एक डाक्टर यसरी बने आतंकवादीका नेता

हेल्थपोस्ट नेपाल

काठमाडौं–अमेरिकाले अल–कायदाका नेता अयमन अल–जवाहिरीलाई अफगानिस्तानमा एक ड्रोन आक्रमणमा मारेको दाबी गरेको छ।

अल–जवाहिरीलाई अल–कायदाको दिमाग मानिन्थ्यो। आँखाका डाक्टर उनले इजिप्टमा इस्लामिक जिहादी समूह बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

सन् २०११ मा ओसामा बिन लादेनलाई अमेरिकाले मारेपछि अल–कायदाको कमाण्ड अल–जवाहिरीको हातमा आएको थियो। ११ सेप्टेम्बर २००१ मा अमेरिकामा भएका आक्रमणका पछाडि अल–जवाहिरीको योजना नै प्रमुख कारण मानिएको छ। जसका कारण उनलाई अमेरिकाले २२ मस्ट वान्टेड आतंकवादीको सूचीमा राखेको थियो। उनीमाथि २.५ करोड अमेरिकी डलरको पुरस्कार राखिएको थियो।

केही वर्षयता उनी अल–कायदाका प्रमुखको रुपमा परिचित थिए। २००७ मा उनको १६ भिडियो टेप सार्वजनिक भएको थियो, जुन ओसामा विन लादेनको तुलनामा चार गुणा बढी थियो।

अल–जवाहिरीलाई मार्ने अमेरिकी प्रयास यो पहिलो होइन। यसअघि २००६ मा अमेरिकाले अफगानिस्तानसँग जोडिएको पाकिस्तानी सीमामा मिसाइल आक्रमण गरेको थियो, जसमा अल कायदाका चार सदस्य मारिएका थिए। उक्त आक्रमणमा अल–जवाहिरी बँच्न सफल भए।

त्यसको २ सातापछि अल जवाहिरीको एउटा भिडियो सार्वजनिक भएको थियो। जसमा उनले तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुशलाई धम्की दिँदै विश्वको सम्पूर्ण शक्ति उनीसँग नभएको बताएका थिए।

प्रतिष्ठित परिवारमा जन्म
अल जवाहिरीको जन्म इजिप्टको राजधानी कायरोमा १९ जुन, १९५१ मा भएको थियो। उनी प्रतिष्ठित मध्यम वर्गीय परिवारका थिए।

उनका परिवारका सदस्य डाक्टर र बुद्धिजीवी थिए। हजुरबा राबिया अल जवाहिरी मध्यपूर्वमा सुन्नी इस्लामिक अध्ययन केन्द्र अल अजहरको ग्रान्ड इमाम थिए। काका अरब लिगका प्रथम महासचिव थिए।

जवाहिरी स्कुल पढ्दादेखि नै इस्लामको राजनीतिमा सहभागी भए। १५ वर्षको उमेरमै उनलाई गैरकानुनी मुस्लिम ब्रदरहुडको सदस्य भएको आरोपमा पक्राउ गरिएको थियो।

मुस्लिम ब्रदरहुड इजिप्टको पूरानो र ठूलो इस्लामिक संगठन हो। अल जवाहिरीको राजनीतिक गतिविधि कायरो युनिभर्सिटीमा मेडिकल पढाइमा बाधा बनेन। उनले १९७४ मा मेडिसिनमा स्नातक गरे र चार वर्षपछि सर्जरीमा स्नातकोत्तर।

उनका पिताको मृत्यु १९९५ मा भएको थियो, जो कायरो युनिभर्सिटीमा नै फार्माकोलोजीका प्रोफेसर थिए।

जवाहिरीले सुरुमा परिवारको परम्परा पालन गरे। उनले कायरोमा एक मेडिकल क्लिनिक खोले। तर चाँडै अतिवादी इस्लामिक समूहको प्रभावमा आउन थाले। उक्त समूहले इजिप्टको सरकार फ्याँक्ने प्रयास गरिरहेको थियो।

