यौनमनोविज्ञान : उत्तेजना तथा भ्रम

हेल्थपोस्ट नेपाल

धेरै मानिस यौनसमस्या लिएर अस्पताल आउँछन् । खासगरी यौनइच्छामा कमी आउने, यौनक्रियामा वीर्य छिटै खस्ने, यौनउत्साह नहुने, यौनइच्छा बढी हुने, हस्तमैथुन गर्ने तथा निद्रामा स्खलन हुने (नाइटफल) वा धातुलगायत समस्या लिएर बिरामीहरू चिकित्सककहाँ आउँछन्।

मानिसमा यौनको उत्तेजना मनोवैज्ञानिक तरिकाबाट निस्कन्छ। जब यौनबारे सोचिन्छ वा यौनक्रियाअगाडि हाम्रो सोचाइले मस्तिष्कमा रहेको पिट्युटरी ग्रन्थिबाट उत्तेजनाको सुरुवात हुन्छ, जसबाट हर्मोन सञ्चालन भई हाम्रो यौनांगलाई उत्तेजित पारी पुरुष र महिलाका यौनांगबाट एकप्रकारको रस निस्कन्छ, जसले वंशानुगत गुण सन्ततिमा सार्न सहयोग गर्छ र मानिसलाई उत्तेजित तथा आनन्दित बनाउँछ।

यौनइच्छा नहुने समस्या पुरुष तथा महिलामा हुने एक जटिल समस्या मानिन्छ। यौनइच्छा नहुँदा बाँझोपन पनि देखापर्न सक्छ । तर, कतिपयमा यौनइच्छा हुँदैन भन्ने बिरामी अन्य रोगबाट पनि अदृश्य रूपमा पीडित भइरहेका हुन्छन् । खासगरी, डिप्रेसनरोग, जसमा यौनइच्छाको कमी पाइन्छ । हर्मोनको गडबडी र मानसिक तनाव यसका मुख्य कारण हुन सक्छन् । यौन मनको उत्तेजनासित सम्बन्धित हुने हुनाले मन खुसी हुँदा यौनइच्छा बढ्ने, मनमा चिन्ता पर्दा यौनइच्छा घट्ने हुन्छ । भनिन्छ, यौनउत्तेजनामा परिवर्तन गरी मानिसलाई १० वर्ष उमेर घटाउन सकिन्छ।

राम्रो कुरा देख्दा, सुन्दा, सिनेमाका कुरा मनमा आउँदा, मन प्रफुल्ल हुँदा यौनउत्तेजना सकारात्मक हुनुका साथै मानिस यौनक्रियामा बढी सक्षम देखिन्छन् । तर, जब मानिस तनावमा पर्छ वा अनेकौँ जटिल समस्या दैनिक क्रियाकलापमा आउँछन्, तब यौनइच्छा एकाएक घट्छ । यौनइच्छाको कुरा गर्दा उमेरको पनि ठूलो हात हुन्छ । वयस्कमा यौनइच्छा बढी हुने र बुढ्यौली लाग्दै जाँदा क्रमशः घट्दै जान्छ ।

अर्को प्रसंग, यौनक्रियामा वीर्य छिटै खस्ने समस्या लिएर धेरै बिरामी आउँछन् । सामान्यतः पुरुषमा यौनउत्तेजना छिटै आउने गर्छ भने महिलामा ढिलो आउने गर्छ । सफल यौनक्रियामा पुरुष र महिलाको उत्तेजना एकैचोटि हुनुपर्छ । वीर्य छिटै खस्ने पुरुष बिरामीमा यौनउत्तेजना पनि छिटै हराउने हुनाले महिलामा यौनउत्तेजना सुरु हुन नपाउँदै यौनक्रिया समाप्त हुन्छ, जसले गर्दा दम्पतीमा मतभेद आउने पनि हुन सक्छ । त्यसैले दुवैलाई उत्तेजना आउने उपाय सोच्नुपर्छ । खासगरी भर्खरै विवाह भएका दम्पतीमा यो समस्या देखिन्छ ।

केही बिरामी यौनइच्छा बढी भएको लक्षण बताउँछन् । यस्ता मानिस कहिलेकाहीँ मनोरोगबाट पनि पीडित हुन सक्छन् । खासगरी हाइपोमोर्निया तथा मेनियारोग एवम् यौनइच्छा बढ्ने रोगका कारण यस्तो भएको हुन्छ । यस्ता मानिसमा यौनइच्छा बढी हुन्छ र धान्न सक्दैनन् र विभिन्न समस्या आउन सक्छन् । हाम्रो समाजमा हस्तमैथुन धेरैले गरेको तर गोप्य राखेको पाइन्छ । खासगरी, किशोरावस्थामा यो बढी पाइन्छ ।

हस्तमैथुन गर्ने तर गोप्य राख्दा मनमा एक मनोवैज्ञानिक असर देखापर्छ, ‘मैले गल्ती गरेँ’ भन्ने बिरामी पनि आउँछन् । त्यस्तै, निद्रामा स्खलन हुने भयो र कमजोर भइयो भनेर धेरै मानिस चिकित्सककहाँ आउँछन् । वीर्य खस्दा रगतभन्दा खतरा हुन्छ भन्ने धारणाले गर्दा बढी चिन्तित रहन्छन् र धातुरोग भनेर उपचार गर्न आउँछन्। यसबाहेक समलिंगी (पुरुष–पुरुष र महिला–महिला)बीच यौनक्रिया गर्ने आदि समस्या भएका बिरामी पनि गोप्य रूपमा डाक्टरकहाँ आउँछन्।

