फेरि अर्को भाइरसको त्रास, चीनमा ‘लंग्या’ भाइरसबाट ३५ जना संक्रमित, के हुन् यसका लक्षण?

हेल्थपोस्ट नेपाल

काठमाडौं–कोरोनापछि मंकीपक्स भाइरसले विश्व त्रस्त बनाइरहेको समयमा चीनमा फेरि अर्को भाइरस फेला परेको छ। ‘लंग्या’ नामक जूनोटिक भाइरसबाट चीनको शेदोङ र हेनान प्रान्तमा ३५ जना संक्रमित भएको बताइएको छ।

यो भाइरस जनावरबाट मानिसमा सर्ने खतरनाक खालको भएको बताइएको छ। स्थानीय विशेषज्ञका अनुसार यो भाइरस तीव्र रुपमा फैलिए कोरोनाभन्दा पनि बढी संक्रामक हुनसक्छ।

ताइवान सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी) का अनुसार अहिलेसम्म यसबाट ३५ जना संक्रमित भएका छन् भने परीक्षणको दायरा बढाउँदा थप मानिस संक्रमित हुनसक्ने अनुमान गरिएको छ।

कस्तो खालको यो भाइरस?
जनावरबाट मानिसमा सर्ने यो भाइरसलाई हेनिपाभाइरस पनि भनिन्छ। यसअघि यो भाइरस सन् २०१९ मा पत्ता लागेको थियो। चिनियाँ मिडियाका अनुसार यो भाइरसका बारेमा थप जानकारी पत्ता लाग्न सकेको छैन। यो मानिसबाट मानिसमा सर्ने खालको हो कि होइन भन्नेबारेमा वैज्ञानिकहरुले अध्ययन गरिरहेका छन्।

ताइवान सीडीसीका अनुसार यो भाइरस मानिसबाट मानिसमा सर्ने सम्भावना भने छ। हालसम्म गरिएको अध्ययनअनुसार लंग्या भाइरसको संक्रमण कुकुरमा ५ प्रतिशत, बाख्रामा २ प्रतिशत देखिएको छ। जनावरबाट मानिसमा फैलने प्रमुख कारण छुचुन्द्रो मानिएको छ।

न्युइंग्ल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित एक अनुसन्धानअनुसार लंग्या भाइरस संक्रमितमा ज्वरो देखिएको छ। यसका अन्य लक्षणमा खोकी, थकान, भोक नलाग्ने रहेका छन्।

यसका अन्य लक्षणमा
ज्वरो र खोकीको समस्या
भोक नलाग्नु
शरीरमा पीडा र थकान
बान्ता आउने र वाकवाकी लाग्ने
मांसपेशीको दुखाइ
सेतो रक्तकोषको कमी
प्लेटलेट्स काउन्टमा कमी

चिनियाँ अधिकारीहरुले संक्रमणबाट बँच्न जनावरको सम्पर्कबाट बँच्न, लक्षण देखिएकाहरु आइसोलेसनमा बस्न आग्रह गरेका छन्। यसबारे अध्ययन जारी रहेको बताइएको छ।



Leave a Reply

Your email address will not be published.