१९७३ मा इजिप्ट इस्लामिक जिहाद गठन भयो, जसमा उनी सहभागी भए।

१९८१ मा इजिप्टका राष्ट्रपति अनवर सदातको हत्या भयो। त्यसमा इस्लामिक जिहादको संलग्नता रहेको बताइयो। जिहादका कार्यकर्ताहरु सयौंको संख्यामा सैनिक पोशाकमा थिए, जसमा जवाहिरी पनि सामेल थिए।

अनवर सदातले इजरायलसँग शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए। तर इस्लामिक समूह त्यसमा सन्तुष्ट थिएन। यसअघि सदातले आफ्ना आलोचकलाई पनि पक्राउ गरेका थिए।

हत्यापछि अदालतमा भएको सुनुवाइका क्रममा अल जवाहिरी अभियुक्तका नेताको रुपमा देखिए। उनले अदालतमा भनेका थिए, ‘हामीले इस्लामिक मुलुक र समाज बनाउने प्रयास गरिरहेका छौं।’

यद्यपि उनलाई अदालतले हत्याको मामलामा निर्दोष साबित गर्‍यो। तर हतियार राखेको अभियोगमा दोषी ठहर गरिए। त्यसपछि उनलाई ३ वर्षको कैद सजाय भयो। जेलमा उनलाई निर्मम यातना दिइयो। जेलको अनुभवले उनलाई हिंस्रक अतिवादी बनायो।

१९८५ मा जेलबाट रिहा भएपछि उनी सउदी अरब, पाकिस्तान हुँदै अफगानिस्तान पुगे।

त्यहाँ उनले इजिप्टको जिहादी संगठनलाई संगठित गर्ने काम गरे। तर सोभियत युनियनको नियन्त्रणका बेला अफगानिस्तानमा उनले आवरणमा डाक्टरको काम गरे।

१९९२ मा उनले इजिप्ट इस्लामिक जिहादको कमाण्ड हातमा लिए। इजिप्टमा सरकार र मन्त्रीहरुलाई आक्रमण गर्ने घटनामा यो संगठनले प्रमुख भूमिका निभायो। त्यसको मास्टरमाइन्ड जवाहिरी थिए।
जिहादी संगठनको अभियानका कारण इजिप्टमा सरकार ढल्यो र १९९० को मध्य दशकमा इजिप्ट इस्लामिक मुलुक बन्यो।

१९९७ मा अमेरिकी विदेश मन्त्रालयले अल जवाहिरीलाई इजिप्टको लक्सर सहरमा विदेशी पर्यटकमाथि भएको आक्रमणमा प्रमुख दोषी घोषणा गर्‍यो।

उनी १९९० दशकमा कैयौं देश घुमेर संगठनलाई फण्ड पनि जम्मा गरे। फर्जी पासपोर्टमा उनी अस्ट्रिया, डेनमार्क, स्वीजरल्याण्ड, यमन, इराक, फिलिपिन्स पुगे। विना भिसा चेचेन्यामा पक्राउ परेपछि उनी १९९६ मा रुसमा ६ महिना जेल बसे। त्यसक्रममा उनी आफ्नो पहिचान लुकाउन सफल भए।

१९९७ मा उनी ओसामा बिन लादेनको सम्पर्कमा पुगे। त्यसको एक वर्षपछि अल कायदा, इजिप्ट इस्लामिक जिहादसहित मिलेर वर्ल्ड इस्लामिक फ्रन्ट गठन गरे, जसको उद्देश्य क्रिश्चियनविरुद्धको लडाइँ थियो। पहिलोपटक नै यो संगठनले अमेरिकी नागरिकको हत्याका लागि फतवा जारी गर्‍यो। यही क्रममा केन्या र तान्जानियास्थित अमेरिकी दूतावासमा हमला भए, जसमा २२३ मानिसहरु मारिए। बीबीसीबाट

 

 



Leave a Reply

Your email address will not be published.