‘नेपाललाई २० वर्षका लागि चाहिने प्यारामेडिक्स उत्पादन गर्ने लक्ष्य लिएका छौं’

हेल्थपोस्ट नेपाल

काठमाडौं–फ्रन्टलाइन अस्पतालले नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेसन फाउण्डेशनअन्तर्गत १३ वटा प्यारामेडिक्स कार्यक्रमहरु सञ्चालन भइरहेको र नेपाललाई आगामी २० वर्षका लागि चाहिने प्यारामेडिक्स उत्पादन गर्ने लक्ष्य लिएको जनाएको छ।

अस्पतालका अध्यक्ष नवराज पाण्डेले नेपालमा चाहिने अन्तर्राष्ट्रिय स्तरका प्यारामेडिक्स जनशक्ति नेपालमै तयार पार्ने आफूहरुको लक्ष्य रहेको बताएका छन्।

फाउण्डेशनले बिएस्सी नर्सिङ, बिएम नर्सिङ, पब्लिक हेल्थ, फार्मेसी, बीएमएलटी, माइक्रोबायोलोजी, बायोकेमेस्ट्रीलगायतका १३ कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ। आगामी दिनमा अप्टिमेट्री, रेडियोलोजी, फिजियोथेरापीका कार्यक्रम पनि सन्चालन गर्ने लक्ष्य रहेको पाण्डेले बताए।

उनले फाउण्डेशनअन्तर्गत सन् २००१ देखि प्यारामेडिक्सका कार्यक्रम सुरु गरिएको र यो संस्थालाई प्यारामेडिक्समा एक नम्बरको बनाउने लक्ष्य रहेको बताए। हाल यहाँ विभिन्न कार्यक्रमअन्तर्गत ३५० सिट रहेको जनाइएको छ।

‘तर चिकित्सा शिक्षा आयोग गठन भएपछि सिर्जित विविध सीमितताका कारण केही सिटहरु खाली छन्,’ अध्यक्ष पाण्डेले भने, ‘विदेशमा पढ्न जानेलाई असीमित सिट तर नेपालमा पढ्नेलाई सीमित सिट हुने, नेपालमा फेल हुने तर विदेश जाने बित्तिकै पास हुने, नेपालमा पढ्ने विद्यार्थी छिमेकी मुलुकतिर जाने स्थिति भएकाले सरकारले आफ्ना नीतिहरुमा परिवर्तन गर्नुपर्ने देखिन्छ।’

२८ विभाग, २ सय बेडको तयारी
फ्रन्टलाइन अस्पतालले अन्तर्राष्ट्रिय स्तरको सेवा सुविधा तथा उपकरणसहित पूरानो बानेश्वरमा १ सय बेडको अस्पताल सञ्चालनमा ल्याएको छ। अध्यक्ष पाण्डेले अस्पतालमा अन्तर्राष्ट्रिय कम्पनीका भेन्टिलेटर, अल्ट्रासाउण्ड, एमआरआई, सीटी, एक्स–रे, राखेको र त्यसमार्फत् गुणस्तरीय स्वास्थ्य सेवा दिइने बताए। अस्पतालले डा चक्रराज पाण्डेको क्लिनिकल नेतृत्वमा गाइनोकोलोजी, मेडिसिनलगायत २८ विभाग सुरु गरेको छ।

उनले कोभिड, भूकम्पीय जोखिमजस्ता आपतकालीन स्थितिमा नागरिकलाई तत्काल उपचार दिनसक्ने गरी सहरको मध्यभाग (पूरानो बानेश्वर) मा २ सय बिरामीलाई उपचार सुविधा दिनसक्ने गरी भौतिक संंरचना निर्माण गरेको बताए।

इजरायली राजदूतले गरे भ्रमण
यसैबीच, असपतालको नेपालका लागि इजरायली राजदूत हानन गोदेरले अवलोकन गरेका छन्। त्यसअवसरमा राजदूत गोदेरले अस्पताल आफूले अन्तर्राष्ट्रिय स्तरको रहेको पाएको उल्लेख गर्दै यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका बिरामीलाई सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।

उनले इजरायल भौगोलिक रुपमा सानो भए पनि शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिएकै कारण भौगोलिक रुपमा सानो भए पनि विकसित र बलियो भएको भन्दै नेपालले पनि यी क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताए। उनले भूकम्पका बेला इजरायली डाक्टरको टिमले सैनिक अस्पतालमा रहेर दिएको सेवाको पनि सम्झना गरे।

अस्पतालका क्लिनिकल प्रमुख डा चक्रराज पाण्डेले अस्पतालले दिएको सेवा र भविष्यमा थपिने सेवाका बारेमा जानकारी दिएका थिए भने चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीले नेपालको मेडिकल क्षेत्रमा चिकित्सकहरुले दिइरहेको सेवाका बारेमा चर्चा गरेका थिए।



Leave a Reply

Your email address will not be published.