न्युयाेर्क सिटी मंकीपक्सकाे ‘इपीसेन्टर’, स्वास्थ्य संकटकाल घोषणा

हेल्थपोस्ट नेपाल

मंकीपक्स संक्रमणको इपीसेन्टर ठहर गर्दै न्युयोर्क सिटीमा स्वास्थ्य संकटकाल घोषणा गरिएको छ। न्युयोर्क सिटीका मेयर एरिक एडम्स र स्वास्थ्य कमिश्नर अश्विन वासनले न्युयोर्क सिटीका डेढलाख बासिन्दाहरू संक्रमणको जोखिममा हुन सक्ने बताएका छन्।

न्युयोर्कमा शुक्रबारसम्म १,३४५ मंकीपक्सका केसहरू रेकर्ड गरिएको छ। क्यालिफोर्निया दोस्रो सबैभन्दा बढी ७९९ संक्रमितहरु भेटिएका छन् । विश्व स्वास्थ्य संगठनले जुलाई २३ मा याे संक्रमणालाई विश्वव्यापी स्वास्थ्य संकट घोषणा गरेको थियो। सान फ्रान्सिस्कोका मेयरले बिहीबार स्वास्थ्य संकटकालको घोषणा गरेका थिए ।

मे देखि अहिलेसम्म विश्वका लगभग ८० देशमा २२ हजारभन्दा धेरैमा मङकीपक्स संक्रमण पुष्टी भएको छ । झण्डै ७५ जनाको मृत्यु भइसकेको छ ।

यसबाट जोगिनका लागि सीडीसी र विश्व स्वास्थ्य संगठनले विभिन्न ८ वटा सुझावहरु दिएका छन् ।

१ – भर्खरै भाइरस पत्ता लागेको व्यक्ति वा संक्रमित भएका व्यक्तिहरूको सम्पर्कमा नआउन पहिलो सुझाव दिइएको छ ।

२ – त्यस्तै लक्षणहरू भएका कसैसँग नजिकको सम्पर्कमा भएको खण्डमा मास्क लगाउन सुझाव दिइएको छ ।

३ – कण्डम प्रयोग गर्न सुझाव दिइनुका साथै हालै यौन पार्टनरहरु परिवर्तन गरेको खण्डमा लक्षणहरूमा ध्यान दिन सुझाव दिइएको छ ।

४ – भाइरस बोक्न सक्ने जनावरहरूको सम्पर्कमा नआउन सुझाव दिइएको छ, जसमा बिरामी वा मरेका जनावरहरू र विशेष गरी बाँदर, मुसा र प्रेरी डगजस्ता संक्रमणको इतिहास भएकाहरू समावेश छन्।

५ – त्यस्तै विशेष गरी संक्रमित वा संदिग्ध संक्रमित जनावर वा मानिसको सम्पर्कमा आएपछि साबुन र पानीले हात धुन वा अल्कोहलमा आधारित ह्यान्ड सेनिटाइजर प्रयोग गर्न सुझाव दिइएको छ ।

६ – मङकीपक्स संक्रमण पुष्टि भएका वा शंकास्पद बिरामीहरूको हेरचाह गर्दा व्यक्तिगत सुरक्षा उपकरण पीपीईहरू प्रयोग गर्न सुझाव दिइएको छ ।

७ – त्यस्तै एकदमै राम्रोसँग पकाएको मासुमात्र खान सुझाव दिइएको छ ।

८ – मङकीपक्स सतह र सामग्री मार्फत पनि सर्न सक्ने भएकाले विरामी व्यक्ति वा जनावरको सम्पर्कमा रहेका सामग्रीहरू नछुन समेत सुझाव दिइएको छ ।

यसका प्रारम्भिक लक्षणहरूमा ज्वरो, टाउको दुख्ने, मांसपेशी दुख्ने, सुन्निने र ढाड दुख्ने हुन्छ। अनुहार, हात, खुट्टा, आँखा, मुख वा जननांगमा एकदेखि पाँच दिनभित्र दाना र घाउ देखा पर्छन्। उठेका बम्पहरू पछि फोका बन्छन् भने फुट्नु अगाडि पिपले भरिन सक्छन् ।

भाइरसका धेरै लक्षणहरू अन्य रोगहरूसँग समेत मिल्दाजुल्दा हुन सक्छन् । ठेउला, हर्पेस वा सिफिलिस जस्ता रोगसँग लक्षणहरु मिल्दाजुल्दा हुनसक्छन् । त्यसैले मङकीपक्सको संक्रमण हो होइन भन्ने कुरा परीक्षणबाट पुष्टि गर्नुपर्छ ।

विफरको खोप दिन सकिने

सीडीसीका अधिकारीहरुले पनि इन्क्युबेशन अवधि ढिलो भएका मङकीपक्सको सम्पर्कमा आएका बिरामीको गम्भीरतालाई सीमित गर्न विफरको खोप दिन सकिने बताएका थिए ।

कोरोनाजस्तै मङकीपक्सको संक्रमण व्यक्तिमाझ सहजै हुँदैन । मङकीपक्स स्वासप्रश्वासका क्रममा ठूला ड्रपलेटहरुबाट फैलिन्छ भने नजिकको संसर्ग भएको अवस्थामा मात्र यो रोग सर्ने चिकित्सकहरुको भनाई छ । त्यसैले अंकमाल गर्दा, स्पर्श गर्दा वा आमनेसामने भएर कुरा गर्दा पनि मङकीपक्सको संक्रमण हुनसक्छ।

छालाका घाउहरु वा शरीरबाट निस्कने तरल पदार्थको प्रत्यक्ष सम्पर्क वा संक्रमण फैलिएको कपडा वा विस्तारासँगको अप्रत्यक्ष सम्पर्कबाट समेत यो रोग फैलिन्छ ।

मङकीपक्सको उपचार रुघाखोकीजस्तै गर्दा धेरैजसो मामलामा ठीक हुने गरेको छ । अधिकाश व्यक्ति केही सातामा विना उपचार नै निको हुने गरेका छन्। अहिलेसम्म मङकीपक्सका लागि कुनै भ्याक्सिन छैन । तर महामारीलाई रोक्न बिफरको भ्याक्सिन पनि प्रयोग गर्न सकिने स्वास्थ्यविदहरुको सुझाव छ ।

विश्व स्वास्थ्य संगठनका अनुशार विफरकै भ्याक्सिनले मङकीपक्सविरुद्ध ८५ प्रतिशत संरक्षण प्रदान गर्नसक्छ । बाल्यकालमा विफरको भ्याक्सिन लगाएकाहरुमा मङकीपक्सको सामान्य लक्षणमात्र देखिने गरेको जनाइएको छ।

 



Leave a Reply

Your email address will not be published.