स्वास्थ्य मन्त्रालयले दियाे २२ अस्पताललाई १३३ सेट डायलाइसिस मेसिन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न स्थानमा रहेका २२ वटा अस्पताललाई १३३ सेट डायलाइसिस मेसिन दिएकाे छ। स्वास्थ्य सेवा विभागअन्तर्गतको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले सम्बन्धित अस्पतालहरुमा पुगी आवश्यकता पहिचान गरेपछि सोही आधारमा अस्पतालहरुमा मेसिन वितरण गरिएको जनाइएकाे छ।
स्वास्थ्य सेवा विभागकाे व्यवस्थापन महाशाखाका अनुसार कोशी अस्पताल, विराटननगरलाई ६ सेट, इलाम अस्पताललाई २ सेट, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई १० सेट, जनकपुर प्रादेशिक अस्पताललाई ३ सेट, गजेन्द्र नारायण निधि सगरमाथा अस्पताल राजविराजलाई ५ सेट र नारायणी अस्पताल वीरगञ्जलाई ५ सेट उपलब्ध गराइएको छ।
यस्तै, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताललाई १० सेट, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौंलाई ३ सेट, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनलाई ४ सेट, भरतपुर अस्पताल चितवनलाई ५ सेट, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जलाई ४ सेट, नेपाल प्रहरी अस्पताल, महाराजगञ्जलाई ४ सेट र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरलाई २० सेट मेसिन वितरण गरिएको छ।
यसैगरी, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा ५ सेट, भेरी अस्पताल नेपालगञ्जलाई ६ सेट, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङलाई १० सेट, राप्ती प्रादेशिक अस्पताल तुलसीपुर, दाङलाई ८ सेट, कर्णाली प्रादेशिक अस्पताल सुर्खेतलाई ४ सेट, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला ६ सेट, सेती प्रादेशिक अस्पताल कैलाली धनगढीलाई ४ सेट, डडेल्धुरा अस्पताल डडेल्धुरालाई ५ सेट र गर्हौ प्राथमिक अस्पताल वालिङ्ग, स्याङ्गजालई ४ सेट गरी १३३ सेट डायलाइसिस मेसिन वितरण गरिएको महाशाखाले जनाएको छ।