म ‘पोषणविद्’ वा ‘पोषण विशेषज्ञ’ होइन

‘एउटै विषयमा दोहोर्‍याइ तेहेर्‍याइ कति लेखेको? स्थानीय खानेकुराको प्रयोग गर्नुपर्छ, बालबालिकालाई पत्रु खाना दिनु हुँदैन, घरकै खानेकुरा दिनुपर्छ भनेर एकपटक लेखे पुग्दैन? फेरि जुन जिल्ला गयो, त्यहीँका खानेकुरा, त्यही भोजन र पोषणका बारेमा लेख्नुहुन्छ। अरू केही मुद्दा पाउनुहुन्न कि क्या हो?’ कतिपय पाठकले मलाई यसरी नै सोध्ने गरेका छन्।

‘पत्रु खाना भन्ने हुँदैन, पोषणमा काम गर्ने तर पोषण विज्ञान नपढेका मानिसले प्रयोग गर्ने शब्द हो। तपाई योबारे नबोल्नुस् ‘ भनेर कतिले मलाई भन्छन्।

मेरा लेखका विषय स्वस्थ भोजन र पोषणसँग सम्बन्धित छन्। तर, म ‘पोषणविद्’ वा ‘पोषण विशेषज्ञ’ होइन। पोषणको विषयमा लेख्दा म अति साधारण जानकारीमात्र दिन्छु र त्यति लेख्नलाई कुनै विशेषज्ञता चाहिँदैन। अक्षर नचिनेकी मेरी बज्यै र अलिअलि पढ्न-लेख्न सक्ने मेरी आमाजस्ता महिलाले भान्सामा जे पकाउँछन्, जे खान्छन्, बालबालिकालाई जे खुवाएर हुर्काउँछन्, मेरो लेखको विषय त्यही हो।

मैले पोषणका विषयमा लेख्नुपर्ने कारण के हो भने भोजन संस्कृति हो। गर्भदेखि मृत्युको बेलासम्म भोजन चाहिन्छ। विवाह, व्रतबन्ध, जन्मदिन आदिमा मात्र होइन, युद्ध हुँदा शरणार्थीलाई, विपत्मा परेका र भूकम्पमा सर्वस्व हराएका मानिसलाई चाहिने सबैभन्दा महत्त्वपूर्ण वस्तु पनि भोजन नै हो। किनभने, भोजनले नै जीवन दिन्छ। भोजन संस्कृतिसँग पनि जोडिएको छ। संस्कृतिले जीवनलाई जीवन्त बनाउँछ। संस्कृति नरहने हो भने मानव अस्तित्व नै संकटमा पर्दै जान्छ। शारीरिक रूपमा मात्र होइन कि मानसिक रूपमा पनि भोजन र पोषणको आवश्यकता पर्छ। त्यसैले म भोजनको विषयमा लेखिरहे।

पोषण विज्ञानको पढाइ सुरुआत भएको सायद ७० वर्षभन्दा बढी भएको छैन।

अहिलेको पोषण विज्ञान समय–समयमा परिवर्तित भइरहन्छ । ‘घ्यु स्वास्थ्यका लागि ठीक छैन’ भन्ने कुरा केही वर्षअघि चर्चामा थियो। अहिले घ्युले स्वास्थ्यमा राम्रो असर पुर्‍याउँछ भनेर उनै वैज्ञानिक पोषणविद् भन्दै छन् । ‘अन्डाको पहेँलो भागले स्वास्थ्यमा खराबी गर्छ । अन्डाको सेतो भाग मात्र प्रयोग गर्नू भन्ने’ पोषणविद् अहिले सेतो–पहेँलो दुवै भाग राम्रो हुन्छ भनिरहेछन्।

विदेशका वैज्ञानिकले भोजन र पोषणबारे छलफल गर्दा देशको हावापानी, संस्कृति, वातावरण र वर्तमान अवस्थाबारे कहिल्यै पनि छलफल गर्दैनन् । किनभने पोषणविद् पनि बजारबाट प्रभावित छन्।

