आजदेखि भरतपुर अस्पतालमा ओपीडी टिकट निःशुल्क

काठमाडौं–भरतपुर अस्पतालले आज आइतबारदेखि ओपीडी टिकट निःशुल्क गरेको छ। अस्पतालले एक सूचना जारी गर्दै यही साउन ८ गतेदेखि स्वास्थ्य परीक्षणका लागि आउने सेवाग्राहीका लागि ओपीडी टिकट निःशुल्क गरिएको जनाएको हो।
अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार अस्पतालले लिँदै आएको ३० रुपैयाँ शुल्क आइतबारदेखि नलिने निर्णय गरिएको हो।
पैसाको कारोबार गर्दा अलमल हुने र टिकट लिन लामो समय लाग्ने गरेकाले छिटो छरितो सेवा दिन शुल्क नलिने निर्णय गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा कृष्णप्रसाद पौडेलले जनाएका छन्। हाल अस्पतालमा दैनिक १ हजार ५००बिरामीले ओपीडी सेवा लिने गरेका छन्।