ब्राजीलमा टाउको जोडिएका जुम्ल्याहाको सफल शल्यक्रिया, कसरी जन्मन्छन् शरीर जोडिएका शिशु?

हेल्थपोस्ट नेपाल

काठमाडौं–ब्राजीलमा टाउको जोडिएका जुम्ल्याहाको सफलतापूर्वक शल्यक्रिया गरिएको छ। चिकित्सकहरुले बर्नाडो र आर्थर लीमा नाम गरेका बालकहरुको भर्चुअल रियालिटी प्रविधिमार्फत् शल्यक्रिया गरेका हुन्।

रियो दि जेनेरियोमा ती जुम्ल्याहाको ७ वटा शल्यक्रिया गरिएको हो। ग्रेट अरमण्ड स्ट्रीट अस्पतालका बाल रोग सर्जन नूर उल ओवासे जिलानीको निगरानीमा शल्यक्रिया गरिएको हो। फाइनल शल्यक्रिया १ सय मेडिकल स्टाफको सहभागिता ३३ घण्टा लगाएर गरिएको थियो।

शल्यक्रियाको नेतृत्व डा गेब्रियल मुफर्रेजोले गरेका थिए। यो शल्यक्रिया सुरु गर्नुअघि कैयौं महिनासम्म भर्चुअल रियालिटीको माध्यमबाट अभ्यास गरिएको थियो। त्यसपछि बल्ल फाइनल शल्यक्रिया गरिएको हो।

डा जिलानीले यो शल्यक्रियालाई उपलब्धीमूलक भनेका छन्। ‘बर्नाडो र आर्थरलाई अलग गर्नु जटिल काम थियो। कैयौ सर्जनका लागि यो कल्पनाबाहिरको कुरा थियो। यस्ता केस विश्वमा निकै कममात्र देखिन्छन्,’ उनले भने।

उनले मेडिकल क्षेत्रका लागि यो निकै महत्वपूर्ण हुने उल्लेख गर्दै यसले भविष्यमा यस्ता खाले शल्यक्रिया पुनः गर्ने आत्मविश्वास पैदा भएको बताए।

जुम्ल्याहालाई ब्राजिलको रोराइमा भन्ने स्थानबाट उपचारका लागि एक वर्षअघि रियो दि जेनेरियो ल्याइएको थियो। चिकित्सकका अनुसार शल्यक्रियापछि बालकहरु राम्रोसँग निको हुँदै गएका छन्।

कसरी जन्मन्छन् शरीर जोडिएका बच्चा ?
गर्भ बसेको केही सातापछि निषेचित अण्डा दुई अलग–अलग भ्रुणमा बाँडिन्छन्। यसपछि अंग बन्ने क्रम सुरु हुन्छ। यस्तो अवस्थामा जुम्ल्याहा बच्चा बन्छन्। तर केही अवस्थामा भ्रुण अलग हुने प्रक्रिया बीचमै रोकिन्छ। त्यस्तो बेला भने जोडिएका बच्चा जन्मन्छन्। शरीरको कुन भाग जोडिएको छ, त्यही आधारमा यस्ता बच्चालाई वर्गीकरण गरिन्छ। कतिपय अवस्थामा बच्चाका शरीर अलग भए पनि भित्री अंग एकै हुनसक्छन्।

मेडिकल डेली रिपोर्टका अनुसार प्रत्येक २ लाख जन्ममा एक जोडिएका शिशु हुन्छन्, जसको प्रतिशत ०.०००००५ हो। जसमध्ये ३५ प्रतिशतको जन्मनेबित्तिकै मृत्यु हुन्छ। विश्वभर हाल १२ जोडी यस्ता बच्चा छन्।

यस्ता शिशुको सर्भाइभल रेट कुन अंग जोडिएको छ भन्नेमा भर पर्छ। अधिकांश यस्ता बच्चाको छाति, पेट, टाउको जोडिएको हुन्छ। केही घटनामा भने दुवै बच्चाको एउटै मुटु हुन्छ भने टाउको जोडिएको अवस्थामा एउटै मष्तिष्क हुन्छ। यस्तो शल्यक्रिया भने जीवनका लागि खतरापूर्ण हुन्छ। अन्यथा कतिपय अवस्थामा भने यस्ता बच्चालाई बचाउन चिकित्सकहरु सफल हुन्छन्।

गर्भावस्थाका बेला यस्ता शिशु गर्भमा छन् भनेर खास कुनै लक्षण हुँदैन। यिनीहरुको विकास पनि अरु जुम्ल्याहा शिशुको जस्तै हुन्छ। आमालाई बढी बान्ता हुने र बढी थकान महसुस हुने सम्भावना हुन्छ।
यो अवस्था निकै दुर्लभ हो। कस्ता दम्पतीको यस्ता शिशु जन्मन्छन् भनेर भन्न सकिने हुँदैन र के कारणले यस्ता शिशुको जन्म हुन्छ भनेर पनि भन्न सकिँदैन।

अधिकांश यस्ता शिशु ‘प्रिम्याचोर’ हुन्छन्। जन्मको केही समयपछि एउटा या दुवैको मृत्यु हुनसक्छ। यस्तालाई श्वास लिन समस्या, मुटुको समस्या, स्कोलियोसिसको अवस्था, सेरेब्रल पाल्सी या लर्निङ डिसाबिलिटीको समस्या हुनसक्छ।



Leave a Reply

Your email address will not be published.