघले सञ्चालन गरेको भरतपुर आँखा अस्पतालले भरतपुर अस्पतालको जग्गा प्रयोग गर्दै आएको छ।

महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनविपरीत राज्यमन्त्री श्रेष्ठले भरतपुर अस्पतालको जग्गा आँखा अस्पताललाई दिलाइदिने आश्वासन दिएका हुन्।

महालेखाको प्रतिवेदनले आँखा अस्पतालले प्रयोग गर्दै आइरहेको भरतपुर अस्पतालको जग्गा फिर्ता लिनुपर्ने र नेत्रज्योति संघले आफ्नै जग्गामा सेवा सञ्चालन गरी अस्पतालको जग्गा खाली गराउनुपर्ने भनेको छ।

भरतपुर अस्पतालले आँखा अस्पताललाई विनालिज ४ विघा जग्गा भोगाधिकारमा दिएको छ। आँखा अस्पतालले भरतपुर १० मा रहेको आफ्नो १ विघा ७ कठ्ठा १५ धुर जग्गा आइल्याण्ड जंगल रिसोर्टलाई लिजमा दिई भरतपुर अस्पतालको जग्गा प्रयोग गर्दै आइरहेको छ।

‘सरकारी जग्गा दर्ता तथा लिजमा गराउने कार्यनीति, २०७१ बमोजिम उक्त जग्गा लिजमा समेत परिणत भएको देखिएन,’ महालेखाले भनेको छ, ‘गुरुयोजनाअनुसारको सेवा विस्तार र संरचना निर्माणसमेतका लागि अस्पतालले जग्गा फिर्ता लिनुपर्ने र नेत्रज्योति संघले आफ्नो जग्गामा सेवा सञ्चालन गरी अस्पतालको जग्गा खाली गराउनुपर्दछ।’

राज्यमन्त्री श्रेष्ठले आँखा अस्पतालको निर्माणाधीन भवनका लागि आवश्यक बजेटको खोजी गर्ने प्रतिबद्धता पनि जनाए। उनले भने, ‘सरकारी स्रोत पनि खोजौँ, स्वदेशी तथा विदेशी दाताको पनि खोजी गर्नुपर्छ।’ उनले नेपाल नेत्रज्योति संघको यसस्कर सदस्य बन्ने घोषणा पनि गरे। संघको यसस्कर सदस्य बन्न २० लाख रुपैयाँ शुल्क लाग्छ। संघद्वारा सञ्चालित अस्पतालमा सदस्यबाट उठाइएको शुल्कले अस्पताल सञ्चालन र भवन निर्माण गरिँदै आएको छ।

सम्पत्तिको ५० प्रतिशत ट्रष्ट फाउण्डेशनमार्फत् खर्च गर्ने
राज्यमन्त्री श्रेष्ठले आफ्नो सम्पत्तिको ५० प्रतिशत ट्रष्ट फाउण्डेशनमार्फत् शिक्षा र स्वास्थ्यमा खर्च गर्ने पनि बताए। जलविद्युत्, शिक्षा, स्वास्थ्य, बैंकिङ, कृषिलगायतका क्षेत्रमा अर्बौं रुपैयाँ लगानी गरेका श्रेष्ठले भने, ‘ठूला लगानी रोकेर आयको आम्दानीबाट सामाजिक क्षेत्रमा सेवा गर्ने सोच बनाएको छु।’ श्रेष्ठको जलविद्युत्मा मात्रै रु ४० अर्बभन्दा बढी लगानी छ। चार नाफारहित अस्पताल बनाउँदै गरेको सो अवसरमा उनले जानकारी दिए। ‘अरु ठाउँबाट कमाएर सेवाको भावनाले खोल्नुपर्छ भनेर चार अस्पताल बनाउँदैछु,’ उनले भने।



Leave a Reply

Your email address will not be published.