यो लेख लेखिरहँदा एरियन नेस्टर लिखित ‘भोजनको राजनीति’ पनि पल्टाउँदै छु। अमेरिकाको जनस्वास्थ्यमा कसरी त्यहाँका ‘पत्रु खाना’ बनाउने कम्पनीको बोलवाला छ, कसरी उनीहरुले अमेरिकन सिनेट (हाम्रा सासंदजस्तै) लाई प्रभावमा पारेर ‘पत्रु खाना स्वास्थ्यका लागि खासै नराम्रो हुँदैन भन्ने जानकारी दिन्छन् भनेर लेखिएको छ।

उनको किताबमा लेखिएको छ, ‘भोजन सन्तुलित हुनुपर्छ । शरीरलाई चाहिने सूक्ष्म पौस्टिक तत्व यसमा रहनुपर्छ । विश्वमा विविध जातजातिका मान्छेले विभिन्न संस्कृतिसहितका परिकारको खाना खान्छन्। यसले उनीहरुको स्वास्थ्य उत्तम रहन्छ । एसिया र मेडिटरेनियाहरुको खानामा विशेषगरी वनस्पति हुन्छन्, जसमा थोरै क्यालोरी, धेरै पौस्टिक तत्त्व हुन्छ । बाल्यकालदेखि नै कस्तो खाना खुवाइन्छ। त्यसले भविष्यमा उनीहरुको मधुमेह, मुटु रोग, उच्च रक्तचाप हुने–नहुने भर पर्छ । अहिले त अमेरिकीले ७० को दशकमा भन्दा बढी खाइरहेछन्। उनीहरु घरबाहिर बढी खान्छन्।

अमेरिकीका लागि निकालिएको भोजन निर्देशिकामा ‘बोसोजन्य पदार्थ, चिनी धेरै नखानू’ भनेर आयो । जनस्वास्थ्यविद्ले ‘बोसो र चिनी हालेका खाना कम खानू’ भनेका थिए। तर कम कम खानूभन्दा जनताले थोरै प्रयोग गरे बजारमा घाटा लाग्छ भनेरै ‘धेरै नखाऊ’ लेखियो । यो कुरा ठूला औद्योगिक घराना र पत्रु खाना बनाउने व्यापारिक स्वार्थलाई ध्यानमा राखेर लेखिएको थियो।

सरकारले ‘जनतालाई यो कम खाऊ, यो बढी खाऊ’ भन्ने होइन । जनतालाई जे मन लाग्छ, त्यही खान पाउनुपर्छ,’ सिनेटर जोनले भनेका थिए । सरकारमा बसेका मानिसले यसो भन्छन् भने अरुको त के कुरा!

बजारबाट प्रभावित वैज्ञानिकले त योसम्म भने, ‘कुनै पनि स्वस्थ व्यक्तिले जति मन लाग्छ, बोसोजन्य खाना खाए हुन्छ’ । यसरी नीतिगत रुपमा काम गर्ने व्यक्तिले लिखित रुपमै यस्तो कुरा गरेपछि जनतालाई हो भन्ने लाग्ने नै भयो । तर अहिले अमेरिकी जनस्वास्थ्यविद्ले नै भन्छन्– बोसोे भएको खाना कम प्रयोग गर्नुपर्छ।

वास्तविक जनस्वास्थ्यविद् र पोषणविद्ले पोषणबारे भनेका कुरालाई अमेरिकी व्यापारीले अस्वीकार गर्छन्, नेपालमा पनि ।

पत्रु खाना बनाउने कम्पनी
नेपाल सरकारले केही वर्षअघि स्कुलमा ‘पत्रु खाना बेच्न नहुने’ नीति ल्याएको थियो। तर व्यापारीले विभिन्न मन्त्रालय धाएर पत्रु खानाको वकालत गरे। सरकारको नीति यसै हराएर गयो। यदि अहिलेदेखि नै पत्रु खानाको विरोधमा लागिएन भने भविष्यमा हाम्रो युवा पुस्ता मोटो / कुपोषण भएर अनेक समस्यामा फस्नेछ।

त्यसो त लेख्ने क्रममा कतिपय जानकारी दोहोरिने गरेको भने म स्वीकार गर्छु। तर, कुपोषणका घटना बारम्बार पत्रिकामा छापिन्छन् भने ती समस्यालाई समाधान गर्न पनि बारम्बार लेख्नुपरेन?



Leave a Reply

Your email address will not be published.