घानामा देखियो हालसम्मकै खतरनाक ‘मारबर्ग भाइरस’, के हुन् यसका लक्षण?

हेल्थपोस्ट नेपाल

काठमाडौं–अफ्रिकी मुलुक घानामा हालसम्मकै खतरनाक मानिएको ‘मारबर्ग भाइरस’ देखिएको छ। यो भाइरसबाट संक्रमित दुई जना भेटिएका हुन्। यो भाइरस इबोला फैलाउने प्रजातिअन्तर्गतकै रहेको बताइएको छ।

जुलार्ईको सुरुमा उनीहरुको नमुना परीक्षण गर्दा पोजिटिभ देखिएको थियो। अहिले सेनेगलको प्रयोगशालाले मारबर्ग भाइरसको पुष्टि गरेको हो।

यो भाइरस पुष्टि भएपछि अहिले बिरामीका आफन्त, स्वास्थ्यकर्मीलगायत गरी ९८ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य अधिकारीहरुले जनाएका छन्।

पश्चिम अफ्रिकी मुलुक घानामा मारबर्ग भाइरस देखिएको यो दोस्रोपटक हो। गत वर्ष गिनीमा पहिलो केस पुस्टि भएको थियो ।

विश्व स्वास्थ्य सगंठनले रोग नियन्त्रणका लागि चाँडै उपायहरु अपनाएको भन्दै घानाको प्रशंसा गरेको छ। ‘यो राम्रो हो, किनकि तत्काल एवं निर्णायक कदम भएन भने स्थिति नियन्त्रणबाहिर जान सक्छ,’ डब्लुएचओकी अफ्रिका निर्देशक डा मात्शिदिसो मोइतीले भनिन्।

मृत्युदर रोक्नका लागि कन्ट्याक्ट ट्रेसिङ र संक्रमण नियन्त्रण गर्ने कडा उपाय अबलम्बन गर्न सुरु गरिएको अधिकारीहरुले जनाएका छन्। स्वास्थ्य टोलीहरु समुदायमा पुगेर लक्षणका बारेमा सजग हुन र शंका लागे तुरुन्त स्वास्थ्य अधिकारीलाई जानकारी दिन भनिरहेका छन्।

मारबर्ग भाइरसको अहिलेसम्म कुनै उपचार छैन। तर चिकित्सकहरुका अनुसार प्रशस्त पानी पिउँदा र लक्षणको सही पहिचान गरि उपचार गर्दा बिरामी बाँच्ने सम्भावना अधिक हुन्छ।

के हो मारबर्ग भाइरस? के हुन् लक्षण?
यो भाइरस चमेरोबाट मानिसमा सरेको अनुमान गरिएको छ।

यो रोगको लक्षणमा कडा ज्वरो, टाउको दुख्ने, वाकवाक लाग्ने, मासंपेशी दुख्ने, रक्तस्राव हुने गर्छ। घानाका अधिकारीहरुले गुफाबाट टाढा रहन र मासु राम्रोसँग पकाएर खान मानिसहरुलाई सचेत गराइरहेका छन् ।

पश्चिमी अफ्रिकाबाहेक यसअघि यो रोग एंगोला, कंगो, केन्या, दक्षिण अफ्रिका, युगाण्डा लगायतका मुलुकमा देखिइसकेको छ। यो भाइरसले २००५ मा एंगोलामा २०० मानिसको ज्यान लिएको थियो।
मारबर्ग भाइरस सबैभन्दा पहिले सन् १९६७ मा जर्मनीमा देखिएको थियो, जसले सात जनाको ज्यान लिएको थियो।

डब्लुएचओका अनुसार सन् १९६७ मा पहिलोपटक जर्मनीको मारबर्ग र फ्रेंकफर्टमा देखापरेको मारबर्ग भाइरस खतरनाक इबोला प्रजातिकै भाइरस हो। त्यसबेला यो भाइरसका कारण ३१ जना संक्रमित  भएका थिए भने ७ जनाको मृत्यु भएको थियो।

युगाण्डाबाट ल्याइएका अफ्रिकन हरिया बाँदरहरु यो भाइरसको स्राेत मानिन्छन्। तर पछि अरु जनावरहरुमा सर्दै गएको हो। मानिसहरुमा भने धैरै समय गुफामा बिताउनेहरुबाट फैलिँदै गएको हो।

यो रोगबाट युगाण्डामा सन् २०१२ मा १५ बिरामीमध्ये ४ जना र २०१७ मा ३ जना बिरामीमध्ये तीनै जनाको मृत्यु भएको थियो। यस्तै, एंगोलमा २००५ मा ३७४ बिरामीमध्ये ३२९ जनाको मृत्यु भएको थियो। कंगोमा सन् १९९८ मा १५४ जनामा देखिएकोमा १२८ जनाको मृत्यु भएको थियो।

लक्षणहरु
ज्वरो
कडा टाउको दुखाइ
मांसपेशी दुखाइ
यसको तीन दिनपछि,
झाडापखाला
पेट दुखाइ
रिगंटा
वाकवाकी
असाध्यै थकाई लाग्ने
आँखा गढिने
धैरैजसो बिरामीको मृत्यु संक्रमित भएको आठ या दस दिनमा अत्याधिक रगत बगेर हुने गर्दछ ।

उपचार के?
यो भाइरसको ठ्याक्कै उपचार एवं भ्याक्सिन छैन। डाक्टरहरुले बिरामीलाई धैरै झोल अनि रगत दिएर लक्षण कम गर्ने प्रयास गर्दछन्।

 



Leave a Reply

Your email address will not be published.