स्वास्थ्य बिमासम्बन्धी समस्या तत्काल समाधान गर्न सांसद संग्रौलाको माग

हेल्थपोस्ट नेपाल

काठमाडौं–सांसदहरुले स्वास्थ्य बिमासम्बन्धी समस्या तत्काल समाधान गर्न माग गरेका छन्। आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले स्वास्थ्य बिमासम्बन्धी उत्पन्न भएको समस्या गम्भीर रहेकाले तत्काल समाधान गर्न सरकारसँग माग गरेकी हुन्।

उनले स्वास्थ्य बिमा कार्यक्रममार्फत् सरकारले दिनुपर्ने भुक्तानी प्राप्त नभएको भन्दै सरकारी अस्पतालले नै उक्त कार्यक्रम स्थगित गरेको बताएकी छन्।

२०७२ साल चैत २५ गते कैलालीबाट सुरु भएको स्वास्थ्य बिमा कार्यक्रम हाल ७७ जिल्लाको ७४६ स्थानीय तहमा लागू भएको उनले बताइन्।

उनले हालसम्म साढे १७ लाख मान्छेहरु त्यसमा आबद्ध भएको उल्लेख गर्दै सरकारले नै अलमल गर्दा लोकप्रिय कार्यक्रमको रुपमा रहेको स्वास्थ्य बिमामाथि प्रश्न उठ्न थालेको बताइन्।

निजी बीमा कम्पनी र निजी स्वास्थ्य संस्थाले मुनाफामा मात्रै आँखा लगाइरहेको भन्दै उनले जोखिमका बेला राज्यले व्यहोर्नुपर्ने र तर मुनाफा भने निजी कम्पनीले मात्र कमाउने मोडेलमा जान नहुने बताइन्।

निजी अस्पतालमा आम नागरिकहरको पहुँच नभएको बताउँदै उनले सरकारी अस्पतालको गुणस्तर सुधार गर्न सरकारको ध्यानाकर्षण गराइन्।



Leave a Reply

Your email address will not be published.