यौनक्रिया अत्यन्त गोप्य कुरा भएको हुनाले आफ्नो समस्या लामो समयसम्म सहेर बस्ने बिरामी पनि धेरै छन् । रक्सी पिउने बिरामीले श्रीमतीलाई परपुरुषसँग हिँडेको दोष लगाउँछन् र आफूमा यौनमा कमी आएको बताउँछन् । यौन समस्या भएका बिरामी सर्जन, स्त्रीरोग विशेषज्ञ, प्रहरी चिकित्सक, छालारोग विशेषज्ञदेखि मनोरोग विशेषज्ञकहाँसम्म पुगेका हुन्छन् । डिल्युजनरोगका बिरामीले आफ्नो श्रीमान् वा श्रीमतीलाई शंका गर्छन्, अनेकौँ कुरा तथा प्रमाण जुटाउन खोजी–नीति गर्छन् र शंकै–शंकामा डुबेका हुन्छन् । डिप्रेसनरोगमा यौनइच्छामा कमी आएको पाइन्छ ।

कतिपय डिप्रेसनका बिरामी मेरो रोग यौनरोग हो भन्दै उपाय खोज्दै हिँडेका हुन्छन् । मेनियारोगका बिरामीमा यौनउत्तेजना बढी हुन्छ । यस्ता बिरामी उमेरै नपुगी विवाह गर्ने, बहुविवाह गर्ने वा वेश्यावृत्तिको अवस्थामा पनि पाइन सक्छन् । सिर्जोफोनियाका बिरामीमा यौनउत्तेजना हुँदैन । उनीहरू यौनबारे अनेकौँ गलत विश्वास लिई बसेका हुन्छन् ।

यौनमनोविज्ञानमा जान्नै पर्ने कुराहरू
– यौन एक मनोवैज्ञानिक समस्या हो । मनलाई परिवर्तन गरी यौनइच्छा बढाउने र घटाउने गर्न सकिन्छ ।
– यौनलाई अत्यन्त गोप्य राख्दा अनेकौँ मनोवैज्ञानिक समस्या आउन सक्छन् ।
– यौनसमस्या पुरुष र महिला दुवैमा पाइन्छ ।
– यौनबारे वैज्ञानिक धारणाको आवश्यकता छ ।
– उपचार गरे यौनरोग निको हुन्छ।
– यौनांग र यसका कामबारे धरै मानिसमा जानकारी छैन ।
– प्रसिद्ध मनोवैज्ञानिक फ्रायडका अनुसार मानिसका हरेक गतिविधि यौनबाट सञ्चालित हुन्छन् ।
– यौनबारे सम्झना गरिरहँदा मनको तनाव घट्छ ।
– शरीरमा यौनांगको विकास महिलामा १२–१३ वर्षदेखि र पुरुषमा १४–१५ वर्षदेखि सुरु हुन्छ ।
– विवाहपछि वंशज रक्षा गर्न वा सन्तान जन्माउन यौनक्रियाको महत्वपूर्ण भूमिका रहन्छ । यदि यौनक्रियामा आनन्द नहुँदो हो त मानिसको वंश नै लोप हुन्थ्यो होला ।
– महिलामा यौनचाहना महिनावारीको चक्रअनुसार परिवर्तन भइरहन्छ, तर पुरुषमा त्यस्तो किसिमको हुँदैन, जतिवेला पनि चाहना बढ्ने वा घट्ने हुन सक्छ ।
– सामान्यतया मन आनन्दित हुुँदा मानिसमा यौनचाहना बढ्ने र मनमा तनाव हुँदा यौनचाहना घट्ने हुन्छ ।
– यौनचाहना नहुँदा श्रीमान्–श्रीमतीबीच विवाह–बन्धन टुटेको धेरै मानिसका उदाहरण छन् । विवाह त भयो, तर सँगै नसुत्ने र दम्पतीमध्ये कनै एकमा यौनचाहना नै नहुँदा छोडपत्र भएका धेरै उदाहरण छन् ।
– यौनबारे जानकारी नहुँदा वा असुरक्षित यौनसम्पर्क गर्दा धेरै मानिस एड्स, हेपाटाइटिस बीजस्ता रोगबाट पीडित हुन्छन् । त्यसैले सुरक्षित यौनसम्पर्क आवश्यक छ।
– मानिसमा यौनचाहना उत्तेजनाबाट सुरु हुन्छ । मनमा सोचाइ लिँदा, फिल्मका दृश्यहरू सम्झँदा मानिसमा यौनचाहना बढ्छ र तत्काल यौनसम्पर्क गर्न सक्षम हुन्छन् ।

(लेखक नसा तथा मनोरोग विशेषज्ञ हुन्। पुन:प्रकाशित)



Leave a Reply

Your email address will not be published.